बुधबार, बैशाख १२, २०८१

राणाशासनभन्दा पनि गएगुज्रेको राज्य भएन र ?

राजन कार्की
टोल टोल, गाउँगाउँसम्म मेडिकल पसलहरु फैलिएका छन् । त्यहाँ डाक्टर नभए पनि कम्पाउण्डर अर्थात काम गर्दा गर्दा जानेकाहरु डाक्टर बनेर बसेका छन् र सानो ठूलो जस्तो रोग लागे पनि स्थानीय नागरिक पहिले जाने त्यहीा त्यही हो । दाँत वा पेट दुखे पनि, ज्वरो वा बान्ता भए पनि, जे भए पनि मेडिकल जानासाथ उसले ओखती दिन्छ, साथमा टनिक पनि भिडाउँछ । कारण ओखतीभन्दा टनिक महँगो र टनिकमा बढी फाइदा हुने रहेछ । धेरै निको हुन्छन्, कतिपय त्यही ओखतीले असाध्य रोग बल्झेर खतीमा पर्छन् ।टाढाको अस्पतालभन्दा नजिकको मेडिकल, अहिले पनि चलिरहेकै छ । गाउँ गाउँ, टोल टोलमा अस्पताल होस् भन्ने सपना ठूलो हो । अस्पताल नजिक होस्, अस्पताल सर्वसुलभ र डाक्टर जुनसुकै बेला भेटियोस् । अस्पताल पुगेर सहज उपचार पाइयोस् । यो मेरो सपना हो । अस्पताल पुग्न राजधानीका जस्ता अस्तव्यस्त सडक नहोस् । अस्पताल लगेको विरामी जाममा फसेर एम्बुलेन्समै मर्नु नपरोस् । यो मेरो सपना हो ।
नागरिक हिड्ने सडक अहिलेजस्तो खाल्डाखुल्डी नहोस्, कम्तिमा धुलो र धुवाा कम उड्ने खालका हुन् । ७ वर्षदेखि चावेल सााखुको, बल्खु दक्षिणकालीको, कलंकी थानकोट नौबिसेको बाटोजस्तो धुलाम्मे, हिलाम्मे, खाल्डैखाल्टा नहोस् र यो सात वर्षमा धुलो र धुवाले दमको रोगी बनेर हजारौंको मृत्यु भइसकेको छ, यस्तो गैरजिम्मेवार सरकार नहोस्, ज्यानमारा राज्यनीति नहोस्, जनताप्रतिको जिम्मेवारी लिनसक्ने सरकार होस् । यो मेरो सपना हो । मेरा बालबालिकाले स्कूलदेखि कलेजसम्म, त्यसपछि शिक्षा हासिल गर्न मनलागि फी तिर्नु नपरोस्, प्राविधिक शिक्षा हासिल गर्न भनसुन गर्नु नपरोस्, नेपालमा पढ्न नपाएर विदेशतिर लाग्नु नपरोस् र विदेशतिरै अलमलिएर देश बिर्सने बाध्यतामा नपरुन् भन्ने हो । तर के गर्ने देशमा शिक्षा, स्वास्थ्यलगायतका सामान्य आवश्यकताका क्षेत्रमा माफियाकै हैकम छ । बजारदेखि सिंहदरवारसम्म सेटिङ र सिण्डिकेट छ, कमिशनकै चलखेल छ । कि त माफियाले भनेजति पैसा दिन सक्नुपर्‍यो, कि विदेशतिर हुइँकिनु पर्‍यो । आमनागरिकका लागि सरकार छ नै कहाँ र ?
