बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री ओलीको अनेक प्रश्नमा समकक्षी मोदीले दिए यस्तो जवाफ

काठमाडौ  चैत २५,   द्विपक्षीय वार्तामा प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली व्यापार सम्झौता (साफ्टा) को बुँदा पनि कार्यान्वयन नभएको हुँदा नेपाललाई अप्ठ्यारो परेको धारणा राखेका थिए । ओलीको धारणा सुनेपछि भारतीय समकक्षी नरेन्द्र मोदीको जवाफ थियो, ‘म गम्भीर छु, वाणिज्यसचिवस्तरीय बैठक बसेर सबै विषयमा समाधान खोजौं, म सम्बद्ध अधिकारीलाई निर्देश गर्छु ।’  नेपालले महाकाली सन्धिअनुरुप डेढ किलोमिटर लिंकरोड बन्न नसकेको विषय पनि राखेको थियो ।

‘२० वर्षमा डेढ किलोमिटर पनि सडक बनेको छैन भन्ने विषयले कस्तो सन्देश जान्छ होला महामहिमज्यू ?’ प्रधानमन्त्री ओलीले प्रश्न थियो । मोदीको जवाफ थियो, ‘म तुरुन्तै उत्तराखण्ड सरकारसँग कुरा गर्छु र आवश्यक निर्णय लिन्छु । तपाईले राख्नुभएको विषयमा म साँच्चै गम्भीर छु ।’

नेपाल प्रहरी एकेडेमी निर्माण नभएकोमा पनि नेपालले चासो राखेको थियो । ओलीको भनाइ थियो, ‘दैनिक २६ किलोमिटर सडक निर्माण गरिरहेको भारतले नेपालको प्रहरी एकेडेमी बनाइदिने कुरा अत्यन्तै सामान्य हो । समयलाई बाधक बन्न दिनुहुँदैन ।’ त्यसमा मोदीको जवाफ थियो, ‘गृहसचिवस्तरीय संयन्त्रलाई सक्रिय बनाएर यो परियोजना कार्यान्वयन गरौं, भारत सहयोग गर्न तयार छ ।’  प्रधानमन्त्री ओलीले नदीको प्राकृतिक बहाव रोकिँदा गरिब नेपाली डुबानमा पर्दै आएको र यसको समाधान आगामी वर्षाअघि नै गर्ने गरी पहल लिनुपर्ने बताएका थिए ।  मोदीले सम्बद्ध संयन्त्रलाई सक्रिय बनाएर त्यसको समाधान चाँडो खोज्ने प्रतिवद्धता जनाए । –नयाँ पत्रिका दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।