बिहिबार, बैशाख १३, २०८१

आसन्न निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७३१ मतदातालाइ मताधिकार

काठमाडौ असोज १८, निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको जनाएको छ ।   मंगलवार प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले उक्त निर्वाचनका लागि तयार गरिएको अन्तिम मतदाता सङ्ख्या स्वीकृत गरेको हो ।  स्वीकृत मतदाता नामावलीअनुसार पुरुष मतदाताको सङ्ख्या ७७ लाख ७६ हजार ४९६ छ भने महिला मतदाताको सङ्ख्या ७६ लाख ५१ हजार ६५ रहेको छ साथै तेस्रोलिङ्गी मतदाताको सङ्ख्या १७० रहेको आयोगले जनाएको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्रदेश १ मा २९ लाख ९३ हजार ६६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ म्तदाताको नामावली स्वीकृत भएको जनाउँदै निर्वाचन मिति घोषणा भएको दिन अर्थात् भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको उल्लेख गरिएको छ ।