मङ्लबार, बैशाख ११, २०८१

पत्रकारितामा भ्रष्टाचार र यसको प्रभाव

-धर्मेन्द्र झा-

भ्रष्टाचार : अर्थ र परिभाषा :  सामान्य अर्थमा भ्रष्टाचार भन्नाले भ्रष्ट आचारण भन्ने बुझिन्छ । विस्तृतरुपमा भ्रष्टाचारलाई अवैध र गैरकानुनी कार्यका रुपमा बुझ्न सकिन्छ । यसको सर्वमान्य परिभाषाको अभाव छ तर विभिन्न समाजमा भ्रष्टाचारलाई विविध अर्थमा बुझ्ने गरिएको छ । भ्रष्टाचारको प्रत्यक्ष सम्बन्ध नैतिकतासँग छ । यस आधारमा समाजको सभ्यता र नैतिक स्तरसँग पनि भ्रष्टाचारको नाता गाँस्ने गरिएको छ ।  विभिन्न विद्धानहरुले भ्रष्टाचारलाई विभिन्न शव्दमा परिभाषित गर्ने प्रयास गरेका छन् :
प्रसिद्ध विद्वान नाईले भ्रष्टाचारलाई अथर््याउने सन्दर्भमा, सार्वजनिक पदको र कर्तव्यको प्रयोग व्यक्तिगत फाइदामा लगाउनुलाई भ्रष्टाचार मानेका छन् । यस्तै अर्का विद्वान लर्ड एट्किनले अधिकारसम्पन्न व्यक्तिले भ्रष्टाचार गर्दछ, एकाधिकारप्राप्त व्यक्तिले निर्वाध रुपमा भ्रष्टाचार गर्दछ भन्दै भ्रष्टाचारको शैली, प्रकृति र प्रभावलाई एकैपटक समेट्ने प्रयास गरेका छन् । यसैगरी कार्ल फ्रेडरिकका अनुसार, जो सार्वजनिक कामका लागि जिम्मेवार छ, उसले सो कार्य गर्दा व्यक्तिगत फाइदाका लागि गर्दछ र सार्वजनिक काममा हानी—नोक्सानी पुर्याउँदछ भने त्यो भ्रष्टाचार हो । नेपाली शब्दसागरले, भ्रष्टाचारलाई विग्रेको वा खराब आचरण, दुराचरण, नैतिक पतन हुने, घुस खाने, पक्षपात गर्ने, पाएभन्दा बढेर अधिकार चलाउने आदि खराब काम, घुसखोरी, अवैध व्यवहारका रुपमा परिभाषित गरेको छ ।  भ्रष्टाचार नियन्त्रण, सदाचार र पारदर्शिताका पक्षमा विश्वव्यापी अभियानमा सक्रिय अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले, सार्वजनिक सम्पत्ति व्यक्तिगत वा पारिवारिक हितमा लगाउनु भ्रष्टाचार हो भनेको छ । यस्तै विश्व बैंकले १९९७ मा सार्वजनिक पदलाई व्यक्तिगत फाईदाका लागि वा भाई भतिजावाद वा आफन्तवादमा प्रयोग गरिन्छ भने त्यसमा रकमको लेनदेन नभएपनि त्यो भ्रष्टाचार हुन्छ भनेर भ्रष्टाचारको मापनको प्रयत्न गरेको यहाँ उल्लेख्य छ । नेपालको भ्रष्टाचार निवारण ऐन, २०५९ ले भने व्यापक अर्थमा भ्रष्टाचारलाई  अर्थयाउँने  प्रयत्न गरेको छ । यो ऐनअनुसार, कुनै राष्ट्रसेवक वा राष्टसेवक हुन लागेको व्यक्तिले निम्न कुरामा आफूलाई वा अरुको निमित्त रिसवत् लिएमा वा लिन मञ्जुर गरेमा वा सो को निम्ति भनी कसैले रिसवत् दिएमा वा दुरुत्साहन गरेमा,
 ओहोदा वा सोसम्बन्धी काम गर्न भनी वा गरिदिएवापत
 ओहोदा वा सोसम्बन्धी काम नगर्न वा नगरिदिएवापत
 कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिएवापत र
 कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट नगर्न वा नगराईदिएवापत कुनै प्रकारको दान दातव्य, उपाहार, कोसेली, चन्दा स्वीकार गरेमा, कुनै किसिमको लाभ स्वीकार गरेमा त्यसलाई भ्रष्टाचार भनिन्छ ।

भ्रष्टाचारका प्रकार:  भ्रष्टाचार कस्ता कस्ता र कहाँ कहाँ हुन्छन् भन्ने कुराको यकिन गर्न सकिँदैन । माथि नै भनिसकियो यो विषय धेरै हदसम्म सामाजिक सभ्यता, चेतनाको स्तर र नैतिकताको परिभाषासँग सम्बन्धित छ । यहाँ माथिको परिभाषाहरुलाई विश्लेषणको प्रयत्न गर्ने हो भने भ्रष्टाचारका प्रकारलाई निम्नानुसार सूचीवद्ध गर्न सकिन्छ ।
१. लगानीका आधारमा हुने भ्रष्टाचार : यस्तो भ्रष्टाचारमा नगद वा जिन्सीको लगानीको परिमाण, गुणस्तरियता र त्यसको प्रयोग आदी पक्ष महत्वपूर्ण हुन्छ । यस्तो भ्रष्टाचार सानो वा ठूलो दुबै प्रकारको लगानीसँग सबन्धित हुन सक्छ ।
२. शैलीगत भ्रष्टाचार : यस्तो भ्रष्टाचार शैलीसँग सम्बन्धित छ । भ्रष्टाचार कसरी गरियो ? के आधारमा गरियो भन्नेजस्ता विषयले यसप्रकारको भ्रष्टाचारमा महत्व राख्दछ । यसअन्तर्गत राजनैतिक संलग्नता, नातावाद, परिवन्दमा परेर लिइने घुस, सिधै घुस माग्नेजस्ता शैली प्रयोग भएको हुन्छ ।
३. उपहार र पुरस्कारका नाममा हुने भ्रष्टाचार : यो पनि भ्रष्टाचारको एक प्रकार हो । जब कुनै व्यक्तिले अस्वाभाविकरुपमा उपहार र पुरस्कार दिन्छ वा लिन्छ भने त्यसको अर्थ अन्यथा लाग्न सक्ने स्म्भावनालाई नकार्न सकिँदैन । पछिल्ला समयमा उपहार र पुरस्कार प्रदान गरेर सरोकारवालाले सम्वद्ध व्यक्तिलाई प्रभावमा पार्ने र आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति हावी भएको पाइन्छ । अस्वाभाविकरुपमा, असम्बद्धरुपमा र थोकका भाऊमा पत्रकारलाई प्रदान गरिने उपहार र पुरस्कारलाई पनि यस श्रेणीमा राखेर अध्ययन् गर्न सकिन्छ ।
४. पेशागत आधारमा हुने भ्रष्टाचार : भ्रष्टाचार जुनसुकै शैलीबाट र जसरी गरिएको भएपनि उचित होइन तर जब भ्रष्टाचारका लागि सम्बद्ध पेशालाई बदनाम गर्ने अवस्था आउँछ त्यसले आमव्यक्तिमा शासनका निकाय र पेसागत वर्गप्रति विश्वासको ठूलो संकट पैदा गर्दछ । यस्ता भ्रष्टाचारको सूची तयार गर्दा त्यो निकै लामो हुन सक्छ । जब अदालती कार्यका लागि वकिललगायतका कानुनव्यवशायी, चिकित्सा क्षेत्रमा चिकित्सक, इन्जिनियर, नागरिक समाजजस्ता पेशागत संघसंस्था र व्यक्तिबाट भ्रष्टाचार हुन्छ आमव्यक्तिले सबभन्दा बढी कष्टको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । नेपालमा पछिल्लो समयमा राजनीतिलाई पनि पेसाकै रुपमा परिभाषित गर्ने अनौठो संस्कारको विकास भएको छ । राजनीतिलाई पनि पेसा मान्ने हो भने नेपालमा पछिल्लो समयमा राजनीतिकै आवरणमा आमभ्रष्टाचार हुने गरेको गुनासो छ । दुखको कुरो छ पछिल्लो समयमा यस श्रेणीमा पत्रकारिता पनि दरिन पुगेको छ । आज यो पेसा पनि भ्रष्टाचारमुक्त रहन सकेको छैन ।

