बिहिबार, चैत्र १५, २०८०

आज मध्यरातबाट निर्वाचनको मौन अवधि सुरु ,निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक परे गोली हान्न समेत अधिकार प्रत्यायोजन

 काठमाडौं मंसिर १८, मंसिर २१ हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसारका लागि आज अन्तिम दिन हो । राजनीतिक दल र विभिन्न उम्मेदवारले आज मध्यरात १२ बजेसम्म प्रचार गर्न पाउने छन् ।  मध्यरात १२ बजेपछि मौन अवधि शुरु हुनेछ । मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा पनि प्रचार गर्न पाइने छैन ।

यता, निर्वाचन आयोगले भने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सबैलाई सचेत पनि गराएको छ । ४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ तथा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन् ।

यस चरणमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले भाग लिदैंछन् । सरकारले भने निर्वाचनका समयमा गम्भीर सुरक्षा खतरा देखिएमा कडा कारवाही गर्न सुरक्षाकर्मीलाई अख्तियारी दिएको छ । एकपछि अर्को गर्दै लगातार बम विष्फोट र आक्रमणका घटना नरोकिएपछि सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिइएको गृहमन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।