शनिबार, बैशाख ८, २०८१

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको सभापति थापाको आरोप 

  • बिर्तामोडमा सार्वजनिक भाषणकला तालिम
  •  एस्पेकमा सहभागी सातलाई सम्मान
  • मे महिना जेसी अफ द मन्थको अवार्ड उपाध्यक्ष चौधरीलाई

बिर्तामोड असार १२ वीरता जेसीज र वीरता लेडी जेसीजको सयुक्त आयोजनामा मंगलबार बिर्तामोडमा ‘प्रभावकारी सार्वजनिक भाषण कला’ विषयक एकदिने तालिम सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको प्रमुख आतिथ्यतामा  सम्पन्न तालिमको औपचारिकसत्र वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यस्तै विराटनगर जेसीजका पूर्व अध्यक्ष विराटनगर जेसीजका पूर्व अध्यक्ष कैलाश खाकी श्रेष्ठ प्रशिक्षक रहनु भएको तालिममा मुलत सार्वजनिक समारोहमा बोल्ने तथा माइकको प्रयोग गर्ने सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

 जिल्लाका विभिन्न क्षेत्रबाट ६३ जनाको सहभागिता रहेको तालिमका सहभागीको तर्फबाट घनश्याम चौधरी र स्वस्तीका संग्रौला तथा बिर्ता मिडियाका निर्देशक एलसी श्रेष्ठले मन्तब्य अभिव्यक्त गर्नु भएको उक्त कार्यक्रममा बिर्ता मिडिया प्रालिका राज सुब्बा, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षहरु राधा सुब्बा, पार्वता खरेल विमली, रजनी बजगाई लगायतको आतिथ्य रहेको थियो ।

यसैवीच जापानमा भएको अन्तर्राष्ट्रिय जेसीजको एसिया प्यासेफिक कन्फ्रेन्समा वीरता जेसीजबाट सहभागी सात जनालाई सम्मान गरिएको छ ।  वीरता जेसीजको पहिचान र गरिमालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म बढाउन योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा निवर्तमान अध्यक्ष सञ्जु भारती, कानूनी सल्लाहकार दिवाकरलाल चौधरी, कोषाध्यक्ष जीवनकुमार खड्का, संयुक्त सचिव प्रवेश बस्नेत, जनसम्पर्क अधिकारी कुशल खतिवडा, प्रकरण निर्देशक विशाल थापा र मातृ शाखा संयोजक दिवाकर प्रसाईंलाइ कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा र वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सम्मान गर्नु भएको थियो ।

त्यस्तै गरि वीरता जेसीजले हरेक महिना प्रदान गर्ने जेसी अफ द मन्थको अवार्ड मे महिनाका लागि उपाध्यक्ष अशोक चौधरीलाई प्रदान गरिएको छ ।    वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एकजना जेसीलाई जेसी अफ द मन्थको अवार्डबाट सम्मानीत गर्ने योजना अनुरुप यसकिसिमको अर्वाड  यसअघि जेसी अफ द मन्थ फेबु्रअरी उपाध्यक्ष युवराज कुँवर, मार्चको अवार्ड कार्यकारिणी उपाध्यक्ष मिकी कार्की, अप्रिलको अवार्ड कोषाध्यक्ष जीवन खड्कालाई प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि झापाका सभापति उद्वव थापाले वर्तमान सरकारले संवैधानिक मूल्य मान्यता लत्याएर संविधानलाई चुनौति दिइरहेको बताएका छन् । त्यस्तै उहाँले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउँदै ‘समृद्धिको नाममा सरकारले महँगी र मूल्यवृद्धि गरेर जनताको ढाड भाँच्न लागिपरेको बताउँनु भयो ।

 अर्को एक फरक प्रसंगमा सभापति थापाले जेसीजले व्यक्तित्व र नेतृत्व विकासका लागि तालिम मार्फत शीप प्रदान गरेर अनुकरणीय काम गरेको बताए । उनले सिकेको शीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै शीप र दक्षता बिनाको मानिस अहिलेको समयमा काम नलाग्ने जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।