बिहिबार, बैशाख १३, २०८१

देउवा चुनौतिका चाङसँग जुध्न सक्लान् ?

   – राजन कार्की-

  ९ वर्षमा १० सरकार, हार्‍यो देशले, जित्यो कसले ? नेताहरुले जितेको भए देशले जितेको ठहथ्र्यो, जित्नेको अनुहार देखिन्न र त, देश निन्याउरो छ । देशवासी निलाकाला, मरन्च्याँसे देखिन्छन् । नेपालको सन्दर्भ र उर्दुका कवि गालिवको कविता उस्तै लाग्छ–
   बर्बादे गुलिस्ताँ करनेको
    एक ही उल्लू काफी था
    अन्जामे गुलिस्ताँ क्या होगा
    जहाँ हर साखमे उल्लू बैठा हो ।
अठार पुराण पढेर परोपकारी काम गर्नु, अरुलाई दु:ख नदिनु दुई कुरा थाहा पाएँ भनेर वेदव्यासले लेखे । चौथोपल्ट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले के थाहा पाए, किन प्रधानमन्त्री भए, यसबारेमा खुलस्त बताउन सकेनन् । यद्यपि उनले चार प्रतिवद्धता जनाएका छन् । पहिलो– स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव गराउाछु, भूकम्प पीडितलाई राहत र पुनर्निमाण सम्पन्न गराउँछु, विपक्षी दललाई समेत विश्वासमा लिएर संविधान संशोधन गर्दै मधेसका मागहरु पूरा गराएरै छाड्छु । आफ्नो कार्यकालमा पूर्वाधार निर्माण गरेर विकासको लहर ल्याउँछु । यसका लागि नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले कम बालेर, धेरै गर्न र उत्तरदक्षिण समन्वयकारी परराष्ट्रनीति बनाउन आउानोस् सबै मिलेर अघि बढौं भन्ने आग्रह समेत गरेका छन् । कति राम्रा, चित्ताकर्षक लाग्छन्– प्रधानमन्त्री देउवा अभिव्यक्तिहरु । मानौं विश्वासको वातावरण बन्छ, सहकार्य अघि बढ्छ, नेपालमा राजनीतिक संस्कारको सुरुआत हुन्छ ।

२० वर्षदेखि स्थानीय तहमा लूटतन्त्र छ, च्यातिएला ? शासन प्रशासनमा कमिशनतन्त्र छ, रोकिएला ? मूल राजनीतिमा सेटिङ, सिण्डिकेट, भागबण्डातन्त्र छ, त्यो भत्किएला ? यत्ति सुधार्न जरुरी छ, तव विधि बस्ला, संविधान कार्यान्वयन होला । अन्यथा घुम्दैफिर्दै रुम्जाटार । प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालको मूल्यांकन उनको विधिसम्मत कार्यशैलीमा घोटिने हो, यति हेक्का राख्न नसके देउवाको चौका शासन, चौकडीमा सिमित हुनपुग्नेछ । सार्वजनिक विगत उज्यालो छैन देउवाको । २०५२ सालमा राप्रपासँग मि लेर, २०५८ सालमा एकलौटी सरकार बनाउादा होस् अथवा २०६१ मा एमाले, राप्रपासँग सरकार निर्माण गर्दा होस्, देउवाले गर्नु नगर्नुको बेथिति बसालेकै हुन् । देउवाकै कार्यकालमा पुरुष सांसदले सुत्केरी विदा र भत्ता खाएका थिए । सांसदलाई पजेरो सुविधा दिने देउवा नै हुन् । सांसद खरिदविक्री गर्ने, सांसदलाई होटलमा थुन्नेदेखि बैंककको सयर गराउनेसम्म र जम्बो मन्त्रिमण्डल बनाएर सत्ता टिकाउने खेलमा महारथ हासिल गरेको रेकर्ड दर्ज छ देउवाका नाममा । कांग्रेस तोडफोड र जोड गर्दा परेको चिराको दाग अझै मेटिसकेको छैन । माओवादीको टाउकोको मूल्य तोक्ने, त्यही माओवादीसँग झुक्ने, त्यतै लुक्ने र उसैको प्रस्तावमा आज प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सिंहदरवारका शेर बन्न त सफल भए, लोकतन्त्र, लोकतान्त्रिक संस्कारको शेर बन्न सक्लान् कि नसक्लान्, यसकारण प्रश्न उठेका हुन् समाजमा ।

 

