मङ्लबार, बैशाख ११, २०८१

पूर्वराजाद्दारा अभिव्यक्त विचार स्वागतयोग्य : ॐकार भोलन्टियर्स

 कठमाडौं कार्तिक ७ , पूर्वराजा ज्ञानेन्द्रले भाइटिकाको सन्दर्भमा दिनुभएको अभिव्यक्तिको हिन्दु ॐकार भोलन्टियर्सले एक विज्ञप्तिमार्फत स्वागत गरेको छ । भोलन्टियर्सका केन्द्रीय अध्यक्ष पदमराज पाण्डेले जारी गर्नु भएको विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्र शाहल अभिव्यक्त विचार स्वागतपूर्ण रहेको मनन् गर्दै सो संस्थाले पूर्वराजाको अभिव्यक्तिको स्वागत गरेको उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा राजनीतिक परिवर्तनको नाममा हुँदै आएको अराष्ट्रिय तत्त्वको चलखेल एवं हस्तक्षेपले नेपाली राष्ट्रियता र नागरिकहरूको आपसि सद्भावमा स्खलन ल्याई क्रमशः नेपाल र नेपालीलाई कमजोर बनाउने कार्य भइरहेको उल्लेख गर्दै नेपाली भूमिलाई गुलाम बनाउने षड्यन्त्रका गतिविधि दिनप्रतिदिन बढ्दै गएको, राजनीति पार्टीका नेतृत्त्वपँक्ति मातृभूमि नेपाल माथि रचिएको राष्ट्रघातको चक्रव्यूहको खलानयक बन्दै अराष्ट्रिय तत्त्वका मतियार भई क्षणिक स्वार्थमा पराईलाई देश सुम्पिन सौदाबाजि गरिरहेको, बिभिन्न बहानामा देश र राज्यलाई भागबण्डा लगाउने तथा सत्ताको दुरुपयोग गर्ने नीयतका कुकर्महरू छरपष्ट रूपमा देखिइरहेको कुरा उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा को अन्त्यमा अब यो घडिमा पनि नेपाली नागरिक चुपलागेर बस्ने हो भने भविष्यमा पछुताउनुको शिवाय अरु केही उपाय नदेखिने भएकोले समयमै सबै नेपाली नागरिकले वास्तविकता बुझेर आ–आफ्नो स्थानबाट कर्तव्यबोध गर्नुपर्ने स्थिति आएको कुरा उल्लेख गरिएको छ ।