बिहिबार, बैशाख १३, २०८१

संविधानको धारा १९ बमोजिम सम्पादक वा पत्रकारलाइ पक्राउ पूर्जी नकाट्न प्रहरीलाई काउन्सिलको आग्रह

प्रस्तुत विषयमा  काउन्सिलले पत्र पठाउने र सम्बन्धित पत्रकारसँग काउन्सिलले छलफल गरेर अनुसन्धानलाई सहयोग गर्ने सहमति

काठमाडौं पुस २४ , प्रेस काउन्सिल नेपालले फौजदारी अपराधबाहेक कुनै पनि समाचारको स्रोत खुलाउने नाममा सम्पादक वा पत्रकारलाई पक्राउ पूर्जी नकाट्न नेपाल प्रहरीलाइ आग्रह गरेको छ ।  काउन्सिलका सूचना अधिकारी दिपक खनालद्दारा आज जारी विज्ञप्तिमा तत्कालीन प्रहरी नायब महानिरीक्षक एवं ललितपुरबाट नवनिर्वाचित सांसद नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कागजात कीर्ते भएको भन्ने सम्बन्धमा भइरहेको छानबिनका लागि प्रहरीले तीन अनलाइनका सम्पादकलाई उपस्थित गराउन पत्र काटेपछि काउन्सिलले सोमबार सो विषयमा नेपाल प्रहरीका सम्बन्धित अधिकृतसँग छलफल गरी यस्तो आग्ह गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा यसै प्रसंगमा आज काउन्सिलले महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुक र अनुसन्धान अधिकृत बेलबहादुर पाण्डेलाई आमन्त्रण गरी संविधानको धारा १९ बमोजिम प्रहरीले त्यसरी पक्राउ पूर्जी वा स्रोत खुलाउने आग्रहको पत्र पठाउन नमिल्ने स्पष्ट पार्दै प्रस्तुत विषयमा  काउन्सिलले पत्र पठाउने र सम्बन्धित पत्रकारसँग काउन्सिलले छलफल गरेर अनुसन्धानलाई सहयोग गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

यसैवीच नेपाल पत्रकार महासंघले नेपाल प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउद्यै समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको भन्दै आमसञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न भनेको छ ।