शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभाको निर्वाचनमा मिलेर जान राष्ट्रपतिको आव्हान

काठमाडौ पुस ९,  राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति कार्यालयमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग विशेष भेटवार्ता गर्नु भएको छ । भेटवार्ताको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरूबीच सहमति र सहकार्य जरुरी रहेको बताउँदै संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरू मिलेर जानका लागि आह्वान गर्नु भएको छ।

राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा दलबीच सहमति हुन नसकिरहेको अवस्थामा राष्ट्रियसभाको निर्वाचनका लागि दलहरू मिल्नुको विकल्प नभएको जनाउ दिनु भएको राष्ट्रपतिलाई उद्धत गर्दै राष्ट्रपति कार्यालयले जनाएको छ ।

अध्यादेश चाँडो स्वीकृत नभए आन्दोलनमा  होमिने नेविसंघको चेतावनी

यसैवीच नेपाली काँग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै आज राजधानीमा दबाबमूलक पदयात्रा निकालेको छ ।

नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो ।  कोणसभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले,उपाध्यक्ष रामप्रसाद अधिकारी लगायतका वक्ताले सम्बोधन गर्दै अध्यादेश तत्काल स्वीकृत नगरे सोमबारदेखि देशभर आन्दोलन गरिने चेतावनी दिएका छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।