IMG_20170609_112008पत्रकारिता :  पत्रकारिताको मूल काम सुसूचित गर्ने, शिक्षित गर्ने, मनोरञ्जन प्रदान गर्ने र अभिप्रेरित गर्ने हो । तर आजको सन्दर्भमा पत्रकारिता धेरैजसो सुसूचित गर्ने दायित्वको सेरोफेरोमा केन्द्रित हुन पुगेको छ भन्दा अतिशयोक्ति हुँदैन । आजको विश्वमा आमव्यक्तिलाई सुसूचित गर्ने सन्दर्भमा त पत्रकारिताको महत्व छ नै सुशासन स्थापनाका सन्दर्भमा पनि यसको भूमिका महत्वपूर्ण हुने विश्वास गरिन्छ । पादर्शिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आजको सन्दर्भमा पत्रकारिता पारदर्शिता प्रवद्र्धनको एक महत्वपूर्ण औजार हो भन्ने कुरामा शंका छैन र सुशासनको स्थापना पारदर्शिताको अवस्थाबाट मात्र सम्भव हुनसक्छ भन्ने कुरामा पनि विवाद छैन । विविध प्रकरणहरुमा मिडियाले सञ्चालन गरेको अभियानबाट पनि यसको पुष्टि हुन्छ । वास्तवमा अहिले स्मरण गर्ने हो भने विगतमा भ्रष्टाचारका विभिन्न मुद्दा जनसमक्ष ल्याई सुशासन कायम गर्ने दिशामा मिडियाले निर्णायक भूमिका निर्वाह गरेको हो ।  भ्रष्टाचार नियन्त्रणका लागि अन्य थुप्रै उपाय कारगर होलान, तर व्यवशायिक पत्रकारिता सबैभन्दा प्रभावकारी हुन सक्छ । खोजी पत्रकारितामार्फत् मिडियाले आफ्नो भूमिका अझै सशक्त बनाउन सक्दछ । विश्वका अन्य देशझै नेपालमा पनि पछिल्लो समयमा पत्रकारिता विस्तारै संस्थागत हुँदै गएको छ र दुखका साथ भन्नुपर्छ पत्रकारिताजन्य विकृति पनि विस्तारै वृद्धि हुँदैछ । यस्तै एक विकृति हो भ्रष्टाचार ।

पत्रकारिता र भ्रष्टाचार :  भ्रष्टाचार र अनियमितताले प्रायः अपारदर्शिताको अवस्थामा मौलाउने अवसर प्राप्त गर्दछ । जहाँ अँध्यारो अर्थात् सार्वजनिक निकायका गतिविधिहरु जनताबाट लुक्ने अवस्थाको सिर्जना हुन्छ त्यहाँ भ्रष्टाचारले प्रश्रय पाउँदछ । पत्रकारिताको महत्व यहाँनिर बढद्छ । पत्रकारिताले लुकेका कुरालाई बाहिर ल्याउने, अँध्यारो चिरेर उज्यालोको निर्माण गर्ने अर्थात अनियमितता सार्वजनिक गरेर खवरदारी गर्ने परिकल्पना गरिन्छ । पत्रकारिताले यस माध्यमबाट पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिन्छ । पत्रकारिताले अफ्नो यही दायित्व निर्वहनमार्फत् अनेकौं खुलासा गरेको हामै्र सन्दर्भ पनि साक्षी छ । माथि भ्रष्टाचारको अर्थ, परिभाषा र प्रकारको संक्षिप्त चर्चा गरिएको छ । माथि उल्लेख गरिएका ती सबै विषय पत्रकारिताका लागि ‘कभरेज’का