शनिबार, बैशाख ८, २०८१

आरोपीलाई सफाइ, को हो त छोरीको हत्यारा ?

धर्मेन्द्र कुमार यादव / महोत्तरी असोज ३,   छोरीको हत्या भएको आरोपमा पक्राउ परेकालाई अदालतले सफाइ दिएपछि रामएकवाल यादवले भने, ‘मेरो छोरी मार्ने अपराधीहरु त छाडिए तर छोरी कसले मारेको जवाफ पाइनँ ।’ उनले भने, ‘अपराधीले उन्मुक्ति पाउँदा छोरी मार्ने चिन्नसमेत पाइएन, अदालतले मार्यो भनुँ कि प्रहरीले त ?  ’

जिल्ला अदालत जलेश्वरले बालिका अपहरण, बलात्कार र हत्या आरोपका सबै अभियुक्तलाई सफाइ दिएपछि पीडितका आँखा फेरि रसाएका छन् । यादवले भने, ‘अदालतको फैसलाले अरु असन्तुष्ट बनायो, छोरीका हत्याराले सजाय नपाएसम्म अदालत धाइरहनेछु ।’ मुलुकभर बलात्कारको मुद्दामा फाँसी माग भइरहेका बेला सबुत अभावमा अभियोग प्रमाणित नहुँदा पाँच अभियुक्तले सफाइ पाएका हुन् ।

को थिए बलात्कार आरोपी ? तीन वर्षपहिले २०७२ भदौ १२ गते सम्पर्कविहीन भएकी १४ वर्षीया बालिका दुई दिनपछि ईनारमा मृत फेला परेकी थिइन् । छोरीको अपहरणपछि बलात्कार र हत्या गरेको किटानी जाहेरी यादवले दिए । तर जिल्ला अदालतको २ नम्बर इजलासबाट न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले सबै आरोपीलाई सफाइ दिए ।

अदालतले सुन्दरपुर–७ का ४० वर्षीय रामजीवन राउत कुर्मी, ४५ वर्षीय गौरीशंकर राउत कुर्मी, ४८ वर्षीय दशरथ राउत कुर्मी, वडा नम्बर ९ का ५८ वर्षीय राम श्रेष्ठ महतो तथा उनका छोरा २८ वर्षीय नवीनकुमार महतोलाई सफाइ दिएको हो । अभियुक्त भनिएकामध्ये राम जीवन राउत कुर्मीलाई शव भेटिएकै दिन प्रहरीले नियन्त्रणमा लिई अदालतमा पेश गरेको थियो ।

यस्तो थियो घटना : साविक सुन्दरपुर–७ सिंग्हासिनी टोलका राम एकवाल राय यादवले २०७२ भदौ १२ गते अभियुक्त भनिएकामध्ये राम जीवन राउतसँग छोरीलाई केही स्थानीयले देखेको र सोहीबेलादेखि छोरी बेपत्ता रहेको बयानमा उल्लेख छ । दुई दिनपछि गाउँकै रामजानकी कुटीको ईनारमा शव भेटिएको थियो । छोरी अन्तिमपटक अभियुक्त राम जीवनसँगै उखुबारीमा गएको देखिएकाले उनैले छोरीको हत्या गरेको पीडित पक्षको दाबी छ ।

प्रमाण अभाव:  सरकारी वकिल कार्यालय महोत्तरीका प्रमुख जिल्ला न्यायाधीवक्ता सुदीप दंगालले अधिकांश बलात्कारका मुद्दामा यथेष्ट सबुत प्रमाण अभाव देखिने गरिएको बताए । अदालतमा करणीका मुद्दा दर्ता हुने गरे पनि पर्याप्त सबुत नहुँदा प्रतिवादीहरुले सफाइ पाइरहेका छन् । अघिल्लो आर्थिक वर्षमा जिल्ला अदालत महोत्तरीले करणीको चार मुद्दा फैसला गरेकामा दुई मुद्दामा अभियुक्तले सफाइ पाएका छन् । अदालतमा बलात्कारका १७ मुद्दा छन् । करणी उद्योगको ५ मुद्दा फस्र्यौट भएको छ भने ७ मुद्दा चालु अवस्थामा छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।