बुधबार, बैशाख १२, २०८१

२० हजार घुस रकम सहित प्राधिकरणका इलेक्ट्रिसियन पक्राउ

काठमाडौ असोज १४, नेपाल विद्युत् प्राधिकरण काठमाडौ वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुस लिएको आरोपमा आज रङगेहात पक्राउ परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलेक्ट्रिसियन शर्मालाई सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा घुस लिएको अवस्थामा कार्यालय अगाडि रहेको चियापसलबाट आज नियन्त्रणमा लिइ अनुसन्धान कार्य सुरु गरिएको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच आयोगद्दारा आजै अर्को विज्ञप्तिमा यातायात व्यवस्था कार्यालय , नारायणी पर्साले सवारी चालक अनुमतिपत्र नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेख समेतको सरकारी कागजात जलाई नष्ट गरी नेपाल सरकारलाई बदनियतका साथ हानी नोक्सानी गरेको भन्दै कार्यालयका प्रमुख विश्वराज नेपाल, तत्कालिन शाखा अधिकृतहरु कमलराज गौतम, शालीग्राम पौडेल र उमेश रेग्मी तथा तत्कालिन नायब सुब्बा अविन्दर दास विरुद्ध आजै विशेष अदालतमा मुद्धा दायर गरेका छन ।

आयोगद्दारा जारी विज्ञप्तिमा अभियुक्तहरुले नेपालीकरकणका लागि प्राप्त निवेदन र सो साथ संलग्न भएका अन्य कागजात र सफल परीक्षार्थीका उत्तर पुस्तिका लगायतका कागजात काम तामेल भएको एक वर्ष पनि नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियमविपरीत कागजात नष्ट गरेको आयोगले जनाएको छ ।