शनिबार, बैशाख ८, २०८१

प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा दायर

दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको सम्पत्ति पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट आर्जन गरेको अभियोग

काठमाडौ भाद्र २६ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Captureआयोगद्दारा आज जारी विज्ञप्तिमा पूर्वमहाप्रबन्धक श्रेष्ठले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गर्नुको अलावा महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दासम्म निजले पेश गरिएको सम्पत्ति विवरण मनासिब नदेखिएको र निजको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अनुसन्धानबाट देखिन आएकाले’ आयोगले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै श्रेष्ठले आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चलअचल सम्पत्तिका सम्बन्धमा तथ्य प्रमाण छानबिन एवं विश्लेषण गरी हेर्दा निजले आयआर्जन गरेको वैध आयको तुलनामा रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो । आयोगले बिगोअनुसारको जरिवाना र कैद सजाय माग गरेको उल्लेख गरेको छ ।

भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको तथा स्रोत नखुलेको चलअचल सम्पत्ति निज र निजकी श्रीमती करुणादेवी कर्माचार्य, छोरा कमलेन्द्रलाल र छोरी प्रेरणाका नाममा बदनियतसाथ राखेको तथा लुकाएछिपाएको पुष्टि हुन आएको जनाई उक्त सम्पति जफत गर्ने समेत माग गरेको आयोगले जनाएको छ ।