बुधबार, बैशाख १२, २०८१

 पुरानो शैली, स्वरुप र निर्माण सामाग्री सुनिश्चित गर्न स्थानीयको माग 

रानीपोखरी पुननिर्माण सम्बन्धी सार्वजनिक सुनुवाई

काठमाडौं /चन्द्रमणि भट्टराई/ माघ ३ ,  रानी पोखरीको पुननिर्माण अध्ययन विशेषज्ञ समितिले वुधबार राष्ट्रिय सभा गृहमा सार्वजनिक सुनुवाई गरी सुझाव संकलन गरेको छ । समितिले प्राप्त प्राथमिक सूचना र तथ्याङ्कलाई आधार मानेर स्थानीइ र अन्य सरोकार राख्ने व्यक्ति तथा संस्थाबाट सुझाव तथा प्रतिक्रियाका संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई आयोजना गरिएको समितिका सदस्य सचिव एवं महानगरका प्रमुख प्रशासकीय धनिराम शर्माले जानकारी दिनुभयो । समितिको प्रारम्भिक प्रतिवेदन प्रस्तत गर्दै संयोजक विष्णुराज कार्कीले महानगरलाई ३ चरणमा काम गर्न सुझाव दिने तयारी रहेको जानकारी दिनुभयो । सुनुवाईमा संयोजकले अहिलेसम्म प्राप्त सूचना र महानगरलाई प्रदान गर्न खोजिएको शिफारिसका सम्बन्धमा जानकारी गराएपछि स्थानीय तथा सरोकारवाला २५ जना सहभागीले आफ्ना धारणा, गुनासा तथा सुझाव दिनुभएको थियो ।

सुझाव दिने अधिकांशले रानीपोखरीको मौलिकता, यसको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षमा भएको कमजोरी औल्याउँदै सम्पदालाई स्थानीय सम्बन्धबाट नछुटाउन आग्रह गरेका थिए । उनीहरुको भनाइ थियो — काठमाडौं भएका सम्पदामा राज्यको लगानी छैन, यिनीहरु पहिले पनि नागरिकले बनाएका हुन् अव पनि बनाउन सक्छन् ।   सहभागी केही वक्ताले खुल्ला स्थानको संरक्षणमा महानगरले बारम्बार त्रुटी गरिरहेको आरोप लगाए । उनीहरुको भनाइ थियो — खुल्ला स्थानको स्वामित्व स्थानीय सरकारमा छैन, उनीहरु त खुल्ला स्थानका संरक्षक मात्र हुन् । सहभागी केही वक्ताहरुले महानगर व्यापारिक निकाय नभएकोले आम्दानीभन्दा नागरिक लाभका विषयमा चासो राख्नु पर्ने सुझाव पनि दिए ।

रानी पोखरीको नाम, त्यहाँ प्राप्त झङ्केश्वरी देवीको मूर्ति र यसको संरक्षण, नजिकै निर्माण भएका ठूला ठूला संरचना, गहिरो गरी खनिएका ट्युवेल, नासिएका ढुङ्गेधारा, पोखरीको निर्माणसँग स्थानीय नेवार समुदायको सम्बन्ध, चाँगु नारायणबाट ल्याइने कलश यात्राको निरन्तरता, सोह्र हाते गणेशसँग स्थानीय आस्था, पानीको वितरणको सञ्जालका विषयमा पनि स्थानीयले महानगरको ध्यानाकर्षण गराए । उनीहरुको भनाइ थियो — खवरदारी गरे मात्र काम बन्ने परिपाटीको अन्त्य हुनुपर्छ ।

