बुधबार, बैशाख १२, २०८१

राजनीतिक शुद्धीकरणका लागि भन्दै नेताले गरे जनताको जुत्ता पोलिस

 काठमाडौं माघ १७, सधैँ व्यस्त रहने नयाँ बानेश्वरस्थित छक्कुबक्कु पार्कमा मंगलबार ‘जुत्ता पोलिस’ गर्नेहरूको संख्या ठूलो थियो । सर्वसाधारणलाई ‘जुत्ता पोलिस’ गर्न आग्रह गर्दै थिए, देशकै चर्चित राजनीतिज्ञहरू । कांग्रेस केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र धनराज गुरुङ, पूर्वसभामुख दमननाथ ढुंगाना, वरिष्ठ अधिवक्ता तथा पूर्वसांसद राधेश्याम अधिकारी, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेललगायत नेताहरू हातमा ब्रस र भुइँमा कागज राखेर लहरै बसेका थिए ।  उनीहरूले यो बाटो भएर हिँड्ने थुप्रैको ‘जुत्ता पोलिस’ गरे । राजनीतिक शुद्धीकरणका लागि प्रतीकात्मक रूपमा दबाब दिन कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले ‘जुत्ता पोलिस’ कार्यक्रम आयोजना गरेको होे ।

पूर्वसभामुख ढुंगानाको अध्यक्षतामा गठित प्रतिष्ठानले आफैँबाट राजनीतिक शुद्धीकरणको सुरुवात गर्न भन्दै यस्तो कार्यक्रम राखेको हो । कार्यक्रममा मानवअधिकारवादी, कांग्रेस कार्यकर्ता, राजनीतिक व्यक्तित्व मात्रै सहभागी भएनन्, त्यो बाटो हिँड्ने सर्वसाधारणले पनि स्वतःस्फूर्त रूपमा सहभागिता जनाए । किसुनजीजस्ता नेताको आचरण र सिद्धान्त अहिलेको पुस्तालाई बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । ‘यो सांकेतिक हो । किसुनजीजस्ता सन्त नेताको आचरण र सिद्धान्त पुस्तान्तरण गर्न प्रतीकात्मक कार्यक्रम सुरु गर्यौँ,’ प्रतिष्ठानका महासचिव विनोद भट्टराईले भने, ‘राजनीतिक शुद्धीकरणको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने अवधारणास्वरूप प्रतिष्ठानले पहिलो कार्यक्रम नै प्रतीकात्मक गर्यो ।’

आफैँ जुत्ता पोलिस गर्थे किसुनजी :  नाताले किसुनजीका भतिजा पर्ने विनोद भण्डारीले प्रधानमन्त्री छँदा किसुनजीले देखाएको आचरणबाट अहिलेको पुस्ताले सिक्नुपर्ने बताए । ‘किसुनजी आफ्नो जुत्ता आफैँ पोलिस गर्नुहुन्थ्यो । उहाँले प्रधानमन्त्री छँदा पनि आफैँ पोलिस गर्नुभयो,’ उनले भने, ‘उहाँमा नैतिकता थियो । धनसम्पत्तिको लोभ नगरी देश र जनताको सेवालाई प्राथमिकतामा राख्नुभयो ।’ प्रतिष्ठानका अध्यक्ष तथा पूर्वसभामुख दमननाथ ढुंगानाले किसुनजीले पटक–पटक प्रधानमन्त्री हुँदा पनि विपक्षीसमेतलाई औँला ठड्याउने मौका नदिएको बताए । ‘नयाँ संरचना र जनप्रतिनिधि हामीले पाएका छौँ । किसुनजीझैँ नैतिकता नै तिनको प्राण हो,’ ढुंगानाले भने । जुत्ता पोलिस गर्ने कार्यक्रममा सहभागी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले भ्रष्टाचारले राजनीतिलाई अशुद्ध बनाएको बताए ।

