शनिबार, बैशाख ८, २०८१

आज जनकपुरमा विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइदै

काठमाडौ मंसिर २६, प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज मर्यादा पुरुषाृत्तम भगवान श्रीरामचन्द्र र जगतजननी माता सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउदै आएको हो साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ ।

यसअघि विवाह पञ्चमी पर्व जनकपुरको तिरहुतिया गाछीमा मनाइने गरेपनि विगत दुई दशकयतादेखि रङ्गभूमिमा मैदानमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । विवाह पञ्चमी मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गर्ने गरिन्छ र यसअवसरमा रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेने धार्मिक विस्वास रहिआएको छ ।

विवाह पञ्चमी पर्व अन्र्तगत रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न भएको मानिन्छ । त्यस अवसरमा शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।  त्यस्तै यस पटक भारतको अयोध्याबाट आएको जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागिता रहने छ । मुख्यमन्त्री योगी लखनउबाट विशेष विमानमा जनकपुरधाम आई महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।

यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यता रहिआएको छ । यस अवसरमा आज प्रदेश नं २ सरकारले प्रदेशका आठ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।