समितिले महानगरलाई दिन लागेको शिफारिस — प्रारम्भिक प्रतिवेदनमा

(क) पहिलो चरण

  • पोखरीको विभिन्न अवस्था र स्थितिलाई पत्ता लगाई परम्परागत स्वरुपमा जीर्णोद्धार गर्न थप पुरातात्विक अध्ययन एवं अनुसंधान कार्य अघि बढाउने ।
  • पोखरीको पानी स्थायित्वका लागि ज्थमचययिनष्कत को सेवा उपलब्ध गर्नुपर्ने ।
    अनुसन्धान एवं पानीको स्थायित्वको लागि उपलब्ध हुने सुझाबको आधारमा पोखरी जीर्णोद्धार गर्ने लागत अनुमान र कार्ययोजना बनाई कार्यारम्भ गराउनु पर्ने ।
  • पुरातात्विक उत्खननबाट पोखरीमा परम्परागत रुपमा संचालन गरिएका पानीका स्रोतहरुको अनुसन्धान गरिनु पर्ने र पोखरीमा पानी प्रवेश गराउने क्ष्लभित र इगतभित को खोजी गर्ने ।
  • पोखरीको मौलिक स्वरुप र संबेदनशीलतालाई प्रतिकुल प्रभाव पर्ने गरी निर्माण भएका संरचना र कंक्रिट
  • रिटेनिङ्गवालको संरचना हटाई परम्परागत स्वरुप बमोजिमको कार्यारम्भ गर्नुपर्ने ।
  • पोखरीको केन्द्रविन्दुमा रहेको बालगोपालेश्वरको जगको अवस्थिति पत्ता लगाउन पुरातात्विक उत्खनन् गर्नुपर्ने ।
  • बालगोपालेश्वर मन्दिरसम्म जाने बाटोको रुपमा निर्माण भएको पुलको जीर्णोद्धार गर्नुका साथै उक्त पुलमा लगाईएको बार परम्परागत शैलीमा निर्माण गर्नुपर्ने र पुलको फाउण्डेसन एवं सोमाथिको गाह्रो जीर्णोद्धार गर्नुपर्ने ।
  • बालगोपालेश्वर मन्दिरमा राखिएका मकराकृति धाराहरु मध्ये नयाँ स्वरुपमा निर्माण गरिएका धाराहरु हटाई एकरुपता त्याउन पुरानो बमोजिमको शैलीमा निर्माण गरी जडान गर्नुपर्ने ।
  • पोखरीको जीर्णोद्धार कार्य संचालन गर्न आवश्यक परिमाणमा प्रताप मल्लकालिन गुणस्तरका ईंट्टाहरुको निर्माण ब्यबस्थापन कार्य अगाडि बढाउनु पर्ने ।
  • रानीपोखरीको समग्र जीर्णोद्धार गर्ने ड्रइङ, डिजाईन गरी सो अनुरुप गर्नुपर्ने ।
  • रानीपोखरीमा जीर्णोद्धार गर्ने कार्य संवद्द विज्ञ समुहको अनुगमन÷सुपरीवोकमा गर्न उपयुक्त हुने÷गराउनुपर्ने

(ख) दोश्रो चरण

  • रानीपोखरीको ऐतिहासिक एवं पुरातात्विक स्वरुप नासिने गरी निर्माण भएका संरचनाहरु हटाई पुरानै स्वरुपमा निर्माण गर्ने ।
  • हाल पोखरीको पूर्व  र दक्षिणतर्फको आधाभागसम्म निर्माण गर्दा काटिएको पोखरीको डिललाई बचाउने कार्य गर्ने ।
    पोखरीको संकलित पानी स्थायित्वका लागि आवश्यक प्राविधिक उपायहरु अवलम्बन गर्नुपर्ने ।