दृष्टिले महत्वपूर्ण हुन् । उपर्युक्त सबै विषय समाचारका लागि ‘उत्कृष्ट खुराक’ हुन । यी सबै विषयमा रिपोर्टिगं गर्न सकिन्छ तर आवश्यक छ उपयुक्त दृष्टि र कोण छनौटको । माथि उल्लेख गरिएका विषय यस्ता हुन् जसमा जनचासो अत्यधिक हुन्छ । विशेषतः आर्थिक र नैतिक पक्ष जोडिएको विषय समाचार सामग्रीका लागि निकै महत्वपूर्ण हुन्छन् । समाचारमूल्यका दृष्टिले ‘जनचासो’ निकै महत्वपूर्ण हुन्छ र माथि उल्ल्ेख गरिएका विषय यस्तै जनचासोसँग सम्बन्धित छन् ।
पत्रकारितामा भ्रष्टाचार:  माथि उल्लेख गरियो, पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रण र यसका माध्यमबाट सुशासन कायम गर्ने सवालमा पत्रकारिताको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । पत्रकारिताले आमजनतालाई सुसूचित गरी चेतना जागृत गर्छ र सम्बन्धित पक्षबीच खवरदारी गर्ने कार्य गर्दछ । जनतालाई अनियमितताविरुद्ध आवाज वुलन्द गर्न अभिप्ररित गर्छ भने दोषीलाई कठघरामा ल्याई कानुनी प्रक्रियाका लागि हौस्याउने गर्दछ । यही गुणका आधारमा पत्रकारितालाई समग्रमा लोकतन्त्रको पहरेदार भनिएको हो ।तर भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय औजारका रुपमा स्थापित मिडिया जब आफै भ्रष्टाचारको मतियार बनेको आरोप लाग्दछ, समस्या त्यसबेला उत्पन्न हुन्छ । यस्तो अवस्थामा मिडियाले खवरदारी र पहरेदारी गर्ने क्षमता त गुमाउँछ नै समग्रमा जनताको विश्वास गुमाउने अवस्थाको पनि सिर्जना हुन्छ । यो अवस्था लोकतन्त्रका लागि त खतरनाक हो नै पारदर्शी शासन व्यवस्था र समाजको निर्माणका लागि पनि बाधक हो ।

विश्वसनीयता र साखको संकट :  यस्ता अनेकौ उदाहरण छन् जहाँ मिडिया स्वयं भ्रष्टाचारको मतियार बनी अनियमिततामा संलग्न रहेको आरोप लाग्ने गरेको छ । आरोपको यस्तो अवस्था एक सम्वद्ध पत्रकारका लागि त हानिकारक हो नै सम्वद्ध मिडियाका लागि अझ बढी दूर्भाग्यपूर्ण हो । यस्तो अवस्थाका कारण उत्पन्न परिस्थितिले सम्बद्ध मिडियाको विश्वसनियता र साख तल्लो स्तरसम्म गिर्न पुग्दछ । यसरी खस्केको साख कि त पुनः स्थापित गर्न नै सकिँदैन कि त पुरानै अवस्थामा पुर्याउन निकै कठीन हुन्छ ।
करिव दुई वर्षअघि यस्तै अवस्थाको समना गर्नुपर्यो भारतयि ख्यातिप्राप्त टेलिभिजन च्यानल जी टिभिले । यसका दुईजना पत्रकारले कोइलाको खरीद विक्रीका सम्ब्न्धमा सम्प्रेषण गरेको समाचार आरोपित हुन पुग्यो । यो च्यनलमा प्रशारित समाचार एक व्यापारिक घरानाको पक्ष र अर्को घरानाको विरुद्धमा लक्षित थियो । अनुसन्धान गर्दै जाँदा पछि त्यसमा पत्रकारले आर्थिक भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । यो