बिहिबार, चैत्र १५, २०८०

निकास पाउने कहिले ?

 -राजन कार्की-

 कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको डेढ महिना हुनलाग्यो । कञ्चनपुरमै अर्को बलात्कार भयो, बालयौन दुराचारका घटना पनि बाहिर आयो । कञ्चनपुरका बृद्धा आमाहरु समेत साँझपरेपछि बाहिर निस्कन डरलाग्छ भन्न थालिसकेका छन् । त्यसपछि पोखरा, काठमाडौंमा पनि बलात्कार र हत्याका घटना भएका छन् । प्रहरीकै रिपोर्टअनुसार ३ महिनामा सवासय बलात्कारका घटना भएका छन् । यो स्थितिमा आएर आइजीपी सर्वेन्द्र खनालको अभिव्यक्ति सार्वजनिक भएको छ– नेपालको प्रहरी एसियामै उत्कृष्ठ छ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएपछि आमजनता सडकमा उत्रिए । तिनीहरुमाथि नै गोली ठोक्यो प्रहरीले । १७ वर्षका नावालक सन्नी खुना मारिए । प्रहरी दमन यसरी बढ्यो कि सयौं घाइते हुनपुगे ।

यही हो उत्कृष्ठ प्रहरी भनेको ?  निर्मला पन्तको बलात्कारपछि हत्याको चुरो कुरो के हो रु देश सुसूचित हुन चाहन्छ । हत्या र बलात्कारको घटनाजस्तो जघन्य अपराधमा प्रहरी र प्रशासनको गम्भीरता र अनुसन्धानमा इमान्दारिता देखिएन । अनुसन्धान टोली फेर्ने, प्रशासक र सुरक्षाकर्मीको सरुवा गर्ने, समय कटाउने बाहेक थप के भएको छ रु नतिजा के निस्किएको छ ?
यसअघि ३३ किलो सुनकाण्डको अनुसन्धान हुँदा गृहमन्त्रीले भने ३८ टन सुन भित्रिएछ । प्रधानमन्त्रीले अनुसन्धान नै रोकिदिए । ३ जनाको हत्या भइसक्दा पनि सुनकाण्ड सुल्झिएको छैन । पक्राउ परेका विमल पोद्दारले व्यापारी दीपक मलहोत्रादेखि तस्करीको सुन किन्ने छिरिङ गुरुङ, सहसचिव भरतराज सुवेदी, व्यापारी विष्णु न्यौपाने, मुकुन्द तिमिल्सिना, प्रहरी अधिकारी हरि पाल, पूर्व प्रहरी अधिकारी हेमन्त पाल, व्यापारी वीरेन्द्रबाबु श्रेष्ठसम्म संलग्न भएको बयान दिएपछि एकाएक गृहका सहसचिव ईश्वर पौडेलको अनुसन्धानमा ब्रेक लगाइयो । योभन्दा अपराधिकरण के हुनसक्छ ?   पूर्व एआइजी हुन् विज्ञानराज शर्मा । शर्माले टीभीको पर्दामा उपस्थित भएरै आरोप लगाए– निर्मला पन्त सामान्य नागरिककी छोरी भएकीले घटनाको जानकारी पाएपछि पनि प्रहरीले तत्काल अनुसन्धानमा संलग्न भएन । ठूलाबडाकी छोरी भएकी भए प्रहरी रातदिन एक गरेर खोज्थ्यो, अपराधी पत्ता लगाउँथ्यो, सीडीयो साप पनि सक्रिय हुन्थे, काम देखाउन पनि पाइने, चाकडी पनि हुने । व्यवसायिक प्रहरीले गर्नै नहुने काम गर्‍यो, नेपाल प्रहरीमा व्यवसायिकताको विकास भएकै छैन ।

