भक्तपुर मंसिर, ४ मानवीय आस्था नेपालले निर्वाचनलाई लक्षित गरी कुनै कार्यक्रम नगरेको स्पष्ट गरेको छ । केही दिन अघि केही राजनीतिक पार्टीका नेताले मानवीय आस्था नेपालले निर्वाचनलाई केन्द्रीत गरी कार्यक्रम ल्याएर निर्वाचन आचारसंहित विपरित काम गरेको आरोप लगाएपछि मानवीय आस्था नेपालले निर्वाचन लक्षित कुनै कार्यक्रम नगरिएको स्पष्ट पारेको हो ।
रफत सञ्चार क्बलद्दारा आज आयोजित अन्तरसंवाद कार्यक्रममा मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितले मानवीय आस्था नेपालले २०७२ सालको भूकम्पपछि भूकम्प पीडित लगायतका समाजका विपन्न व्यक्तिलाई राहत र छात्रवृत्ति प्रदान गर्दै आएको बताए । मानवीय आस्था नेपालको नियमित कार्यक्रम अन्तर्गत नै कार्यक्रम सञ्चालन हुँदै आएको यसलाई निर्वाचनसँग नजोड्न सबैमा आग्रह गरेका छन् ।
मानवीय आस्था नेपालका उपाध्यक्ष उमेश बस्नेतले भूकम्पपछि भक्तपुरमा २७ सय भूकम्प पीडितलाई अस्थायी टहरा, भक्तपुरका नेवार समुदाययलाई गाई जात्रा सञ्चालनका लागि प्रति परिवार पाँच हजार नगद प्रदान गरेको बताए । उनका अनुसार साथै २३० जना विद्यार्थीहरुलाई १४ सय ५० का दरले छात्रवृत्ति, विपन्न समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउन सिलाई, बुनाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उनले मानवीय आस्था नेपालको निर्वाचन लक्षित कार्यक्रम नभई नियमित कार्यक्रम भएकाले यसलाई नकारात्मक अर्थमा नबुझ्न सबैलाई आग्रह गरेका छन् । २०७२ सालको भूकम्प गएपछि भक्तपुरमा मानवीय सेवा गर्ने अभिप्रायले मानवीय आस्था नेपाल नामक गैरसरकारी संस्था स्थापना भएको हो ।