घट्नापछि उक्त च्यानलको विश्वसनीयतामा निकै दिनसम्म समस्या अनुभव गरिएको थियो । यस्तै एक अन्य सन्दर्भमा अर्को चर्चित च्यानल आजतक पनि विवादमा मुछिएको थियो । यो विवादपछि त्यहाँ उपल्ला तहमा कार्यरत केही सञ्चारकर्मीले जिम्मेबारी त्याग गरेका थिए । भारतकै सन्दर्भमा हेर्ने हो भने त्यहाँ अहिले ‘पेड न्यूज’ को प्रवृत्ति हावी भएको अनुभव गरिएको छ । विश्लेषकहरुले यो प्रवृत्तिलाई व्यवशायिक पत्रकारिताको ‘भाइरस’ भनेर भयावह अवस्थाको संकेत गर्ने गरेका छन् । यस प्रवृत्तिअन्तर्गत, विज्ञापनमा प्रकाशित वा प्रशारित हुनुपर्ने सामग्रीहरु रकम लेनदेनका आधारमा समाचारका रुपमा प्रकाशित गर्नु वा कुनै पनि समाचार प्रकाशित वा प्रशारित गर्न सम्बन्धित पक्षले आर्थिक मूल्य चुकाउनुपर्ने हुन्छ । यो प्रवृत्तिले पत्रकारिताको आत्मा नै मर्ने अवस्था सिर्जना हुन पुगेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनमा स्टिगं अपरेशनहरु मोलमोलाई र सौदावाजीका माध्यमका रुपमा प्रयोग हुन थालेको पनि पाइएको छ ।

हामी पनि अपवाद छैनौ  :   छिमेकी मुलुक भारतको पत्रकारितामा देखिएको भ्रष्टाचारको नकारात्मक प्रवृत्तिजस्तै अवस्था नेपालमा पनि अनुभव गरिन थालेको छ जो दुखद छ । २०५२/५३ तिरको कुरा हो, नेपाली पत्रकारिताको आकाशमा एकैपटक धेरै ‘ब्रोडसिट’ अखवारहरु अस्तित्वमा आए । तीमध्ये केही वन्द भइसकेका छने भने केही अहिले पनि प्रकाशित भइरहेका छन् । त्यसबेला अस्तित्वमा आएका अखवारहरु विविध आरोपबाट आरोपित भए । यस्ता आरोप मूलतः कालो धनलाई सेतो बनाउने प्रयासकेन्द्रित थियो भनेर आरोप लाग्ने गरेको छ । कुनैलाई एलसी घोटालाको परिणाम, कुनैलाई आपराधिक आम्दानीको उपज त कसैलाई व्यापार चोख्याउने दाऊका रुपमा हेरियो । यी आरोपहरुमा सत्यता कति छ त्यसको लेखाजोखा भविष्यले विस्तारै गर्दै जाला तर एक सत्य के हो भने यस्ता आरोपित सञ्चारमाध्यम आरोपमुक्त हुन नसक्दा तिनले विश्वसनीयताको संकट भने वेहोर्नुपर्यो । भ्रष्टाचारको सन्दर्भ केलाउने हो भने निश्चय पनि यी आरोप महत्वपूर्ण छन् ।
केही दिनअघिको कुरा हो, नापी कार्यालयका एकजना कर्मचारीले यस पंक्तिकारलाई एक अनलाइनको हवाला दिँदै आफ्नाविरुद्ध एक समाचार प्रकाशित गरी एक लाख रुपैयाँ माग गरेको र नदिए थप सामग्री प्रकाशित गर्ने धम्की दिइएको बताए । पंक्तिकारले निजलाई प्रेस काउन्सिलमा उजुरी गर्न सल्लाह दिएको सन्दर्भको उल्लेख गर्नु यहाँ जरुरी छ । सम्भवतः तिनले काउन्सिलमा उजुरी गरेका छन् वा गर्ने तयारीमा छन् । यस्तो आरोप अहिले नेपालका थुप्रै अनलाइनले वेहोरिरहेका छन् । परिणामतः अनलाइनहरु अहिले विश्वसनीयताको