आइजी सर्वेन्द्र खनालजी, यही हो एसियाको उत्कृष्ठ प्रहरी भनेको रु प्रहरीले सत्य सेवा सुरक्षा बोक्ने कि सुन ? इन्काउण्टरमा उत्कृष्ठ रु नक्कली बलात्कारी खडा गरेर खास बलात्कारी र हत्यारा बचाउन खोज्ने प्रयत्नमा उत्कृष्ठ रु अपहरण, चन्दा, गुण्डागर्दी र उठ्तीपुठ्तीमा उत्कृष्ठ रु प्रहरीले नमकको सोझो चिताएर जनमैत्री हुने कि जनताका लागि हाउगुजी बन्ने ? प्रहरी सेवामा सुधार गर्छु भन्ने सर्वेन्द्र खनालले प्रहरीको चरित्रमा सुधार ल्याउन सकेका छैनन् । जबसम्म प्रहरीको सोचमा, वर्दीको गौरवमा खरो उत्रने बानी पर्दैन, तवसम्म प्रहरी जति पायो, उति लिने र यसैगरी चलिरहने कालातत्वहरुको मर्सिनरीका रुपमा रहिरहनेछ । प्रहरी भनेपछि आज पनि यमराजको रुपमा चर्चा गर्छन् सोझासाझा, यो आततायी स्वरुपमा प्रहरीले परिवर्तन ल्याउन आशा गरेको थियो समाजले । कम्तिमा पनि डीआईजी हुन्जेल लोकप्रिय सर्वेन्द्र खनाल आइजीपी बनेपछि नेपाल प्रहरी व्यवसायिक बन्छ, समाजका अपराधहरु निर्मूल पार्न कम्मर कसेर लाग्छन् भन्ने विश्वास गरिएकै हो । तर, भयो के रु खोदा पहाड, निकला चुहा । सर्वेन्द्र खनालले नेपाल प्रहरी एसियाकै उत्कृष्ठ हो भन्ने जुन दावी गरेका छन्, त्यसमा पत्याउने आधार छैन ।
सुन काण्ड सुल्झेन, ठेकेदारहरुलाई समयमा काम गराउने, नगर्नेमाथि कडा कारवाही गर्ने सरकारको प्रतिवद्धताले हावा खायो । अकर्मण्य कर्मचारीतन्त्र, गैरजिम्मेवार सुरक्षा संयन्त्र, प्रभावहीन संसद, गफाडी व्यस्त सरकार, अलोकप्रिय प्रतिपक्ष, विविदित मानवाधिकार र नागरिक समाज, पद्धतिको परिवर्तन भयो, जनजीवनको खुशहालीमा आशा गर्ने ठाउँ देखिदैन । ताजा खबर के छ भने सांसदले निजी काममा विदेश जाँदा पनि रातो पासपोर्ट माँग गरेछन् । उनीहरुलाई स्थायी रुपमा रातो पासपोर्ट दिनुपर्छ रे । जर्ज अरवेलले भनेका थिए– एनिमल आर इक्वेल, सम एनिमल आर मोर इक्वेल । सांसद शायद विशिष्ट प्रकारका नागरिक हुन् । यो सब देखेर एक विद्वानले भर्खर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन्– नेपालमा डेमोक्र्यासी छैन, क्लिप्टोक्रेसी चलिरहेको छ । के हो क्लिप्टोक्रेसी भनेर डिक्सनरी पल्टाएको त– जतिसक्यो उति जनता निचोरेर चलाउने पद्धतिको नाम रहेछ ।

नेपालमा लोकतन्त्र आयो भनेको त जुकातन्त्र पो आएको रहेछ । यतिबेला देशव्यापी रुपमा करका रुपमा जनताको दोहन भइरहेको छ, जनताले पाउनैपर्ने शान्तिसुरक्षा, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि पाउन सकेका छैनन् । घूस नदिई जनताले सामान्य सिफारिस पनि पाउन छाडेका छन् । सत्रसाले कांग्रेस र पचहत्तरसाले नेपाल कम्युनिष्ट पार्टी दाँज्ने हो भने अन्तर देखिन छाड्यो । यो सरकारले जारी गरेको देवानी, फौजदारी संहितामा व्यापक त्रुटी भेटिएका छन्, नेकपालाई अधिनायकवाद बन्ने पूर्णाधार यी संहिताहरुमा छन् । जसले प्रेसदेखि व्यवसायीसम्मलाई, घरदेखि सहरसम्मलाई दण्डको व्यवस्थाबाहेक केही गरेको छैन । विधिको शासन भनेको नैतिकतामा बसौं भन्ने विधान हो, लोकलाई पाताकस्ने डोरी होइन । यो सरकारले त पाता कस्ने डोरी नै बनाएछ । विधि भनेको चारवेदको सारमा आधारित हुनपर्ने हो । चारवेद भन्छ– ठूलाको आदर गर, अतिथिको सत्कार गर, सबैमाथि दयाभाव राख, दैवीशक्तिको सम्मान गर, मानवीय कर्म गर । यो सरकारले ल्याएको संहिताले त समस्यै समस्या पो सिर्जना गराइदियो ।

