शुक्रबार, चैत्र १६, २०८०

प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार नेपाल प्रहरीलाई नभएको महासंघको ठहर

काठमाडौं पुस २४ , नेपाल पत्रकार महासंघले नेपाल प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघका महासचिव रमेश विष्टले आज जारी गर्नु भएको विज्ञप्तिमा प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको भन्दै आमसञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न भनेको छ ।

त्यस्तै विज्ञप्तिमा यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु-याउने महासंघको ठहर रहको भन्दै यस किसिमका घटना तत्काल रोक्न र यस्ता घटना पुनः नदोहो¥याउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । साथै प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटना नरोकिएमा महासंघ कठोर संघर्षका कदम चाल्न बाध्य हुने समेत स्पष्ट गर्न चाहन्छ भनिएको छ ।

त्यस्तै प्रस्तुत घटनाको सवामा महासंघले गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस काउन्सिल नेपाल, सूचना विभाग, नेपाल बार एसोसिएसन, नेपाल प्रहरीका अधिकारीसँग छलफल गरेको छ । यसैबीच महासंघले सञ्चार सम्वद्ध विभिन्न संस्थाहरू नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, नेपाल, अनलाइन पत्रकार संघसहितका प्रतिनिधिहरूसँग छलफल गरी यस सन्दर्भमा नेपाल सरकार, सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, मिडियाको स्रोतको गोपनियताको रक्षाका लागि संयुक्तरूपमा प्रतिवाद गर्ने निष्कर्ष निकालेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।