शनिबार, बैशाख ८, २०८१

राष्ट्रकवि घिमिरेको शतबार्षिकी अभिनन्दन

 चन्द्रमणि भट्टराई/काठमाडौं असोज १३, राष्ट्रकवि माधव घिमिरेलाई शनिवार राजधानीमा शतबार्षिकी अभिनन्दन गरिएको छ । काठमाडौं महानगरपालिका र नागरिक मूल समारोह समितिले उहाँलाई निवास लैनचौरबाट नेपाली सेनाको बग्गीमा सहर परिक्रमा गराएपछि राष्ट्रिय सभा गृहमा आयोजना गरिएको विशेष समारोहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अभिनन्दन प्रदान गर्नुभएको हो ।

सो अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापा, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, नेपाली सिनेमाका महानायक राजेश हमाल, वडा २६ का अध्यक्ष ख्यामराज तिवारीसहितका पदाधिकारी तथा जनप्रतिनिधि  उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रम प्रमुख शाक्यले — राष्ट्रकवि घिमिरेले साहित्य सृजनामार्फत समाज जागरणमा पु-याउनु भएको योगदानको प्रशंशा गर्नुभयो । विशिष्ट व्यक्तिले जात, भूगोल, क्षेत्रभन्दा माथि उठेर काम गरेका हुन्छन् । प्रमुख शाक्यले थप्नुभयो — घिमिरे लमजुङ्मा जन्मनुभएको हो, हामी काठमाडौंबासी अभिनन्दन गर्दैछौं । यसले राष्ट्रिय व्यक्तित्व निश्चितताभित्र सीमित हुँदैन भन्ने देखाउँछ ।

सोही अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले — राष्ट्रकवि घिमिरेका वीर रसयुक्त साहित्यिक सृजनाले हरेकले फौजीलाई देशभक्तिमा उर्जा मिलेको चर्चा गर्नुभयो । हाम्रा गणहरुमा राष्ट्रकविका सृजना लेखिएका छन् । समय समयमा ती सृजना गाइन्छन् पनि । सेनापति थापाले भन्नुभयो — राष्ट्रकविलाई नेपाली सेनाले प्रदान गरेको मानार्थ सहायक रथी पदबाट आफूलाई गर्व महसुस भएका बताउँनु भएको छ ।

शतबार्षिकीको अवसरमा कामपा वडा २६ का वडाध्यक्ष ख्यामराज तिवारी , नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक देवेन्द्र रिमाललगायतले वोल्नु भएको थियो ।

राष्ट्रकवि घिमिरे १९७६ साल आश्विन ७ गते लमजुङ्को पुस्तुन भन्ने गाउँमा जन्मिनुभएको हो । पिता गौरी शंकर र माता द्रौपदीदेवीका कोखबाट जन्मनु भएको घिमिरेकी प्रथम पत्नी गौरी घिमिरेको २००४ साल असार २२ गते निधन भएपछि लेखिएको गौरी शोक काव्य नेपाली जनजीवनमा लोकप्रिय छ । गौरीको निधनपछि घिमिरेले २००५ सालमा महाकाली घिमिरेसँग दोश्रो विवाह गर्नु भएको हो । अभिनन्दन समारोहमा उहाँकी धर्मपत्नी महाकाली पनि साथमै हुनुहुन्थ्यो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।