बुधबार, बैशाख १२, २०८१

साथीसँग फिरौती असुल्ने साह चार महिनापछि पक्राउ

काठमाडौं भाद्र २८, सहयोग गर्ने बहानामा अपहरण गर्ने र साथीसँग फिरौती असुल्ने एक आरोपितलाई सप्तरी प्रहरीले चार महिनापछि पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका-२ का रामचरित्र यादवलाई बन्धक बनाएर नौ लाख ६० हजार रुपैयाँ फिरौती असुल गरेको आरोपमा फरार रहेका महोत्तरीको साँढा–२ का ५५ वर्षीय विन्देश्वर साहलाई प्रहरीले पक्राउ गरेको हो । भारतीय प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगन्जबाट पक्राउ परेका साहलाई बुधबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गरिएको छ । उनको साथबाट भारतीय आधार कार्ड र जिल्ला वन कार्यालय सर्लाहीमा कार्यरत रेन्जर पदको नक्कली परिचय–पत्रसमेत बरामद भएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजका इञ्जिनियर राजविराज नगरपालिका–२ का राजकुमार यादवलाई छोरीको विवाहका लागि आर्थिक सहयोग गर्ने बहानामा उनकै भाइ रामचरित्रलाई अपहरण गरेको प्रहरीको भनाइ छ । ‘१५ दिनका लागि रकम सापटी दिन्छु, तर रकम लिन भारतको पटना जानुपर्ने भनेपछि राजकुमारले भाई रामचरित्रलाई साहको साथ लगाई पठाएका रहेछन्’, विष्टले भने ।

एसपी विष्टका अनुसार भारतको पटनाका लागि भनेर लगेका रामचरित्रलाई भारतको मोतिहारीस्थित आनन्द होटलको कोठामा छाडी बेपत्ता भएपछि अन्य दुई जनाले रामचरित्रलाई बन्धक बनाई भारतीय मोबाइल नम्बरबाट राजकुमारसँग १० लाख भारतीय रुपैयाँ फिरौती मागिएको थियो । मोलमोलाईका क्रममा नौ लाख ६० हजार नेपाली रुपैयाँमा कुरा मिलेपछि राजकुमारले वैशाख १२ गते विरगन्जस्थित प्रभु विकास बैंकमा नरेशप्रसाद साहको नाममा रहेको खातामा पैसा जम्मा गरिदिएका थिए ।

नरेशप्रसाद साहको नक्कली नागरिकतामा आफ्नो फोटो टाँसी बैंक खाता खोलेका बिन्देश्वरले जम्मा गरिएको फिरौती रकम भोलीपल्ट नै झिकेको सो बैंकको रेकर्ड र सिसी क्यामेराको फुटेज अनुसन्धान गर्दा पत्ता लागेको एसपी विष्टले बताए । वीरगञ्जमा रहेको पत्ता लागेपछि खोजतलासका क्रममा राजकुमारले चिनाइदिएपछि भाग्न खोजेका विन्देश्वरलाई पर्सा प्रहरीको सहयोगमा घेरा हालेर पक्राउ गरिएको सप्तरीबाट वीरगञ्ज खटिएका असई सुनिल यादवले बताए । अन्नपूर्णपोष्टबाट