बुधबार, बैशाख १२, २०८१

दाउन्नेको ओरालोमा सवारी साधन एकापसमा ठक्कर खाँदा एकको मृत्यु ,सात घाइते

नवलपरासी पुस २५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।  घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु३त ४५०० नम्बरको ट्र्याक्टरलाई ना४ख ६६९० नम्बरको ट्रकले ठक्कर दिँदा ट्र्याक्टरमा सवार सातजना घाइते भएका हुन् ।

दुर्घटनामा विनयी त्रिवेणी–२ निवासी ५० वर्षीया भगवती कार्कीको उपचारको क्रममा निधन भएको दुम्किवास प्रहरीले जनाएको छ । ट्रक र ट्र्याक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना३ख ५९३६ ट्रक, लु३च ५३२२ नम्बरको जिप र ना६ख ५४२९ नम्बरको ट्रक पनि ठक्कर खाएका थिए ।  दुर्घटनामा परी विनयी त्रिवेणी–२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाया, ४० वर्षीया मीना रोकाया, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीय जितकुमार पौडेल घाइते भएका छन् । घाँसदाउरा गरेर ट्र्याक्टरमा दुम्किवासतर्फ फर्कदै गरेका महिला तथा पुरुष दुर्घटनामा परेका हुन् । imagekhabar.com बाट

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।