शनिबार, बैशाख ८, २०८१

साहित्य पढ्ने पाठक घट्दै गएकोप्रति चिन्ता व्यक्त

साहित्यकार मालिका केसरीको सुवर्णलतामाथी बहस  

काठमाडौ चैत १० साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’ बारे राजधानीमा शनिबार भएको अन्तरसंवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेपाली साहित्यमा पाठकको ध्यान एकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् ।

यद्यपी साहित्यकार केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यान आकर्षण गर्ने विस्वास उनीहरुको छ । उपन्यासकार अमर न्यौपानेले उपन्यासको भावपक्ष शसक्त भएपनि उपन्यास लामो भएको तर्क गरे । त्यस्तै साहित्यकार डा. रामप्रसाद ज्ञवालीले उपन्यास सुवर्णलतामा पाठकको ध्यान सुरुदेखि अन्त्यसम्म तान्ने तागत रहेको बताए । सुवर्णलताभित्र मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई सुन्दर ढंगले लेखक केशरीले प्रस्तुत गर्नुभएको जिकिर गर्नु भएको थियो ।

कार्यक्रममा समालोचक राम लोहनीले उपन्यास सुवर्णलता सरल भाषामा बगेको र बौद्ध दर्शनलाई समेत उतारिएकाले सबैले बुझ्नसक्ने कृति बनेको बताए । उनले भने,‘सुवर्णलतामा दुईवटा फरक कथा छ । एउटा पक्ष बर्तमान केन्द्रित छ भने अर्को बौद्धकालीन समयमा डुलेकोे छ । दुईवटा कृति समेत बन्नसक्ने कुरा एउटै कृतिमा समावेश हुनु पाठकको लागि फाइदाको विषय भएको बताए ।

उपस्थित पाठकले उपन्यास अत्यन्त उत्कृष्ठ भन्दै उपन्यासमा लेखकले बौद्धकालिन समाज र बुद्धले पत्तालगाएको ज्ञानलाई उपन्यासमा ढालेकाले उपन्यास पढ्दा बुद्धको मार्गमा स्वयं हिँड्दै गरेको अनुभुति हुने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित पाठक विजय मोक्तानका अनुसार ‘उपन्यास पढ्दा बुद्ध स्वयं नै अगाडि उभिएर प्रवचन दिईरहको अनुभूति हुनु लेखकको लेखकीय सफलता हो । लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताएका थिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे । उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।