शुक्रबार, चैत्र १६, २०८०

मेक्सिकोमा शक्तिशाली भूकम्प , एक सय भन्दा बढी मानिसको मृत्यु

एजेन्सी असोज ४,  मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म एक सय भन्दा बढी मानिसको ज्यान गएको पुष्टि भएको मेक्सिकोका सरकारी अधिकारीले बताएका छन् । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुर्‍याएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको समाचार एजेन्सीहरुले जनाएको छ ।

समाचार एजेन्सीकाअनुसार भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ । सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ९० जनाको ज्यान गएको थियो । यो राजधानी मेक्सिको सिटीबाट एक सय २० किलोमिटर पर पर्छ । भूकम्पका कारण अहिलेसम्म ज्यान गुमाएका मध्ये ५४ जना मोरेलोस राज्यका छन् । यस्तै पोएब्लामा २६ जनाको ज्यान गएको छ । यस्तै मेक्सिको सिटीमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । १० हजार भन्दा बढी मानिसको ज्यान जाने गरी ३२ वर्षअघि गएको भूकम्पको वर्षगाठ मै भूकम्प गएको जनाएको छ । फोटो: APF