शुक्रबार, बैशाख १४, २०८१

श्रमजीवी पत्रकारको न्यूनतम तलवमान २९ हजार ५ सय कायम गर्न समितिको सिफारिस

 काठमाडौ भाद्र २५, न्यूनतम पारिश्रमिक निर्धारण समितिको भाद्र २४ र २५ गते बसेको बैठकले विभिन्न सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारहरुको पारिश्रमिकमा पुनरावलोकन सहित नयाँ तलवमान सिफारिस गर्ने निर्णय गरेको छ । समितिले यसपटक श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक पुनरावलोकनका लागि सञ्चार प्रतिष्ठानको क्षमता, तिनको श्रेणी र तहलाई समेत आधार बनाएको जानकारी दिदै जीवनयापनका लागि चाहिने न्यूनतम आधारभूत आवश्यकता अनुरुप पारिश्रमिक पुनरावलोकनको निर्णय गरिएको समतिका अध्यक्ष गंगाधर पराजुलीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समितिले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा। सुरेश आचार्यको संयोजकत्वमा गठित पारिश्रमिक पुनरावलोकन कार्यदलले दिएको प्रतिवेदनमा केहि परिमार्जन गर्दै   प्रस्ताव गरेको नयाँ पारिश्रमिक दर अनुसार क, ख र ग वर्गमा पर्ने राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि क्रमशः रु।२९,५००।–, रु।२७,५००।– र रु।२४,५००।– तथा प्रादेशिक स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि क्रमशः रु।२१, ५००।–, रु।२०,०००।– र रु।१८,०००।– र स्थानीय स्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवीका लागि क्रमशः रु।१८,०००।–, १७,०००।–, र १६,०००।– रुपैंया न्यूनतम पारिश्रमिक तोकिएको उल्लेख गरिएको छ । साथै ५०० वाट भन्दा बढी क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारको लागि रु।२९,५००।–, ५०० वाट क्षमतासम्मका रेडियोमा कार्यरत श्रमजीवीका लागि रु।२१,५००।– र १०० वाटसम्म क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारका लागि रु।१८,०००।– मासिक न्यूनतम पारिश्रमिक तोकिएको छ । टेलिभिजन प्रतिष्ठानहरुमध्ये स्याटलाइट टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको लागि न्यूनतम पारिश्रमिक रु।२९, ५००।– र केबुल टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको लागि रु।२१, ५००।– तलवमान निर्धारण गरिएको छ ।

यसैगरी स्ट्रीन्जर समाचारदाताको हकमा राष्ट्रिय स्तरका सञ्चार प्रतिष्ठानमध्ये पत्रपत्रिकामा प्रति समाचार रु।२२५ वाट बढाएर रु।३५०।– र रेडियोहरुमा रु।२०० बाट बढाएर रु।३०० तथा टेलिभिजनहरुमा रु।६०० बाट बढाएर रु।९०० पुर्याउने तथा प्रादेशिक तथा स्थानीय मिडिया अन्तरगत पत्रपत्रिकामा रु।१५० बाट रु।२२५, रेडियोमा रु।१५० बाट रु।२२५ र टेलिभिजनमा रु।६०० बाट बढाएर रु।७५० पुर्याउने निर्णय गरिएको छ ।

सञ्चारप्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारीहरुको पारिश्रमिकमा पनि समितिले पुनरावलोकन गरेको छ । जसअनुसार राष्ट्रिय मिडिया अन्तरगत क, ख र ग वर्गका लागि रु।२१,५००।–, रु।२०,५००।– र रु।१८,०००।– तथा प्रादेशिक मिडियामा काम गर्नेहरुको लागि क्रमशः रु।१९,०००।–, रु।१८,०००।– र रु।१६,०००।– तय गरिएको छ भने स्थानीय मिडियामा कार्यरत कर्मचारीका लागि रु।१६,०००।–, रु।१५,०००।– र रु।१४,०००।– रुपैंया न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ ।

यसअघि आइतवार नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ ।  सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार, कामदार कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै  आज अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको कार्यकक्षमा एक घण्टा धर्ना तथा घेराउ गरेको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।