बिहिबार, बैशाख १३, २०८१

केन्द्र, प्रदेश र स्थानीय तहमा प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न महासंघको माग

काठमाडौ साउन २५ नेपाल पत्रकार महासंघको साउन २३ र २४ गते लुम्विनीमा सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले १३ बुँदे नितिगत निर्णय गर्दै केन्द्र, प्रदेश र स्थानीय तहलाई प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न माग गर्ने निर्णय गरेको छ ।  त्यस्तै बैठकले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी पत्रकार र आमसञ्चार माध्यमका लागि विशेष संरक्षणका कानून निर्माण गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहितका महासंघको धुलिखेल र जनकपुर बैठकबाट पारित नीतिगत प्राथमिकता र कार्ययोजनाका आधारमा प्रभावकारी ढंगले अघि बढ्ने निर्णय गरेको छ ।

साथै मुलुकी (फौजदारी) संहिता २०७४ तथा मुलुकी (देवानी) संहिता २०७४ का केही प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाले यसलाई प्रेसमैत्री बनाउन माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्न महासंघद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई लागू गर्न, न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी श्रमजीवी पत्रकार ऐन अविलम्ब कार्यान्वयन गर्नसमेत बैठकले माग गरेको छ । त्यस्तै बैठकले एक वर्षभित्र प्रेस स्वतन्त्रता उल्लंघनका ५९ घटनामा ९० पत्रकार तथा सञ्चार संस्था पीडित भएकाले यस प्रकारका घटनालाई न्यूनीकरण गर्न र प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कारबाही गर्न माग गर्नुको अलावा पत्रकारका लागि स्वास्थ्य सेवामा ५० प्रतिशत छुटसहित पत्रकारको स्वास्थ्य बीमा र सबैखाले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारीरुपमा तत्काल लागू गर्न सरकारसँग महासंघले माग गरेको छ ।

त्यसैगरि महासंघले आफ्ना मातहतका शाखालाई आगामी मंसिर १५ गतेभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । आगामी भाद्र ै १ देखि मंसिर १५ सम्म महासंघको सम्पूर्ण शाखाको साधारणसभा सम्पन्न गर्न बैठकले निर्देशन जारी गरिएको महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा बैठकले पत्रकारिताको व्यावसायिक शुद्धता र जिम्मेवार पत्रकारिताका लागि देशैभर पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ज्येष्ठ तथा अपाङ्गता भएका पत्रकारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने, साना लगानीका र स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र संरक्षणका लागि महासंघले आवश्यक पहलकदमी लिने निर्णय गरेको उल्लेख गरिएको छ ।

Publish on: Aug 10, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।