शनिबार, बैशाख ८, २०८१

कडा सुरक्षा घेरावीच आजबाट समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाई हुँदै

काठमाडौ असोज १७, निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि शुरु गर्ने भएको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगले जनाएको छ ।  आसन्न निर्वाचनबाटप्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक प्रणालीबाट २२९ जना चयन हुनेछ । समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै एक करोड ८० लाख मतपत्र भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा कडा सुरक्षा घेरावीच हुने जनाउँदै छपाइ हँने मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहने आयोगले जनाएको छ ।

 त्यस्तै आयोगले समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन गरिसकेको जनाउँदै समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७, प्रदेश नं २ र ३ मा ८६–८६, प्रदेश नं ४ र ६ मा ८२–८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।    आयोगद्दारा प्रकाशित निर्वाचन कार्यतालिका अनुसार समानुपातिकतर्फको मतपत्रको छपाइ आगामी कात्तिक ८ गतेभित्र र त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्रको छपाइको काम शुरु गर्ने रहेको  छ ।