बिहिबार, चैत्र १५, २०८०

एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कार्की र पोखरेललाइ

काठमाडौं असोज २० , गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र नेपाल पत्रकार महासंघ युके शाखाद्वारा संयुक्त रुपमा स्थापित १ लाख १ हजार रुपियाँ राशीको ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पत्रकारद्वय होम कार्की (नेपाल) र नविन पोखरेल (बेलायत) लाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहेको छनौट समितिले पत्रकार कार्की र पोखरेललाई संयुक्तरुपमा सो पुरस्कारका लागि छनौट गरेको हो । कान्तिपुर दैनिकमा आवद्ध कार्की लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा रिपोर्टिङ गर्दै आएका छन् भने वीनेपाली डटकमका प्रधानसम्पादक पोखरेलले एक दशकदेखि बेलायतका नेपालीका बारेमा रिपोर्टिङ गर्दै आएका छन् ।
प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएन विश्व सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिन्छ । पुरस्कार अक्टोबर १४–१७ तारिखमा काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा प्रदान गरिने महासंघका महासचिव रमेस विष्टद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।