बिहिबार, बैशाख ६, २०८१

स्मार्ट सिटी होइन , अव स्मार्ट इको सिटी

  •  रामचन्द्र प्रजापति/काठमाडौं कार्तिक १५,

संघीय राजधानीको पर्यावरणलाई बचाउनका लागि स्मार्ट इको सिटी बनाउने काठमाडौंका १८ ओटै नगरपालिका सहमत भएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र, ललितपुर महानगरपालिका र युएन ह्याविटाटले बुधबार राजधानीमा आयोजना गरेको इकोसिटी प्रवद्र्धनसम्वन्धी परामर्श कार्यक्रममा नगरपालिकाले काठमाडौं शहरलाई बचाउन पानी भण्डारण पोखरी, रिचार्ज पोखरी, पार्क बनाउँदै पर्यावरण मैत्रीशहर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।   पुराना नगर वैज्ञानिक तवरले बनेको र यसमा प्रकृति, आर्थिक र सामाजिक सामञ्जस्यता कायम भएकाले यसको संरक्षण र प्रवद्र्धन गर्नेमा पनि नगरपालिका प्रतिनिधिहरु सहमत भएका छन् ।

कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले स्मार्ट इकोसिटीमा जोड दिंदै नयाँ शहर प्रकृति मैत्री हुनुपर्नेमा जोड दिए । शहर बनाउँदा धनीमानीलाई मात्र सोचेर नभइ गरिवका लागि सोचेर व्यवस्थित गर्नुपर्नेमा जोड दिंदै उनले शहर पर्यामैत्री नभएकाले अहिले मुटु, प्रेसर, मधुमेह जस्ता नसर्ने रोगको प्रकोप वढेको जानकारी दिए ।   शहर ठूला कंक्रिटको बनाउने कार्यलाई हतोत्साही पार्दै परम्परागत संस्कृतिको संरक्षण हुने हिसावले शहरको परिकल्पना गर्नुपर्नेमा उनले नगर पालिकाका मेयर, उपमेयर र प्राविधिकहरुको ध्यानाकर्षण गरेका थिए । यसका साथै उनले शहरको सम्पदा, प्राकृतिक स्रोतको सुरक्षा र संरक्षणका साथै आदिवासी समुदायलाई खलल नपार्ने गरी शहरको विकास गर्न जरुरी भएको औंल्याएका थिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा लिभेबल सिटीको अवधारणाअनुरुप ३० प्रतिशत खुला ठाउँ हुनुपर्नेमा  ४ प्रतिशत मात्र खुला क्षेत्र बाँकी रहेको बताए ।  २० वर्ष जनप्रतिनिधी नहुँदा खुलाचौरहरु धेरै व्यक्तिले खाइ दिएको बताउँदै उनले इञ्जिनियरिङ्ग क्याम्पस र युएन क्षेत्रका पर्खाल भत्काइ उक्त दुवै क्षेत्रलाई पर्यावरणमैत्री बनाउने योजना रहेको जानकारी दिए । लितपुरले साइकल ट्रयाक निर्माण गर्नका लागि ५० लाख छुट्याएको पनि स्पष्ट पारे ।

नेपाल नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले इकोसिटीका लागि नेचर र कल्चरको सामञ्जस्यता आवश्यक रहेको बताए । उनले निजी कार र ठूलो भवन हुँदैमा शहर धनी नहुने र धनी शहर बनाउन सवै जनाले सार्वजनिक गाडी चढ्ने वातावरण बनाउनुपर्ने बताए ।  ललितपुरको विकास मात्रै भएर काठमाडौंको विकास नहुने बताउँदै समग्र काठमाडौं उपत्यकाको विकासका लागि साझा एजेण्डा र एउटै अठोट हुनुपर्नेमा उनले जोड दिए । इकोसिटी ब्युल्डर, क्यालिफोर्नियाका कार्यकारी निर्देशक क्रिस्टन मिलरले काठमाडौंमा हिंड्न लायक वस्तीहरु धेरै भएको र यसको प्रवद्र्धन तथा सम्वद्र्धन गर्नुपर्नेमा ध्यानाकर्षण गराएका थिए । एउटा दीगो शहरका लागि स्थायित्व, अधिकार, सोच र नागरिक सहभागिता अपरहार्य रहेको उनको भनाइ थियो ।  इकोसिटी ब्युल्डरकै स्कट एलनले हरेक नगरपालिकासँग इकोसिटी स्ट्यान्डर्ड हुनुपर्नेमा बताए ।

इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गका प्राडा. सुदर्शनराज तिवारीले काठमाडौं उपत्यकाका शहर परापूर्व कालदेखि नै दीगो शहरको रुपमा व्यवस्थित गरिएको र यहाँ खाद्य सुरक्षा हुनुका साथै प्रकृतिमैत्री रहेको दृष्टान्त दिए । अहिले कृषि योग्य जमीन मास्ने, जंगल मास्ने, पोखरी सिध्याइदिने, खोलामा रिटेनिङ्गवाल बनाएर शहर बनाइरहेकोमा उनले आपत्ति प्रकट गरे । पश्चिमबाट शहर बनाउने तरिका अन्धधुन्ध सिक्दा शहर विग्रेको बताउँदै उनले एउटा दीगो शहरमा पानी, जमीन, हावाको प्रदुषण हुन नहुने र जलवायु परिवर्तनको असर पर्न नहुने जानकारी दिए ।  विगतमा प्राकृतिक तवरमा पानीको व्यवस्थापन भएको काठमाडौं अहिले काला ट्याँकीले भरेकोमा उनले आश्चर्य व्यक्त गरे ।
रेस्फेकका अध्यक्ष प्राडा शरदराज वन्तले काठमाडौंका शहर पहिला इकोसिटी भएको र अवको स्मार्टसिटीलाई कसरी प्रकृति मैत्री बनाउने भने कुराको योजना बनाउनुपर्ने बताए । ललितपुर महानगरपालिकाका प्राविधिक प्रदिपराज अमात्यले तत्काललाई इकोसिटीमा जान गाह्रो हुने भएकाले इकोकम्युनिटी बनाउने कोशिस भइरहेको बताए ।

वाटर रिचार्जका लागि दरबार क्षेत्रमा कालोपत्रेका सट्टा ढुगा छापेको र ढलमा वाटर रिचार्ज गर्ने सिस्टम बनाएको जानकारी दिए ।  कार्यक्रममा गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले डेढ वर्षपछि १८ ओटा नगरपालिकाका फोरम बनेको र यसैंमार्फत वातावरण संरक्षण गर्ने प्रतिवद्ध गरिसकेको जानकारी दिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031