यसकारण लोकगणराज्यले दिनैपर्ने नागरिकका आधारभूत आवश्यकताका साना सपना पूरा गर्न सरकार ठूला ठूला सपना देखाउँछ । काठमाडौंसम्म केरुङ र रक्सौलबाट रेल जोड्छु भन्छ । राजधानीमा मेट्रो चलाउाछु भन्छ । राजधानीलाई मेट्रो सिटी बनाउाछु, हावाबाट बिजुली निकाल्छु र घर घरमा ग्याँसका पाइपलाइन जोडिदिन्छु भन्छ । थानकोटबाट काभ्रे हुँदै सिन्धुपाल्चोकसम्म मेट्रो चल्छ रे । सात वर्षदेखि सडक साइकल चल्न नसक्ने स्थितिमा छ, एक सरकारबाट ७ सय ६१ सरकार बनेका छन् । यी सरकारहरुमा मन्त्री, सचिव, सहायकदेखि पार्टीका आउरेबाउरेको लामवद्ध मान्छेहरु जनता निचारेर कर अशुल गर्दै खाँदैछन् । जुकाले रगत चुसेजसरी जनता चुसेर ढाडिएका जुकाले चुस्दिन भन्दैन, कम्युनिष्ट सरकारमा पुँजीवादी शोषणको पराकाष्ठा नाघिसकेको छ र यिनीहरु मेरा साना साना सपना कुल्चेर ठूला ठूला सपना देखाइरहेका छन् ।म मेरा जनप्रतिनिधि, मेरो सरकार, मेरो संविधान, मेरो लोकतान्त्रिक गणतन्त्रको बौलाह चरीत्र देखेर छक्क छु । म सामान्य सपना पूरा होस् भनिरहेको छु, राज्य स्वर्गै दिन्छु भन्ने सपना देखाइरहेको छ ।
म कम्पाउण्डरले ओखतीभन्दा बढी टनिक बेचेजस्तो र टनिक किन्न बाध्य पारिएको बिरामीजस्तो म पनि राज्यको सपना देखेर जील खाइरहेछु, जिल्लाराम छु । प्रधानमन्त्री भन्छन्– सपना देख्नुपर्छ, सपना देख्नेले पूरा गर्छ । हो, नेपाल सपनाको देश हो, सपना नै सुशासन र समृद्धिको आधार हो । सपना देखिएन भने सत्ता टिक्दैन, राजनीति चल्दैन । सपना शायद कम्युनिष्टको राजनीति गर्ने अचुक उपाय हो । हिजो जनयुद्धका बेलामा युवाहरुलाई जसले खेती रोजे खेत पाइने, महल रोजे महल पाइने, जसले जे रोज्छ त्यही पाइन्छ भनेर बन्दुक बोकाइयो । मर्ने मरे, बाँच्ने पहुँचवाला सत्ता र शक्तिमा पुगे, नसक्ने अयोग्य भए, कोही खाडी गए, कोही यतै ढलापडा छन् । कतिपय युवतीहरु राजमार्गमा यौवन बेचेर बालबचेरा पालिरहेका छन् । सपना भनेको देखाउनेलाई सपार्ने रहेछ । देख्ने सधैं सपना देखेर बाँच्नु न मर्नुपर्ने छटपटीमा हुँदा रहेछन् । नेपालमा जे भइरहेको छ, अहिले यस्तै भइरहेछ ।
जनयुद्ध पनि सपना नै थियो । असमानता हटाउन, भेदभाव र बिभेद मास्न, समृद्धिको साम्राज्य सिर्जना गर्न निरंकूशता फालौं भनेर जनतालाई घरघरबाट सडकमा आउनै वातावरण बन्यो । परिवर्तन भयो । राजा झुके, मरेको संसद ब्यूँतियो । संसद ब्यूँतियो कि भूत ? अहिले आएर सबै रनभुल्लमा छन् । किनभने त्यही संसदबाट संविधानसभा जन्म्यो, संविधानसभाले राजा फालेर महाराजाको उत्पत्ति गरायो, संविधान जारी भो, बिभेद बढ्यो, समानता आएन । आयो त तिनै परिवर्तनका नेतृत्व गर्नेहरुलाई आयो । तिनकै रजगज चलेको छ, तिनीहरु नै आधुनिक श्री ३ महाराज बनेका छन् । जनता हिजो अन्यायमा थिए, आज महाअन्यायमा परेका छन् । जनताप्रतिको जिम्मेवारी कसैले लिन तैयार छैन । जनताप्रति जिम्मेवार हुनै नपर्ने लोकतन्त्र आएको छ । अव त देशै अभरमा परेको छ । देशको जिम्मेवारी लिनेसमेत कोही भएन । राजधानीमा ब्ल्याक मार्च हुनथालेको छ । नागरिक समाज देशका वास्तविक नक्सा माँगिरहेको छ । भएछ के भने लोकतान्त्रिक नेताहरुले कालापानी, लिपुलेक, लिम्पियाधुरा भारततिर पारेर राष्ट्रको नक्सा नै फेरिसकेछन् । गणतन्त्रले गरेन त कमाल । देखाएन त सपना ? जनता ठूला सपना सिनेमा हेरेजस्तो हेरिरहेका थिए, सपना देखाउने सरकारले त राष्ट्रको मिर्गौला काटेर भारतलाई दिइसकेछ । यता समृति र सुशासनको टनिक बेचेर उता सत्ताको मुनाफा पो घिचिसकेछन् हाम्रा जनप्रतिनिधिहरुले ।
