शुक्रबार, चैत्र १६, २०८०

सार्वजनिक जग्गा, सडक, नदी, सम्पदा अतिक्रमण गर्नु सामाजिक अपराध : उपप्रम पोखरेल

रामचन्द्र प्रजापति /भक्तपुर पुस ७ , नेपाल सरकारका उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा, सडक, नदी, सम्पदा अतिक्रमण गर्नु सामाजिक अपराध भएको बताउँदै समृद्ध नेपाल सुखी नेपाली बनाउन सरसफाइ अभियान महत्त्वपूर्ण रहेको र आर्थिक विकास र समृद्धिको साथमा जनताको जीवनलाई समृद्ध बनाउन सवै एक ढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवं हनुमन्ते नदी सफाइ सामाजिक सेवा उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रम तथा रक्षा मन्त्री पोखरेलले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले भक्तपुरमा सञ्चालन भइरहेको हनुमन्ते नदी र अरनिको राजमार्ग सफाइ अभियान देशकै नमूना अभियान भएको भन्दै प्रस्तुत अभियानले समाजलाई एकताबद्ध बनाएर लैजानुको साथै जनतामा उत्प्रेरणा अभिवृद्धि गर्नुको अलावा भक्तपुरलाइ नमूनायोग्य जिल्ला घोषित गर्न सघाउ पुग्ने बताउँनु भएको छ । त्यसअवसरमा उहाँले भक्तपुरमा आइपर्ने कुनै विपदका लागि आवश्यक पर्ने विपद् व्यवस्थापनका रु २० लाख बराबरको बञ्चरो, साबेल, हेम्बर, पानी बोट, पिक, पञ्जा, स्टेचरलगायतका सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले अरनिको राजमार्गको तेस्रो चरणको अभियान शुरु हुने बताउँदै उहाँले हरेक बुधबार र शनिबार सफाइ अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसदद्वय राजेन्द्रमान श्रेष्ठ , रजनी जोन्छे, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लव थापा,नेकपा भक्तपुर अध्यक्ष वचन देउजा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट ,सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा ,मध्यपुर थिमी नगरपालिकाका उपमेयर अन्जना मधिकर्मी ,सुर्यविनायक नगरपालिकाका उपमेयर जुना वस्नेत लगायतले सरसफाइ अभियान सवैको महत्वपूर्ण सहयोगले सफल भएको र आगामी कार्यक्रममा पनि सहयोगको लागि अनुरोध गर्नु भएको थियो भने अभियान सञ्चालनका लागि एक लाख रुपैया सहयोग गर्ने रोमन शिलाकार,श्रीभक्त कासिछवा,बिज्ञान राई,कृष्ण प्रसाद ताम्राकार,लक्ष्मण ग्वाछा लगायतलाई सम्मान समेत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।