बिहिबार, बैशाख १३, २०८१

हरितालिका तीजको हर्षोल्लास

 काठमाडौ भाद्र २८, भाद्र शुक्ल तृतीया अर्थात नेपाली महिलाहरूको महान चाड हरितालिका तीज बुधवार भगवान शिवको आराधना एवम् नाचगान गर्दै हर्षोल्लासमय रुपमा मनाइएको छ ।

तीज हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण पर्वको रुपमा रहेको यो पर्व भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र विभिन्न जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता रहिआएको छ ।