सपना समृद्धि र सुशासनको देखाएको हो दुई तिहाईको सरकारले । पेण्डोराको बाकस खुलेझैं खाली भ्रष्टाचार र ठेकेदारहरुको पोलखोल पो भइरहेछ । कमिशन र सुनकाण्डहरुबाट अव त बलात्कार र हत्याका श्रृंखलाहरु पो बढ्न थाले । सपनाको सुन्दर जीवन देखाएर अराजकताको आगोमा होमियो । मेरो सानो सपना, समाजमा सभ्यताको विकास होस्, भाइचाराको विकास होस्, बहुल जातीय समाजमा जातीय सद्भाव कायम होस् भन्ने हो । सपना देखाउनेहरु जातीय, क्षेत्रीय बिभाजनका मुद्दा उठाउाछन् । अव त मधेसतिर मधेश अलग देश हो भन्ने नारा उठिसक्यो । दुई तिहाईको सरकार कस्तो सपना देखाइरहेछ, बिना परिकल्पनाको । परिकल्पना अर्थात सपना पूरा गर्ने योजना र अठोट नै छैन । टुक्का हालेर बोल्यो, सपना देखाएर हँसायो, सकियो । सुतेर भात खानेमात्र हो भने घरघरमा सुतेरै भात ख्वाउाछ सरकार भन्छन् प्रधानमन्त्री । यो कस्तो भाषण हो ? कस्तो सपना हो ? ४ वर्ष भयो, भूकम्प पीडितले बास बनाउन सकेनन्, बाढी र पहिरो पीडितले राहत पाएका छैनन्, अतिरोग पीडितले उपचार पाएका छैनन्, गरीबीको परिचयपत्रसमेत धनीलाई बितरण गर्ने कम्युनिष्ट सरकार कम्युन्यालिष्ट बढाएर स्वादिलो अचारजस्तो सपना देखाइरहेको छ । सपना देख्ने र सत्ता चलाउने, तस्कर र माफियाको, भ्रष्ट र असामाजिक तत्वको बिगबिगीतिर हेर्दै नहेर्ने, हेरे तिनलाई खोकिलामा हालेर बचाउने राज्य कसरी लोकराज्य ? यो त अराजक राज्य भएन र ? यो त असंवैधानिक, राणाशासनभन्दा पनि गएगुज्रेको राज्य भएन र ?
प्रधानमन्त्री पटक पटक चिच्याउँछन्– यो परालको त्यान्द्रोजस्तो सरकार होइन, दुई तिहाईको सतिसालजस्तौ दह्रो सरकार हो । प्रधानमन्त्रीलाई प्रश्न छ– नैतिकहीनको घोडा चढेर लोकतन्त्र पुगिन्छ र ? भाषण सतिसालको गर्नेको खुट्टी भिजेको परालखुट्टे देखिन्छ त ? यो सरकारलाई दुई तिहाई दिएका जनताले हो । यसरी जनतातिर फर्केर जनमतकै अनादर गर्ने ? जनताप्रतिको यो कस्तो निष्ठाहीनता हो ? यस्तो सरकार लोकसरकार नभएर अधिनायक सरकार हो किनकि मुहारमा दम्प लेपन गरेपछि दुई तिहाईको मर्यादा नै देखिदैन ।
सात महिना भयो यो सरकारको आयु । एउटा मात्र राम्रो काम पनि यो सरकारले देखाउन सक्दैन । हत्या र हिंसा बढ्दा यो सरकार सरकारले बलात्कार र हत्या गरेको हो र ? भन्छ । पानी सरकारले पारिदेको हो र ? धुलो सरकारले उडाइदिएको हो र ? खााल्डाखुल्डी सरारले पारिदेको हो र ? सरकार भन्छ– बिस्तारै काम हुन्छ, सरकारको हातमा जादुको छडी छैन । यस्तो भाषण सुनेर दुई तिहाईको सरकार चलाउने पार्टीका बरिष्ठ नेता झलनाथ खनालले प्वाक्क भनेका छन्– अव ओलीजीले छाडिदिए हुन्छ । अर्थात असन्तुष्टि जनतामा बढेको छ । सन्तुष्ट नेकपाभित्र नै रहेनछ । राजनीतिक स्थिरताले समृद्धि ल्याउने भो भन्ने जुन सपना जनताका आँखामा देखिएका थिए, ती सपना पनि महाकाली सन्धि पारित भएपछि केपी ओलीको ठूलो सपनाजस्तो प्रतिक्रिया थियो– नेपालको सूर्य पश्चिमबाट उदाउने छ । ठूलो सपनाबाट जनताको स्थिरताको सानो सपना किचियो, मिचियो । साना साना सपना देखाउ, पूरा गर । गैरजिम्मेवार हुने काम नहोस् । जब सरकारमा बस्नेहरु नै गैरजिम्मेवार कामकुरा गर्छन्, तिनका सहयोगी, राज्यसञ्जाल कसरी जनताप्रति जवाफदेहिता निर्वाह गर्छन् । जनताप्रति जिम्मेवारी यो व्यवस्थाको विशेषता हो । यो विशेषता नै नभएपछि यो व्यवस्था हो कि बहुलापन हो ? यसरी चल्दैन । सधैं जनतालाई मूर्ख बनाउने ? अव जनता मूर्ख बन्नु हुन्न । जनताले आफ्नो अस्तित्वको रक्षा आफैले गर्नुपर्ने दिन आयो, जनता जाग्नुपर्ने भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।