शनिबार, बैशाख ८, २०८१

चक्रपथमा मोनोरेल सञ्चालन सम्भव देखियोः प्रतिवेदन

  काठमाडौं भाद्र २८,  काठमाडौंको चक्रपथ क्षेत्रमा मोनोरेल सञ्चालन सम्भव देखिएको छ । सहरी यातायात प्रणाली सुधार गर्न मोनो रेलको सम्भाव्यता अध्ययन गरेको चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीले बिहीबार महानगरलाई बुझाएको प्रतिवेदनले यस्तो सम्भावना देखाएको हो । आर्थिक, प्राविधिक र वातावरणीय पक्षबाट चक्र पथमा मोनो रेल सम्भव छ । यसका लागि गौशालादेखि चावहिलसम्म सडम विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्छ, अध्ययन भन्छ । अहिले विस्तारित चक्रपथमा पैदल मार्गभित्रको दोश्रो लाइनमा मोनो रेल चलाउन सकिन्छ । विस्तृत परियोजना प्रतिवेदनपछि काम गर्न अनुमति पाएको ३ बर्षभित्र काम सम्पन्न गर्न सकिन्छ ।

कम्पनीका महाप्रवन्धक जोउ सिओवोले बुझाएको प्रतिवेदनको सांरांश सुनिसकेपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — अध्ययन हुनु अघि सम्भावना छ कि छैन भनेर टिप्पणी हुने गरेको थियो । अहिले अध्ययनले सम्भावना देखाएको छ । यसले नयाँ आशा जगाएको छ । म मेरै कार्यकालमा मोनो रेल सञ्चालन गर्ने कामलाई सम्भव बनाएर देखाउँछु । प्रतिवेदनले देखाएको सम्भावना हामी पनि अध्ययन गर्छौ, त्यसपछि परियोजना विस्तृत प्रतिवेदन तयारीका विषयमा निर्णय गर्छौ । सोही अवसरमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले, प्रतिवेदनले सकारात्मक सञ्चार प्रवाह भएको प्रतिक्रिया दिनुभयो । साढे सत्ताइस किलोमिटर चक्रमध्ये ललितपुरमा थोरै भाग पर्छ तर पनि हामी जिम्मेवारीपूर्वक दायित्व निर्वाह गर्छौ, मेयर महर्जनको टिप्पणी थियो ।

सो अवसरमा सम्भाव्यता अध्ययन गरेको कम्पनी सिआरसिसिका महाप्रवन्धक सिओवोले — आफूलाई नियमित जिम्मेबारी दिए तोकिएकै समयमा काम सम्पन्न हुने बताउनुभयो । हाम्रो अध्ययनले सम्भावना देखायो, यसको विस्तृत अध्ययन गरिसकेपछि रेल वे सञ्चालनका सबै पक्ष स्पष्ट हुन्छन् । विस्तृत परियोजनापछि कामको जिम्मेबारी पाएपछिको ३ बर्षमा चक्रपथमा रेल कुदाउन सकिन्छ, सिओवोको भनाइ थियो । सम्भाव्यता अध्ययनका लागि २०७५ बैशाख २० गते आशय पत्र बुझाएको कम्पनीसँग महानगरले जेठ ११ गते सम्झौता गरेको थियो । सम्झौताबमोजिम अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो तर कम्पनीले तोकिएको समयभन्दा ३ महिना अघि नै अध्ययन सम्पन्न गरेको हो ।

साढे २७ किलोमिटर चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा करीव १० किलोमिटर सडक पर्छ । कम्पनीका नेपाल प्रतिनिधि नविन पोख्रेलका अनुसार — मोनोरेल निर्माण, सञ्चालन, व्यवस्थापन तथा दिगोपनालाई आधार बनाएर अध्ययन गरिएको थियो । प्रारम्भिक अध्ययनले चक्रपथ क्षेत्रमा प्राविधिक, आर्थिक, भौगोलिक, सामाजिक र वातावरणीय पक्षबाट रेल सञ्चालन गर्न अनुकलु देखाएको हो । चक्रपथ अहिलेको अवस्था आँकलन गरि ३ चरणमा निर्माणका काम गर्दा उपयुक्त हुनेछ प्रतिवेदनले देखाएको छ । भर्खरै चक्रपथ सुधार एवम विस्तार भएको कोटेश्वरदेखि कलंकी खण्डमा पहिलो चरणमा, कलंकीदेखि महाराजगञ्जसम्म दोश्रो चरणमा र महाराजगञ्जदेखि कोटेश्वरसम्म तेश्रो चरणमा काम गर्दा उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ । नियमित काम भए अबको ६ महिनामा विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । यसै अवस्थाबाट नियमित काम हुन पाए करीब १ खर्ब १६ अर्ब रुपैयाँमा काम सकिने प्रारम्भिक अनुमान छ । यसको पूर्ण लागत विवरण भने विस्तृत परियोजना प्रतिवेदन प्राप्त भए पछि मात्र थाहा हुनेछ ।  –चन्द्रमणि भट्टराई

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।