शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय स्वाभिमान पुनर्उत्थान तथा समृद्धिका निम्ति एकतावद्ध भई क्रियाशिल हुन पूर्वराजा ज्ञानेन्द्रको आव्हान

नयां नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तनका कारण मुलुकको सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएको पूर्व राजाको जिकिर

 काठमाडौं पुस २६ , आधूनिक स्वतन्त्र राष्ट्र नेपालको निर्माता एवं नेपाली एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवशको ऐतिहासिक अवसरमा आज पूर्व राजा ज्ञानेन्द्र शाहले समस्त नेपाली दाजूभाइ तथा दिदीबहिनीहरुमा शूभकामना व्यक्त गर्नु भएको छ ।  पूर्व राजा शाहद्दारा जारी शुभकामना सन्देसमा देश भनेकै मानवसमाजकै समष्टिगत एकता, मौलिक संस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप भएको र देश रहे मात्र हामी र हाम्रो धर्म, संस्कृति, परम्परा एवं पहिचान जिवन्त रहन सक्छ भन्दै यसलाइ बचाइराख्न आह्वान गर्नु भएको छ ।  त्यस्तै नयां नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तनका कारण मुलुकको सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएको उल्लेख गर्दै पूरानो नेपालको जगेर्ना गरेर मात्र नयां नेपाल बनाउन सकिने वास्तविकता आत्मसात गर्दै राष्ट्रिय स्वाभिमान पुनर्उत्थान तथा समृद्धिका निम्ति एकतावद्ध भई क्रियाशिल हुन आवश्यक रहेको बताउँनु भएको छ ।

साथै नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको छ। तर नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न भएका अनेकौं प्रयास अझै जारिरहेको र यसवीचमा निर्दयी कदम चाल्नेहरुलाई जनतामा आएको सचेतनाले समयानुकुल ठिक पार्दै लैजाने बताउँदै नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको बताउँनु भएको  छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।