(ग) तेस्रो चरण

  • जीर्णोद्धार पश्चात् पोखरीको पुरातात्विक एवं ऐतिहासिक वातावरण कायम राखी सौंन्दर्यीकरण  गर्ने ।
  • रानीपोखरी स्थित चारैकुनामा निर्मित मन्दिरहरुलाई रानीपोखरीको हाताभित्र पार्ने र तिनको आवश्यक जीर्णोद्धार गरी परम्परागत सांस्कृतिक एवं धार्मिक कृयाकलापहरु सुचारु गर्ने ।
  • रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा संचालन हुने बार्षिक भाईटीका जस्ता कार्यक्रमहरुलाई जीवन्तता प्रदान गर्ने ।
  • रानीपोखरीको उत्तरतर्फ निर्माण भएका भवनहरु हटाई परम्परागत रुपमा संचालन भई आएको चांगुनारायणको कलश यात्रा विश्रामस्थल भएको ठाउंको सम्पदालाई मर्मत संभार गरी सोको सांस्कृतिक महत्वलाई अभिबृद्धि गर्ने ।
  • प्रताप मल्ल सहित दुई छोरा आरोहण भएको हात्तीमा पोतिएको सेतो चुना हटाई मौलिक स्वरुपमा कायम गर्ने ।
  • उक्त हात्तीको पूर्वतर्फ निर्मित शिव मन्दिरको सुधार एवं नित्यपूजा संचालनमा ल्याउने ।
  • वर्षादको पानी पोखरीमा संग्रह गर्ने प्रविधि सहितको स्रोत व्यवस्थापन गर्ने ।
  • नगरपालीकाद्वारा निर्मित भोटाहिटीको सबवेमा प्राप्तभएको पानीको स्रोत पोखरीमा परिचालन गर्ने सम्बन्धमा अनुसन्धान गर्ने ।

(घ) दीर्घकालिन कार्यहरु

  • रानीपोखरीको पानी सुक्नबाट जोगाउन — रानीपोखरी हाल बाटोको सतहभन्दा १९ फिट तल रहेको हुंदा सोभन्दा मुनीको सतहमा रहेको पानी सुक्नबाट जोगाउन अन्य कृतिम माध्यमद्वारा कम्तिमा १००० मिटर वरपर डिप ट््युवेल जस्ता पानी निकाल्ने प्रविधिलाई प्रयोगमा निषेध लगाउने र हाल भैरहेका त्यस्ता कार्यहरु निरुत्साही गर्न काठमाडौं महानगरपालिकाले नीति बनाउने ।
  • पोखरीमा जमेको पानी शुद्धताका लागि समय—समयमा पानी परिक्षण स्वच्छताका लागि अन्य आवश्यक उपायहरुका लागि विशेषज्ञहरुको राय परामर्श अनुसार कार्य गर्ने ।
  • पोखरीको सांस्कृतिक एवं प्राकृतिक वातावरण कायम राख्ने कार्यहरु निरन्तर रुपमा गर्ने गराउने ।
  • पोखरीको पानीको प्राकृति शुद्धता कायम राख्न गरिने माछापालन तथा राजाहांस पाल्ने कार्यलाई निरन्तरता दिने ।
  • पोखरीको पानी तथा वरपरीको बगैंचाको सुन्दरता कायम राख्न दैनिक सरसफाई व्यवस्थापन गर्ने ।
  • रानीपोखरीको व्यवस्थापन कार्यका लागि नागरिकको पहुँचलाई सुगम तुल्याई यस पोखरीको दीगो व्यवस्थापनका लागि कायम राख्न आम्दानीको स्रोत व्यवस्थापन गर्ने ।

रानी पोखरीलाई मल्लकालीन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग, अध्ययन गर्न माघ १३ गते महानगरले, पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक र महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा सदस्य सचिव रहेको ११ सदस्यीय विशेषज्ञ समिति गठन गरेको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको सम्पदा महाशाखा प्रमुख, राजु मानन्धर, पुरातत्व विभागका स्ट्रक्चर इञ्जिनियर, पुरुषोत्तम डंगोल, डिभिजनल इञ्जिनियर, सम्पत घिमिरे, पुरातत्व अधिकृत, रामबहादुर कुँवर, महानगरको वडा नं. २७ का वडाध्यक्ष, चिनियाँमान बज्राचार्य, २८ का वडाध्यक्ष, भाइराम खड्गी, संस्कृतिविद् सुदर्शनराज तिवारी, काँशीनाथ टमोट र सहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक सूर्यभक्त साङ्गाछे सदस्य रहेको समितिले सार्वजनिक सुनुवाई कार्यक्रममा आएका थप अध्ययन, सुझाव, गुनासा तथा प्रतिक्रिया समावेश गरेर महानगरलाई प्रतिवेदन वुझाउने तयारी गरेको छ ।  समितिले प्रतिवेदन बुझाएर महानगरले अर्को निर्णय नगरेसम्मकालागि पुननिर्माणको काम रोकिएको छ ।