नेकपाका पाइलट हुन् प्रचण्ड पनि । प्रचण्डले गतहप्ता चितवन पुगेर भनेकै हुन्– कर्मचारी विचौलियासँग सेटिङ गरेर भ्रष्टाचार गर्छन् । प्रत्येक सचिव भ्रष्टाचारी हुन् । सरकारी कर्मचारीको काम भनेकै घूसखोरी हो । ठूला ठेकेदार, एजेण्टलाई सेटिङ मिलाउने नै यिनै हुन् । पार्टीका अर्का पाइलट तथा सरकारका समेत पाइलट केपी ओली– भ्रष्टाचारीलाई टिप्दै फाल्ने हो, शान्ति, समृद्धि र सुशासन ल्याउने हो भनेर दम्भ प्रदर्शन गरिरहेका छन् । एउटा पाइलट सुशासन ल्याउँ भन्छन्, अर्का पाइलट भ्रष्टाचारी बढे भन्छन् । यस्तो जहाजरुपी सरकार दुर्घटनामा नपरे को पर्छ ?  नेकपा विप्लव संविधान मान्दिन भनेर विद्रोहमा छ, सीके राउत २३ हजार ६८ बर्गकिलोमिटरको मधेश नेपालको भूभाग नै होइन भन्न थालेको छ । यता राजसंस्था र हिन्दुराष्ट्र संसदभित्रकै राष्ट्रिय मुद्दाका रुपमा यथावत छ । यति नै बेला सार्कको अध्यक्षका हैसियतमा नेपालले सार्क शिखर सम्मेलन गराउने पहल गरिरहेको छैन । भारतको दबाबमा बिमस्टेक सम्मेलन गरायो, जुन सम्मेलनमा प्रतिआतंकवादमा सदस्य राष्ट्रहरुको सामुहिक सैनिक अभ्यास गराउने मुद्दा भारतका प्रधानमन्त्रीले घुसाइदिए । नेपालले बंगालको खाडीसम्म पुग्ने निकास पाउने कहिले रु जुन भारतले काकडभिट्टाबाट २६ किलोमिटरको फूलवारी मार्गको अनुमति पाएन र बंगलादेशसँग जोडिन सकेको छैन, त्यो भारतले बंगालको खाडीसम्मको सहज निकास देला र रु फेरि नेपाल किन प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकमा सहभागी भयो रु त्यही भारतले सैनिक अभ्यास गराएर चीनलाई देखाइदिने र पाकिस्तानलाई तर्साउने योजना बनाइसकेको छ । परराष्ट्र मन्त्री भन्छन्– सैनिक अभ्यासको स पनि उच्चारण भएन, सैनिक प्रवक्ता भन्छन्– संयुक्त सैनिक अभ्यासले सम्बन्ध बिस्तार र क्षमता अभिवृद्धि हुन्छ ।

नेपालीमा उखान छ– ल्हासा जाने कुतीको बाटो । हामी हाम्रै आन्तरिक समस्याबाट जेलिएका छौं । त्यसमाथि सत्तारुढ ठूलो पार्टी नेकपाभित्रका दुई पाइलटको विचार बाझिन थालेको छ, भागबण्डे सहमतिमा बिमति देखिन थालेका छन् । एकताले एक बनायो होला भनेको त पूर्व एमाले र माओवादी केन्द्र अहिले पनि सतहमा मिलेजस्तो र भित्र भित्र बाझाबाझ गरिरहेका छन् । त्यसैले त बाबुराम भट्टराईले समेत भनेका छन्– नेकपा पाँच वर्ष पनि चल्दैन, फुट्छन् ।  पार्टीहरु जुटुन्, फुटुन्, त्यसले खास अन्तर राख्दैन । देश फुट्नु भएन, देशको एकता टुट्नु भएन । अनेकतामा एकताको विशेषता कायम रहनुपर्‍यो । सलाई र पेट्रोल बोकेकाहरु धर्म, जाति, भाषा, भेष, भेग बोकेर कुनै पनि बेला डढेलो सल्काउन तैयार भएर बसेका छन् । डढेलो सल्क्यो भने आगोले कुनै पार्टी, नेता अथवा सामान्य नागरिक कसैलाई पनि छाड्दैन । किनभने आगोको धर्म भनेको खरानी बनाउनु हो । यसकारण आगोरुपी राष्ट्रका प्रत्येक समस्यालाई गम्भीरताका रुपमा लिएर संवादका माध्यमबाट सुल्झाउने प्रयास आजको खाँचो हो । चल्दैन, चलाउन सकिदैन भने संघीयता नचलोस्, संघीयताको मूल्यमा देश सती जान सक्दैन । हिंसा र अपराध बोक्ने काम नगरौं, नेपाल प्रहरी, नेता, संचेतन बर्ग सबैमा हेक्का रहोस्