शनिबार, बैशाख ८, २०८१

आयोगले भन्यो – पक्राउ परेका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्नु

काठमाडौं चैत १९, राष्ट्रिय मानवअधिकार आयोगले नेपाल प्रहरीले केहि समययता नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई आफ्नो नियन्त्रणमा लिइ अवस्था तत्काल सार्वजनिक नगरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार चैत १८ गते बन्दीप्रत्यक्षीकरणको आदेशले सुनसरी जिल्ला अदालतबाट रिहा भएलगत्तै साँझ ६ः२० बजे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई जिल्ला अदालत सुनसरीको प्रवेशगेटबाटै प्रहरीले नियन्त्रणमा लिएको बुझिएको तर अवस्था सर्वाजनिक नगरिएको जनाएको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायण चिमरियासँग बुझ्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको भनी जानकारी गराइए पनि सो सम्बन्धमा झापा जिल्ला प्रहरी प्रमुख विष्णुकुमार केसीले उनीहरूलाई पक्राउ नगरेको भनी आयोगको टोलीलाई गराएको जानकारीबाट उनीहरूको अवस्था बेपत्ता रहेको जिकिर गरिएको छ ।

 त्यस्तै विज्ञप्तिमा मुलुकको संविधानले कुनै पनि व्यक्तिलाई प्रदान गरेको न्यायसम्बन्धी हकको प्रचलनमा अवरोध नगर्न, मौलिक हक प्रचलनको सुनिश्चिततासहित अदालतको आदेशको सम्मान गरी पक्राउ परेका व्यक्तिको अवस्था अविलम्ब सार्वजनिक गर्न र सोको जानकारी आयोगलाई गराउन सम्बन्धित प्रहरी कार्यालयलाई आग्रह गर्दै आयोगले व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षणको सुनिश्चितताका लागि मातहतका निकायलाई निर्देशन दिन सरकारलाई र  आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।