शनिबार, बैशाख ८, २०८१

विप्लवका जोकोही समर्थकलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं कार्तिक २३, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मुलुकभरका स्थानीय तहका पदाधिकारी तथा उम्मेदवारलाई धम्की दिदैं चन्दा असुली थालेका छन् । पछिल्लो समय उनीहरुले मतदातालाई समेत निसानामा पार्ने रणनीति बनाएका छन् । विप्लव कार्यकर्ताले मतदातालाई मतदानमा अवरोध गर्ने, मतदानस्थल वरपर विस्फोटक पदार्थ राखेर आतंक मच्चाउने र व्यक्तिगत रुपमा मतदातालाई धम्क्याउने रणनीति बनाएको स्रोतले बताएको छ ।

उनीहरुले स्थानीय तहका पदाधिकारी र उम्मेदवारलाई निर्वाचन वहिष्कार गर्ने आफ्नो पार्टीको नीतिलाई सहयोग गर्न भन्दै पत्र लेखेका छन् । तर, पत्रमा चन्दा दिनुपर्ने भने उल्लेख छैन ।  गृहमन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइए तत्काल कारवाही गर्न निर्देशन दिइएको खवर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित रहेको छ ।