संकट झेलिरहेका छन् । यस्तै करिव तीन वर्ष पहिले आफूलाई एकजना पत्रकार भनेर दावी गर्नेले हिडेन (लुकेको) क्यामेराको सहयोगमा स्टिगं अपरेशनका नाममा विभिन्न पेसाकर्मीसँग रकम असुलीको धन्दा चलाएको स्मरणीय छ । निज पत्रकार भन्नेको बदनियतको शिकार एक चिकित्सक बनेको सार्वजनिक भएको थियो । निज चिकित्सकसँग पनि रकमको माग गरिएको खुलासा भएको थियो । यस्तै एक मासिक पत्रिकाले चार पाँच वर्षपहिले सशस्त्र प्रहरीविरुद्ध लगातार समाचार सम्प्रेषण गरेको र पछि सशस्त्रले उक्त पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी गरेको कुरा त्यसवेला निकै चर्चामा आएको थियो ।

यसैगरी विगतमा नेपाल प्रहरी प्रत्यक्षतः जोडिएको सुडान घोटालाका सम्बन्धमा पनि मिडिया विवादमा आएको स्मरणीय छ । सुडान घोटालाका सम्बन्धमा केही सञ्चारमाध्यम घोटालाको खुलासाका दिशामा सक्रिय रहेको पाइयो भने केही सञ्चारमाध्यम सुडान मिशनमा भ्रष्टाचार नभएको प्रमाणित गर्न कस्सिए । यस्तै अवस्था सुडान घोटालाअघिको लाउडा एयर विवादका सम्बन्धमा पनि देखिएको थियो । कतिले यसको विरोध गरे भने कतिले यसको समर्थन गरेका थिए । दुवैथरि मत असन्तुलित थिए । लाउडा प्रकरणमा सन्तुलित समाचार सामग्रीको नितान्त अनुभव गरिएको थियो । यसको पछाडी सम्बद्धहरुको भ्रष्ट आचरण जिम्मेबार थियो भनेर भनियो भने त्यो अस्वाभाविक हुने छैन । विगतको ०६२/०६३ को जनआन्दोलनको समयमा देशमा क्रियाशील तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारले केही पत्रकारलाई नजराना वितरण गरेको समाचार जनआन्दोलनपछि सार्वजनिक भएको थियो । त्यसो त त्यसमा नाम मुछिएका धेरैजसोले विभिन्न निकायबाट सफाइ पाएका थिए तर यो घट्नापछि आमजनताले पत्रकारलाई हेर्ने दृष्टिकोणमा नकारात्मकरुपमा परिवर्तन आएको अनुभव गरिएको थियो ।  यस्तै पहिलो संविधानसभाको निर्वाचनपछि गठित सरकारका स्वास्थ्यमन्त्रीको सचिवालयबाट वितरण गरिएको र पत्रकारले स्वीकार गरेको ‘नगद उपहार’ को घट्ना निकै चर्चामा आएको थियो । यसरी वितरण गरिएको उपहार केही पत्रकारले स्व्किार गरे पनि एकजना पत्रकारले अस्वीकार गरेको समाचार सार्वजनिक भएपछि यो प्रकरणको खुलासा भएको थियो । यसैगरी नेपालका टेलिभिजन र रेडियो पनि अपवाद छैनन् ।

