शुक्रबार, चैत्र १६, २०८०

छिटफुट अवरोधका बाबजुद पनि पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न : गृह मन्त्रालय

काठमाडौ मंसिर १०, आज प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन अन्र्तगत ३२ जिल्लामा भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको गृह मन्त्रालयले जनाएको छ ।   मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीद्वारा आज साँझ जारी विज्ञप्तिमा पहिलो चरणको निर्वाचन अत्यन्त उल्लासपूर्ण र शान्तिपूर्ण वातावरणमा आममतदाताको सहभागितामा सम्पन्न भएको उल्लेख गर्दै निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको र मतदानस्थलबाट जिल्ला सदरमुकामसम्म सुरक्षित साथ मतपेटिका ढुवानीको कार्य भइरहेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा भौगोलिक विकटता, मौसमी अवस्था र केही निर्वाचन विरोधी तत्वको छिटफुट अवरोधका बाबजुद निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, निर्भयका साथ उत्साहजनक सहभागितामा सम्पन्न हुनु संघीयता संस्थागत गर्ने एक महत्वपूर्ण उपलब्धि भएको जनाउँदै मन्त्रालयले पहिलो चरणको निर्वाचनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यही मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा समेत यस्तै सहयोग, समन्वय र सहभागिताका लागि सबै पक्षमा आह्वान गरेको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सुरक्षा योजना निर्माण गरी प्रभावकारी र समन्वयात्मकरुपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।