बुधबार, बैशाख १२, २०८१

सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको एमालेका आशंका

 काठमाडौ कार्तिक २९, नेकपा एमालेले आफ्ना उम्मेदवारमाथि लक्ष्य गरी आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाउँदै उम्मेदवारहरूलाई सुरक्षा दिन माग गरेको छ । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारमा रहेका गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेकाले सुरक्षा माग गरेको प्रचार कमिटीका प्रवक्ता विष्णु रिमालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा पछिल्लो समय पार्टीका पूर्वमन्त्री तथा भोजपुर– १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान सांघातिक आक्रमण भएको तथा सुनसरी– ३ का उम्मेदवार तथा केन्द्रीय सदस्य भगवती चौधरीलाई परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको जनाइएको छ ।

साथै यसवीचमा भएको आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफैँ घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ भन्दै विज्ञप्तिमा अगाडि सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको आभाष पछिल्लो घटना क्रमले देखाएको उल्लेख गर्दै चुनावी प्रचारमा हिँड्ने कार्यकर्ता र सहयोगीलाई धम्क्याउने काम स्वच्छ र निष्पक्ष निर्वाचन हुन नदिने श्रृङ्खलावद्ध योजनाअन्तर्गत भएको हाम्रो बुझाइ रहेको छ भन्दै हामी यस्ता अराजनीतिक काम तत्काल बन्द गर्नका लागि समयमै सचेत गराउन चाहन्छौं भनिएको छ । ।