शनिबार, बैशाख ८, २०८१

५ सय मिटरको दुरीमा कता हरायो एक अर्ब ?

काठमाडौं भाद्र २ , प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ । कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो किस्तामा ५० करोड र nepal-moneyदोेस्रो किस्तामा ५० करोड गरी एक अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो । तर, सो रकम बिहीबारसम्म गृह मन्त्रालयमा पुगेको छैन ।

गृहले मन्त्रालयकै केन्द्रीय दैवीप्रकोप उद्धार कोषमा रहेको रकम नै बाढी प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम आउन ढिलाइ भए पनि रकम अभाव नभएको बताए । उनका अनुसार हालसम्म बाढी प्रभावित १८ जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा गरी सात करोड १० लाख रुपैयाँ पठाइएको छ । दैवीप्रकोप उद्धार कोषमार्फत सो रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने गरिएको छ । बाढीपहिरोलगत्तै विभिन्न दाताबाट प्रधानमन्त्री उद्धार कोषमा रकम जम्मा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलले रकम जम्मा हुन थाले पनि त्यसको विवरण बिहीबारदेखि मात्रै लिइएको बताए । दातृ निकायलाई कोषको नाममा विभिन्न १८ वटा बैंकमा रहेको खाता नम्बर दिइएको छ ।

बाढीले कृषिमा तीन अर्ब क्षति  तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ । सबैभन्दा बढी धान बाली डुबानमा परेका कारण उत्पादनमा ह्रास आई नोक्सानी भएको मन्त्रालयले जनाएको छ ।  पूर्वाञ्चल : पूर्वाञ्चलमा ६५ करोड ५० लाख रुपैयाँबराबरको कृषि उपज नष्ट भएको छ । झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहामा लगाइएको तरकारी, सञ्चित खाद्यान्न, माछा र थोरै मात्रामा धानबाली नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

मध्यमाञ्चल : मध्यमाञ्चलमा बाढीका कारण १ अर्ब ९५ करोड ७९ लाख ५० हजार रुपैयाँबराबरको कृषिबाली नोक्सान भएको छ । त्यस क्षेत्रमा २ लाख ३ हजार ३ सय ९४ हेक्टर खेतीयोग्य जमिनमा लगाइएको धान, तरकारी, माछा, मकै, बेसार, तरुल, रहर, मास, केरा, मकैको बिउ नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ । बाढीले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, चितवन, रसुवा, रामेछाप र ललितपुरको कृषिबालीमा ठूलो क्षति गरेको छ ।

पश्चिमाञ्चल : पश्चिमाञ्चलमा ५७ लाख रुपैयाँ मूल्यको कृषिबाली नष्ट भएको छ । म्याग्दी, रुपन्देही, कास्की, बाग्लुङ, गुल्मी र नवलपरासीमा लगाइएको धान, मकै, सुन्तलामा बाढीले नोक्सान गरेको छ । मध्यपश्चिमाञ्चल : मध्यपश्चिमाञ्चलमा १५ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ । दाङ, बाँके र बर्दियामा लगाइएको धान, मकै, तरकारी, माछा, तेलहन र केराखेतीमा नोक्सान पुगेको छ ।  सुदूरपश्चिमाञ्चल : सुदूरपश्चिमाञ्चलमा ९ करोड १३ लाख ९५ हजार रुपैयाँबराबरको कृषिबाली नोक्सान भएको छ । बझाङ, दार्चुला, बैतडी, कैलाली र डोटीमा लगाइएको सञ्चित खाद्यान्न, तरकारी, गहुँ, दाल, मकै, धान, केरा, बदाम, भटमास, मास, बोडीमा क्षति पुगेको छ। नयाँपत्रिकाबाट