बिहिबार, बैशाख १३, २०८१

किन बोल्दैनन् युवा र विद्यार्थी शक्ति ?

– राजन कार्की-

बुद्धिभन्दा चरित्र ठूलो, सत्ताभन्दा विवेक ठूलो हो । यो इमरसनको अभिव्यक्ति थियो ।

कति दिन चल्ने यो बेढंगको चाला ?बालुवाको घरजस्तै भत्किने छ सारा ।

यो कविता युगकवि सिद्धिचरण श्रेष्ठले लेखेका थिए । नभन्दै बेढंगका कारण, चरित्र र विवेकहीनताका कारण पञ्चायत ढल्यो, बहुदल सिद्धियो र लोकतन्त्र आएको छ । लोकतन्त्रमा पनि बेढंगकै चाला छ । तैपनि लोकतान्त्रिक सोचमा सत्यता र समयानकूल ताजगी आउन सकेको छैन । खासगरी युग हा“क्ने युवा, विद्यार्थीशक्तिमा नैराश्यता बढ्नु खतराको आहट हो ।  ग्याँसको भाउ बढोस् कि विद्यार्थी शुल्क, विद्यार्थीले सडक तताइहाल्थे, सरकारलाई झुकाइ छाड्थे । अहिले जुन लोकतन्त्रको अभ्यास भइरहेको छ, यस परिवर्तनका लागिसमेत विद्यार्थी बर्गको रगतपसिना बगेको छ । नेपालको जुनसुकै परिवर्तनमा पनि विद्यार्थीको अहं भूमिका रहेको छ । तर परिवर्तनपछिका १२ वर्षमा विद्यार्थीको भूमिका गौण हुनुपुगेको छ । खासगरी हालैका दिनमा जेजस्तो प्रशासनिक, राजनीतिक र आर्थिक क्षेत्रहरु तहसनहस भइरहेका छन्, यसबारेमा विद्यार्थी बर्ग अन्यमनस्क देखिएको छ । आयल निगमले जग्गा खरिद गर्ने नाममा सवा अर्वको भ्रष्टाचार गरेको रिपोर्ट संसदीय समितिले नै दिइसक्यो, विद्यार्थीले बोलेनन् । डा.गोविन्द केसीको अनसनबारे विद्यार्थीले मुखै खोलेनन् । संविधान छ तर संवैधानिक अंगहरुमा राजनीतिक भागबण्डा निरन्तर चलिरहेको छ, विद्यार्थी हेरिरहेका छन् । यो परिवर्तनको बाहक बन्नुपर्ने विद्यार्थी समुदाय किन यसरी मरीच चाउरिएझैं चाउरिएको हो ?

चुनावले संविधान कार्यान्वयन गराउँछ भन्ने ढ्वाङ फुकिएकै हो । संविधान कार्यान्वयन भयो कि भएन थाहा छैन तर भ्रष्टाचार र अनियमितता झन बढी बलवती भए तेज र तीब्र गतिमय हुनथालेको छ । चाहिएको इच्छाशक्ति हो । कर्मचारीले चलाएर जनताप्रति जिम्मेवारीपन हु“दै भएन भनेर २० वर्षपछि भएको स्थानीय निकायको निर्वाचनमा जनप्रतिनिधि त आए, तिनले कर्मचारीकै लहैलहैमा लागेर जनताप्रतिको जिम्मेवारी के हो ? भन्ने बिर्सिन पुगे । नेताहरु औषधिमूलो गर्न विदेश जाने क्रम रोकिएको छैन । सामान्य सेवाग्राहीले सहज सेवा पाउनसक्ने वातावरण सिर्जना हुनसकेको देखिदैन । सेटिङमा सुनदेखि मानव तस्करी गर्ने काम बढ्दै गएको छ । मिलोमतोमा मेडिकल कलेजलाई सम्बन्धन दिने र प्रधानमन्त्रीको आदेशको मातहतका पदाधिकारीले नै उल्लंघन गर्न थालेका छन् । आखिर किन शासन, प्रशासन र समाजमा अराजकता बढ्दै गएको ? यो सवालको एउटै जवाफ छ– विद्यार्थी युवा बर्गले बा“दरले जसरी आ“खा, कान, मुख छोपेर बस्नाले हो ।

युवा विद्यार्थी र समाजको सिधा सम्पर्क हुनैपर्छ । युवा विद्यार्थीले सरकारलाई, शासनमा बस्ने कुनै पनि निकायका प्रमुखलाई खबरदारी गर्नैपर्छ । अन्यथा भूमाफियादेखि मेडिकल माफियासम्म, कमिशन खाने बर्गदेखि मानव बेचविखन गर्ने दानव प्रवृत्ति मौलाउँदै जानेछ । अहिले जुन तरिकाले अराजकता बढेको छ, त्यो अराजकता सामान्य छैन । असामान्य अराजकताले राष्ट्रको कडी खुस्कदै खुस्कदै गएको बोध विश्लेषकहरुले गर्न थालिसकेका छन् । लोकतन्त्रलाई लोक जीवन पद्धति यसरी बसाल्न सकिन्न । नीति र नियम, नैतिकता र इमान शासक र प्रशासकमा हुनु जरुरी छ, होइन भने लोकतन्त्र बालुवाको महल, शोम शर्माको सपना साबित हुन लामो समय पर्खनुपर्ने छैन । युवा विद्यार्थीले सुनेका छन्– बहुराष्ट्रवादका कुरा, मधेसवादका कुरा, बिखण्डनका कुरा । सीमा अतिक्रमण, सीमामा विदेशीले स्वदेशीको हत्या गरेका घटना र कालापानीदेखि लिपुलेकसम्मका विषयमा युवा बर्गलाई थाहा छ । तर कुन बाध्यता छ तिनीहरुलाई कि मुखै खोलिरहेका छैनन् । सरकारलाई, संसदलाई र जनप्रतिनिधिहरुलाई यति गम्भीर विषयमा ध्यान दिन बाध्य पार्न यही शक्तिले सक्ने हो, यो शक्तिशाली आ“धी थामिएकाले जिम्मेवारहरु गैरजिम्मेवार हुन पाइरहेका छन् । कर्तव्यच्यूत भएर आत्मरतिमा रमाइरहेका छन् ।

पहिले राजतन्त्र थियो, अभिभावकत्वका लागि र डर थियो । अहिले राजतन्त्र किनारा लागिसक्यो र अभिभावकत्व भनेको संविधान हो । संविधान कार्यान्वयन नै हुनसकेको छैन । ठूला राजनीतिक दलहरु हुन्, उनीहरु अंशबण्डामा भुलिरहेका छन् । अभिभावकत्व लिन कोही पनि तैयार छैनन् । सबै आ–आफ्ना पार्टी स्वार्थमा लिप्त छन्, पार्टी भनेको राष्ट्र रहेसम्म चल्ने हो भन्ने आत्मवोधसम्म तिनलाई हुन छाडिसकेको छ । राष्ट्र बिस्तारै बिस्तारै मैनबत्ती पग्लिएजसरी पग्लदै पग्लदै गइरहेको छ, नेताहरु त्यही गति र मतिमा ओह्रालोयात्रा गरिरहेका देखिन्छन् । एउटा व्यक्ति अथवा शक्ति राष्ट्रको स्थिरता, एकता र विश्वासमा उभिएको देखिदैन । बिभाजित शक्तिहरु शक्तिहीन बनिरहेका छन् र लाभ लोकलाई होइन, पर–लोकले लिइरहेको छ । युवा विद्यार्थीहरु हुन् यतिबेला राष्ट्रलाई सही मार्गमा चल्न प्रेरित गर्ने शक्ति भनेको । नेता कस्तो हुनुपर्छ, नेतृत्व कसरी चल्नुपर्छ, संसद भनेको के हो, संसदमा कस्ता विषयहरुमा छलफल हुनैपर्छ र सरकार तथा राष्ट्रपतिले समेत कुन तरिकाले जिम्मेवारी वोध गर्नुपर्छ भनेर दबाब दिने केही कोही छ भने त्यो युवा विद्यार्थी नै हुन् । गल्ती भए सच्याउने र गल्ती भयो भने युवा विद्यार्थीले छाड्दैनन् भन्ने भय यतिबेला कसैलाई पनि छैन । जहा“ पनि मिलोमतो, सेटिङ, प्रभाव र दबाबले काम गरिरहेको छ, यसरी पनि संविधान कार्यान्वयन हुन्छ र ? संविधान कार्यान्वयन हुनका लागि त नीति र बिधि बलियो हुनुपर्छ । लोकाचारको भय नहुनाले शासन, प्रशासन नाङ्गिन पुगेका छन् ।

हामीले स्थानीय तहमा कस्ता नेता चुन्यौं, प्रदेश र राष्ट्रिय तहमा कस्ता नेता चुन्नुपर्छ ? यो शिक्षा युवा विद्यार्थीले प्रभावकारी ढङ्गले सञ्चार गर्न सक्छन् । मतदाता शिक्षामा २५ करोड खर्च भइसक्यो, करोडौं खर्च हुनेवाला छ, तर बदर मतको मात्रा बेपत्ताले बढेको छ । किन ? किनभने सही तरिकाको मतदाता शिक्षा नै दिइएन । जसका कारणले लोकले गलत नेतालाई चयन गर्नसमेत बाध्य हुनुप¥यो । डण्डा देखाएर तर्साएर र पैसा तेस्र्याएर समेत कतिपयले चुनाव जितेका छन् । असोज २ मा हुन गइरहेको २ नम्बर प्रदेशमा अराष्ट्रिय नारावाजी गर्नेले पनि चुनाव जित्नसक्नेछन् । कारण युवा विद्यार्थी जागेकै छैनन् र नेताहरु मनलागि गरिरहेका छन् । विदेशीको चलखेलले पनि काम गरिरहेको छ । संसदमै कूटनीतिक चलखेल र भारतीय महावाणिज्य दूतले राजनीति गरेको कुरा उठ्यो र सेलायो । यो विषयमा समेत विद्यार्थीले बेवास्ता गरिरहेका छन् ।

चुक युवा विद्यार्थीबाट भइरहेको छ । यसको लाभ उठाएर नेताहरु राष्ट्रविरोधी निर्णय गर्ने  साहस गरिरहेका छन् । राष्ट्रको उद्देश्य के थियो, के हुनुपर्छ र उद्देश्य प्राप्तिका लागि के के गर्नुपर्छ, कुनै विषय पनि नेताहरुको प्राथमिकतामा परेकै छैन । युवा विद्यार्थी उदासीन हुँदा गुट, फुट र लूट चलेको छ । पद्धति पाएरमात्र के गर्नु, पद्धतिलाई पालना गर्नुपर्ने मर्यादा नाघेपछि पद्धति एकातिर, शासनव्यवस्था भीरतिर उन्मुख भइरहेको छ । निष्कर्षमा भन्नुपर्दा शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका हरेक क्षेत्रका कमीकमजोरीका विषयमा युवा विद्यार्थीले अभिभावकत्व निर्वहनका लागि खबरदारी गर्न सचेत हुनैपर्छ । ६० लाख युवा रोजगारीका लागि विदेश पलायन हुने, भएका र हुर्कदो युवातप्का राजनीतिको दलदलमा फस्दै जाने हो भने देशको भविष्य अन्धकारमात्र हुन्छ । उदाएको लोकतन्त्र उज्यालो नहुँदै अस्ताउनेछ । भएको र आउने राजनीतिक र प्रशासनिक नेतृत्व पनि उही ड्याङका मूला, जुन जोगी आए पनि कानै चिरिएका भन्नेमात्र हुनजानेछ ।
त्यसैले ली क्वान यु अथवा विस्मार्क नजन्मिएलान्, इस्पताको धारजस्तो एउटा देशभक्त र देशभरिले पत्याउने नेता जन्माउनका लागि युवा विद्यार्थीहरुले भूमिका खेल्नैपर्छ । भएको छानो भत्किसक्यो, नया“ छानो बनाउन नसकिरहेको यो स्थितिमा युवा विद्यार्थीले घाम, पानीबाट बचाउन एउटा जागरुक भूमिका निर्वहन गर्नैपर्छ । अन्यथा राष्ट्र बेवारिसे बन्नेछ । चेतना भया ।