यी माध्यम र यसमा कार्यरत् सञ्चारकर्मीहरु पटकपटक विवादमा आइरहन्छन् । विगतमा मेडिकल कलेजहरु र तारे होटलको शेयरको सन्दर्भ नेपाली सञ्चारमाध्यममा बडो जोडतोडका साथ उठेको यहाँ उल्लेख्य छ । यस्तो कभरेजमा भ्रष्टाचार भएको थियो कि थिएन भन्न कठीन छ तर जनमानसमा एक किसिमको जिज्ञासा भने उत्पन्न भयो जसको सम्बोधन हुन सकेन, यो सत्य हो । प्रश्न उठ्छ, यस्ता कभरेज खोजी समाचारका प्रमाण हुन् ? भ्रष्टाचारका नमुना हुन् ? वा मिडियाविरुद्धको सुनियोजित षडयन्त्र ? उत्तर कठीन छ । उपत्यका र उपत्यकाबाहिरबाट प्रकाशित हुने केही साप्ताहिक पत्रिकाहरु यदाकदा विवादमा तानिने गरेका छन् । यस्ता प्रकाशनहरु राजनीतिक गुट उपगुटबाट, व्यवशायिक घरानाबाट र कतिपय अवस्थामा आपराधिक छवी भएकाहरुबाट पनि सञ्चालन गर्ने गरिएको आरोप लाग्ने गरेको छ । यस्ता प्रकाशनको उद्देश्य नै वार्गेनिगं (मोलमोलाई) गर्ने, व्लयाकमेलिगं गर्ने, डराउने, धम्क्याउने र आर्थिक स्वार्थ पूरा गर्नु हो भनेर उपभोत्ताबीच चर्चा चल्नुलाई व्यवशायिक पत्रकारिताको प्रतिष्ठाका दृष्टिले सम्भवतः कसैले पनि उचित ठहर्याउन सक्दैन ।  माथि उल्लेख गरिएका सन्दर्भहरु अन्तिम होइनन् । यस्ता अनेकौ घटना छन् । दुखको कुरा त के छ भने भ्रष्टाचारका घटनामा सञ्चारकर्मी र सञ्चारमाध्यम मुछिने संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यो क्रम राजधानीमा मात्र सीमित छैन राजधानीबाहिर मोफसलमा पनि यस्ता अनेकौ घट्ना अस्तित्वमा छन् । पछिल्ला दिनमा प्रेस काउन्सिलमा यस्ता उजुरी पर्ने संख्यमा लगातार वृद्धि भइरहेको छ जो पत्रकारिताका निम्ति लाजमर्दो अवस्था हो । अन्यत्रका भ्रष्टाचारको खुलासा गर्नुपर्ने दायित्व बोकेका समाचारमाध्यम र पत्रकारहरु स्वयं भ्रष्टाचारको आरोपको आवरणमा लपेटिनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुनु अशोभनीयमात्र होइन दुखद छ । समाजमा पारदर्शिता कायम गरी भ्रष्टाचार नियन्त्रणमा सहयोगी सावित हुनुपर्ने मिडिया नै जब स्वयं यस्ता अवाञ्छित गतिविधिमा संलग्न भएको प्रमाणित हुन्छ भने त्यस समाजमा कस्तो अवस्थाको सिर्जना हुन्छ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ ।

सन्दर्भ सामग्री
 घिमिरे दीपेश, भ्रष्टाचारः अवधारणा, कारण, प्रकार र नेपालमा कानुनी तथा संस्थागत संयन्त्रहरु (कार्यपत्र, २०७०)
 थापा, हरिबहादुर, सुशासन सुदृढीकरणमा मिडियाको भूमिका (कार्यपत्र, २०७१)
 झा, धर्मेन्द्र, समृद्ध भविष्यका लागि संचार स्वतन्त्रता, २० फागुन २०७१, अन्नपूर्ण पोष्ट,
 झा धर्मेन्द्र, पत्रकारिता, सूचनाको हक र महासंघ, पत्रकारिता : वैशाख २०७३, नेपाल पत्रकार महासंघ
 विविध प्रकाशन, नेपाल पत्रकार महासंघ
 संहिताका विभिन्न अंक, प्रेस काउन्सिल नेपाल
 उजुरी अभिलेख, प्रेस काउन्सिल नेपाल
 २०५२ देखि २०६३ सम्मका कान्तिपुर, हिमालय टाइम्स, समाचारपत्र र राजधानी दैनिकका विभिन्न मितिका केही अंक ।

 काठमाडौं पत्रकार महासंघको १० औ अधिवेशनको क्रममा प्रकाशित स्मारिकामा मुद्रित ।