बिहिबार, बैशाख १३, २०८१

बालमैत्री बनाउने धुन

काठमाडौ असोज ८ ,  दीपक अर्याल/चौतारा

बाल अधिकारलाई प्रबद्र्धन नगरी कुनै क्षेत्रको विकासको कल्पना गर्न नसकिने भएकाले २०७५ पौष सम्ममा बालमैत्री घोषणा गर्ने गरी चौतारा साँगाचोकगढी नगरपालिकामा काम भईरहेको छ । नगरपालिकाका प्रमुख (मेयर) अमानसिंह तामाङकाअनुसार बालबालिका नै भोलिका यो देश चलाउँने नागरिक भएको हुँदा नगरपालिकाको नीति, संरचना तथा लगानीलाई बालमैत्री बनाउन यो अभियान चलाईएको हो । ‘सिन्धुपाल्चोक आफैमा भूकम्प प्रभावित क्षेत्र हो । हाम्रा संरचनाहरू सबै ध्वस्त भएका थिए । अब पुननिर्माण जोडतोडका साथ अघि बढ्दैछ । यस क्रममा हामीले सबै संरचना बालमैत्री, अपाङ्गमैत्री बनाउने भनेका छौँ । केही विद्यालय, स्वास्थ्यचौकी त बनिसकेका छन् ।’ नगर प्रमुख तामाङले अगाडि भने, ‘शिक्षाका मूलधारबाट बिमुख बालबालिकालाई नगरपालिकाको बजेटले सम्बोधन गरी सकेको छ । नगर सभाले पनि बालमैत्री अभियानलाई अनुमोदन गरी सकेको छ । बालभेलाबाट आएका योजनालाई नै सभाले अनुमोदन गरेको छ । यसकारण Captureलक्ष्यबमोजिम नै नगरलाई बालमैत्री बनाउने छौँ ।’
चौतार साँगाचोक गढी नगरपालिका स्थानीय तहको पुनर्संरचनापश्चात् साविक स्याउले, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठूलोसिरुवारी गाविसहरू चौतारा नगरपालिकामा गाँभिएर बनेको हो । करीब ४७ हजार जनसंख्या भएको यस नगरपालिकाको क्षेत्रफल १६५।२५ बर्ग किलोमिटर रहेको छ । साविक चौतारा नगरपालिका र ठूलो सिरुवारीबाहेक अन्य वडामा बालमैत्री अभियान चलेका छैनन् । यस्तो चुनौतिका बीच पनि यस नगरपालिकालाई बालमैत्री बनाउने अभियान जारी रहेको छ ।

२०७२ साल वैशाख १२ र त्यसपछि गएका सयौं पराकम्पले देशका ३१ जिल्लाहरू प्रभावित बनेका थिए । त्यसमध्ये पटक पटकको पराकम्पको इपिसेन्टर परेको सिन्धुपाल्चोक उच्च प्रभावितमा पर्दछ । सरकारी तथ्यांकअनुसार भूकम्पका कारण देशभरमा ५ लाख ३६ हजार ९४८ घर ध्वस्त भएका थिए । यस क्रममा ८,७९० जना मानिसको मृत्यु भएको र करिव २२,३०० घाइते भएका थिए । जसमध्ये ११ लाख २१ हजार ८ बालबालिका प्रभावित भए । भूकम्पले धेरै प्रभावित बनाउने १४ जिल्लामा बाबु आमा दुबै गुमाउने बालबालिकाको संख्या १७६, आमा गुमाएका ८६५, बाबु गुमाएका ९७२ छन् । ती १४ जिल्लामा २७३७ जना बालबालिकाले ज्यान गुमाएका थिए, २१०७ जना घाइते भएका थिए ।

तथ्यांकअनुसार सिन्धुपाल्चोकमा मात्र १ लाख ३३ हजार ३ सय ७५ जना बालबालिका प्रभावित भएका थिए । भूकम्पका कारण निजी तथा सार्वजनिक घरहरू, विद्यालयहरू, स्वास्थ्य केन्द्रहरू र अन्य सार्वजनिक र निजी संरचनाहरू, तथा धार्मिक र सांस्कृतिक धरोहरहरूलगायत हजारौं भवनहरू ध्वस्त वा क्षतिग्रस्त भएका थिए । ती सबै संरचना हाल पुननिर्माणका क्रममा छन् । त्यस क्षेत्रका बासिन्दाहरू भूकम्पपछि अस्थायी बासस्थानमा बसिरहेका छन् र अहिले पनि उनीहरू बिभिन्न समस्याबाट गुज्रीरहेका छन् । यिनै समस्यालाई ख्याल गरेर अब बन्ने सबै संरचना बालमैत्री बनाउने अभियान चौताराले चलाएको दाबी अधिकारीहरूको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत उमाकान्त अधिकारीले पनि संविधान कार्यन्वयन गर्ने सिलसिलामा बाल अधिकार संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको हुँदा नगरपालिकाको बोर्ड र सभा संवेदनशील भएको दाबी गर्छन् । २०७४ असार २८ गते सम्पन्न पहिलो नगरसभाले बालअधिकारसँग सम्बन्धीत स्वास्थ्य, शिक्षा, सरसफाई तथा खानेपानीका लागि बजेट विनियोजन भएको जानकारी दिँदै लैंगिक हिंसा, छुवाछुत, बाल संरक्षण, दाइजो तथा बोक्सी प्रथा बिरुद्ध पनि निर्वाचित पदाधिकारीहरूको ध्यान गएको छ ।

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत राजुभाई श्रेष्ठले अनुसार जिल्ला समन्वय समितिको काम समन्वय र अनुगमन गर्ने भएकाले यस बमोजिम निर्वाचित प्रतिनिधिहरूबाट कार्ययोजनासहित अगाडि बढ्ने जानकारी दिए ।   बाल संरक्षण समितिका नातीबाबु धितालले बालबालिकाका आवाज स्थानीय तहले सम्बोधन गर्नु पर्ने भएकोले दिगो रुपमा कार्यक्रम ल्याउन सुझाव दिए । गैसस महासंघका पूर्व अध्यक्ष सोम साप्कोटाले बालबालिकाको सवाल मानवअधिकारसँग सम्बन्धीत भएकाले संविधानअनुसार स्थानीय तहको काम, कर्तव्य र अधिकारसँग जोडिएको विचार राखे । त्यस्तैवडा नम्बर ६ का वडा अध्यक्ष नरमान श्रेष्ठले पनि आफ्नो वडालाई बालमैत्री बनाउने अभियान सुरु भईसकेको जानकारी दिँदै बालमैत्री शासनका सबै सूचक पुरा गरिने बताए ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला