शुक्रबार, चैत्र १६, २०८०

पत्रकार महासंघद्वारा सर्वोच्चको आदेशको स्वागत

 काठमाडौ फागुन ६,  नेपाल पत्रकार महासंघले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको स्वागत गरेको छ ।   पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारका नाममा आदेश माग गर्दै दिएको रिट निवेदनमाथि आज प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतले ‘विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका, २०६९’ अविलम्ब कार्यान्वयन गर्नु, गराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ ।  मन्त्रिपरिषद्को निर्णयबमोजिम २०६९ चैत १ गतेदेखि लागू हुने गरी सूचना तथा विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका, २०६९ जारी गरेको भए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्तिमार्फत सर्वोच्च अदालतबाट भएको उक्त फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै विज्ञप्तिमा साना लगानी तथा श्रमजीवी पत्रकारले सञ्चालन गरेका स्वरोजगारमूलक सञ्चार माध्यमको विकास र प्रवद्र्धनका लागि सरकारी विज्ञापनमा समानुपातिक पहुँच हुनुपर्दछ भन्ने मान्यता महासंघको रहेको पनि उल्लेख गरिएको छ ।