शुक्रबार, चैत्र १६, २०८०

प्रतिकुल अवस्थामा पनि अनुकुलता खोज्दै पर्वको गरिमा र महत्वलाई अक्षुण्ण राखौं

प्रतिकुल अवस्थामा पनि अनुकुलता खोज्दै खुशी साट्ने हामी नेपालीहरूको संस्कृतिलाई स्मरण सहित परिवारिक तथा सामाजिक पूनर्मिलन र आपसी भाइचारा एवम् सदभाव अभिवृद्धि गर्ने सन्देश समेत बोकेको यस महान् पर्वको गरिमा र महत्वलाई अक्षुण्ण राखौं

काठमाडौं आश्विन २४, आम हिन्दू नेपालीमात्रको महान चाड बडादशैं घर आँगनमा भित्रिइसकेको छ । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अनुकुलता खोज्दै खुशी साट्ने हामी नेपालीहरूको संस्कृतिलाई स्मरण गर्दै यो वर्षको बडादशैंलाई पनि उल्लासमयरूपमा मनाउँने तयारीमा नेपालीहरु रहेको बजारमा रहेको चहलपहलबाट सहजै बोध गर्न सकिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको यो महान् पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।

बडादसैँको पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ भने त्यसैदिनदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जस अनुसार पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

त्यस्तै विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास रहिआएको छ । यसैवीच आम सार्वभौम सम्पन्न नेपालीको भावना माथि यो वा त्यो बहानामा प्रहार गर्ने दृष्य वा अदृष्य शक्तिको तेजोबोध गर्ने् शक्ति देवीदुर्गाले प्रदान गरुन भन्ने कामना गर्दैछौं । परिवारिक तथा सामाजिक पूनर्मिलन र आपसी भाइचारा एवम् सदभाव अभिवृद्धि गर्ने सन्देश समेत बोकेको यस महान् पर्वको गरिमा र महत्वलाई अक्षुग्ण राख्न यसलाई बिकृतिमुक्त बनाई सभ्य र सालीन रुपमा मनाउनु हुन आह्वान गर्दछौं ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।