‘अहिले पार्टीमा भ्रष्टीकरण बढेर चुनावमा प्रतिस्पर्धा गर्नका लागि ठेकेदार र पैसावाल हुनुपर्ने बाध्यता बन्दै छ,’ भण्डारीले भने, ‘बिपीको विचार र अहिलेका डनलाई भागबन्डा, सुवर्ण शमशेरको दानवीरता र अहिलेको ठग प्रवृत्ति, किशुनजीको राष्ट्रियताप्रतिको अठोट र अहिलेको नागरिकता बेचेर खाने प्रवृत्ति, गणेशमानजीको त्याग, समर्पण र अहिलेको लुट्ने प्रवृत्तिलाई प्रतीकात्मक रूपमा देखाउन खोजेका हौँ ।’ केन्द्रीय सदस्य धनराज गुरुङले राजनीतिलाई शुद्धीकरण गर्ने उद्देश्यले सहिद दिवसको अवसर पारेर सांकेतिक कार्यक्रम सुरु गरिएको बताए ।

‘भ्रष्ट हुँदै गएको राजनीतिलाई व्यंग्य गर्न खोजेका हौँ,’ कृष्णप्रसाद भट्टराई राजनीतिक रूपमा शुद्ध र नैतिकवान् हुनुहुन्थ्यो । उहाँ आजीवन आश्रममा बस्नुभयो, त्यहीँ अन्तिम श्वास लिनुभयो । दुई–दुईपटक प्रधानमन्त्री बनेको व्यक्ति कहिल्यै लोभमा लाग्नुभएन । उहाँबाट राजनीति गर्नेले सिक्नुपर्छ भन्ने हाम्रो कार्यक्रमको सन्देश हो ,’ उनले भने ।

यसरी बन्यो योजना:  जुत्ता पोलिस कार्यक्रमको योजना पाँचखाल नगरपालिकाका मेयर तथा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका सचिव महेश खरेलले ल्याएका हुन् । उनले भट्टराईको प्रेरणाबाटै राजनीतिमा लागेको बताए । २०४७ सालमा गठित ‘बाल कांग्रेस’का संयोजक खरेलले आफूहरूलाई कार्यक्रम गर्ने रकम जुटाइदिन आग्रह गर्दै तत्कालीन प्रधानमन्त्री भट्टराईलाई आग्रह गर्न गएको घटना सम्झिए ।

खरेलका अनुसार भट्टराईले रकमको व्यवस्था गरिदिनुको साटो बालसमूहलाई सुकुमबासी बस्तीका बालबालिकालाई ट्युसन पढाउन सुझाब दिएका थिए । ‘हामीले आफैँ पढ्ने उमेरमा कसरी पढाउन सकिन्छ भनेर प्रश्न गर्यौँ रु’ २७ वर्षअघिको घटना सम्झँदै खरेलले नयाँ पत्रिकासँग भने, ‘बानेश्वर, न्युरोडजस्ता भिडभाडवाला इलाकामा जुत्ता पोलिस गर, त्यहाँबाट उठेको रकमले शिक्षकको व्यवस्था गर भनेर किसुनजीले सुझाब दिनुभयो । त्यो समयमा लाजले गर्दा सकिएन । अहिले त्यसैलाई निरन्तरता दिनका लागि कार्यक्रम गर्ने ‘कन्सेप्ट’ ल्याएँ ।’

उनले आफूलाई किशोरावस्थामै भट्टराईको भनाइ र जीवनशैलीले प्रभाव पारेकाले राजनीतिक शुद्धीकरणको प्रतीकात्मक सुरुवात गर्नका लागि यस्तो कार्यक्रमको अवधारणा ल्याएको बताए । प्रतीकात्मक रूपमा गरिएको जुत्ता पोलिसबाट उठेको रकम सामाजिक कार्यका साथै किसुनजीको सिद्धान्त प्रचारमा खर्च गरिने खरेलले जानकारी दिए ।  कार्यक्रममा झन्डै ३१ हजार रुपैयाँ उठेको उनले बताए । जुत्ता पोलिस गराएका कांग्रेसका पुराना नेता राजेन्द्र खरेलले ज्यालाका रूपमा ५ हजार रुपैयाँ र लक्ष्मी थापामगरले २ हजार रुपैयाँ दिएका थिए । नयाँपत्रिकाबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।