बिहिबार, चैत्र १५, २०८०

भ्रष्ट्राचारीलाई सरकारले नै प्रोत्साहित गरिरहेको नेता पाण्डेको आरोप

भक्तपुर भाद्र २१,  नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपालमा तस्करी र भ्रष्ट्राचारलाई सरकारले नै प्रोत्साहित गरिरहेको बताएका छन् ।  रफत सञ्चार क्लबद्दारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पाण्डेले सरकारले तत्काल भ्रष्ट्राचार र तस्करी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनु भयो । सरकारले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायलाई सहयोग नगरेको कारण नेपालमा तस्करी र  भ्रष्ट्राचार मौलाउँदै गएको उहाँले बताउनुभयो ।

उहाँले नेकपा एमालेले भ्रष्ट्राचारलाई प्रश्रय नदिने र भ्रष्ट्राचार गरेकोलाई नछोड्ने बताउँदै इतिहासमा एमालेका नेतामाथि भ्रष्ट्राचारको दाग नलागेको बताउनु भयो ।
उहाँले नेकपा एमाले नै नेपाली जनताको सहयोगी भएका कारण स्थानीय तहको तेस्रो चरणको निर्वाचनका साथै प्रदेश र संसदको निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो । तीनै तहका निर्वाचनका जीत हासिल गर्ने दाबी गर्दै उहाँले आगामी मंसिरको अन्तिम साता नेकपा एमालेको बहुमतको सरकार निर्माण हुने ठोकुवा गर्नुभएको छ । नेकपा एमालेका बाहेकका अरु राजनीतिक दलहरु नेपालको समृद्धि र विकासमा उदासिन रहेको बताउँदै उहाँले नेपालको समृद्धिका लागी नेकपा एमाले नै पहिलो शक्ति भएको बताउनुभयो । उहाँले नेपालको विकासमा काँग्रेस नै बाधक रहेको बताउनु भएको छ । बैदेशिक चलखेलकै कारण नेपालमा तत्कालिन सरकारले ल्याएका विकासका कार्यक्रम अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकि थन्किरहेको बताउनुभयो ।