शनिबार, बैशाख ८, २०८१

धरान उपमहानगरपालिकामा मेयर सावको रजगज, आफूखुशी नेताका श्रीमतीलाई जागिर

धरान पुस २६, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले विनाप्रतिश्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन् । कर्मचारी आवश्यक परे पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लिएर बढी अंक ल्याउने उम्मेदवारलाई मात्र नियुक्त गर्ने प्रावधान छ । तर, मेयरले आफूखुशी नेताका श्रीमतीलाई जागिर दिलाएका हुन् ।

जागिर पाउनेमा एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राईकी श्रीमती विजयकला राई र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौला छन् । उनीहरुलाई वडा नम्बर १० स्थित खानेपानीको बिल काउन्टरमा खटाइएको छ ।

कांग्रेस धरानका सभापति तिलक राईले खुला प्रतिश्पर्धाविना नेताका श्रीमतीलाई जागिर दिँदा गलत सन्देश गएकाले उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने बताए । एमाले क्षेत्र नम्बर १ का अध्यक्ष डम्बर गुरुङले पनि नेताका श्रीमतीलाई जागिर लगाएको विषयमा असन्तुष्टि जनाए ।

उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बोर्ड बैठकको निर्णयअनुसार दुवै जनालाई खरिदार पदमा ६ महिनाका लागि करारमा नियुक्त गरिएको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।