बिगत ९ वर्षमा १० सरकार । यो तथ्याङ्क भनेको राजनीतिक कतिसम्मको अस्थिर छ भन्ने परिचायक हो । महाकवि देवकोटाले भनेका थिए– चुली ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै आरोही हो । देउवाले सत्ताको चुली ताके, तिर्सना राखे र पूरा भयो । अव भ्रष्टाचारको संस्कृतिको खोरिया फाँड्दै सत्य, इमान र राष्ट्रिय स्वाभिमानको उचाइतिर लम्कन सके भने उनी सही आरोही, राजनेता बन्न सक्लान् । यसकारण लोकले सुन्नेगरी उनले भन्न सक्नुपर्छ– जेजस्तो म पहिले थिएँ, अव त्यस्तो छैन । व्यवहार र निर्णयहरुमा अपरिपक्वता हुन्न । यथार्थमा चारतारे नेपाली कांग्रेसको वर्तमान भाग्य र सुदूर भविष्य देउवाका काँधमा आएको छ । चुनौती चिरेर कांग्रेस र प्रजातन्त्रको चौतारो चिन्ने अवसर पाएका छन् देउवाले । उनले राष्ट्र र राजनीतिका सामु उपस्थित हरतरहका चुनौतीहरुको सामना गर्ने ल्याकत, ताकत र अक्किल देखाउनैपर्छ । किनकि यसैमा लोकतन्त्रको भविष्य पनि अन्तरनिहित छ । जर्ज बर्नाड शा भन्थे– जुन मानिस परिवर्तन हुँदैन, उसले कुनै परिवर्तन गर्नै सक्दैन । आशा गरौं, पुराना भुलहरु सुधारेर देउवामा समयानुकूलको परिवर्तन आओस् । देउवा प्रजातन्त्रको देउराली बन्न सकुन्, हाम्रो शुभकामना छ । उनको प्रयास रहोस् ।
हो, देउवाले एमाले र एमाओवादी केन्द्रको गठबन्धन टुटाएर आलोचित भएकै हुन् । त्यसमाथि एमाओवादीको नेतृत्वमा सरकार बनाएर र स्थानीय निर्वाचनमा तालमेल गर्दा पनि देउवाको तीब्र आलोचना भएकै थियो । कांग्रेसीजनमा आज पनि ठूलो मनखत के छ भने पार्टी सभापति देउवाले राजदूत प्रकरण, प्रधानन्यायाधीशमाथि महाभियोग काण्ड, आइजीपी आफ्नै सिफारिसको हुनुपर्ने र उच्च अदालतका न्यायाधीश नियुक्तीमा चासो नदेखाएको भए पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई एमालेले उछिन्न नसक्ने रहेछ । यद्यपि कांग्रेसको स्थिति कमजोर छैन र दोश्रो चरणको निर्वाचनमा आश्चर्यचकित पार्ने परफरमेन्स हुनेछ भन्ने आाकलन गरिदैछ । जे हुन्छ, त्यो जनताबाट हुनेछ र जनादेशले देखाउने छ ।
५ सय ५५ ले मतदान गरे, जसमा देउवालाई ३ सय ८८ मत प्राप्त भयो । यसबाट के देखिन्छ भने देउवा सरकारलाई कसैले हल्लाउन सक्नेछैन । दुई तिहाई जनबलले बनेको सरकार जब्बर बलियो छ तर सरकारले गर्ने निर्णयहरुबाट यो जब्बरता कमजोर हुने वा अझ बलियो हुने देखिने छ । मुख्य सवाल देउवाले थुप्रै पार्टीलाई विश्वासमा लिएर, सहकार्यका साथ अघि बढ्नुपर्ने छ । यसकारण सरकारका सामु उच्च जोखिम सधैं कायम रहनेछ । देउवा जोखिममा कमजोर बनेर राष्ट्रहितमा खेलाँची नगरुन् ।
सरकार गठन भयो, सरकारले काम थाल्यो । सकारात्मक सन्देश आउन थालेका छन् । यो सरकारको मूल कार्यभार सम्पन्न गर्ने दायित्वमा अलिकति पनि चुक्यो भने देउवा सरकार सबैभन्दा कमजोर सरकार पनि बन्नसक्छ । भूकम्पपीडितलाई राहत र निर्वाचन यी दुई जिम्मेवारी यो सरकारले बिर्सनै हुन्न । यो सरकारको आधारभूमि, औचित्य भनेको यही प्रमुख विषयमा केन्द्रित छ । एमाले त्यसै पनि आक्रामक छ र उसलाई विश्वासमा लिने काम सहज छैन । किचेन क्याविनेटमा भुल्ने, आफन्तको कमिशनमोहमा रम्ने र त्यही पेरिफेरिमा जम्ने हो भने देउवाको सत्ता सुराल फाट्न थाल्नेछ । भन्नलाई देउवा प्रजातन्त्र, राष्ट्रियता र समाजवाद कांग्रेसको मूलमन्त्र भनेर संसदमा गर्जिएका छन् । त्यो गर्जनको मान राख्ने काम स्वयं देउवाको निर्णयमा निर्भर हुनेछ । यसैमा खस्कँदो जनाधार जोगाउने र कांग्रेसलाई मेजर पार्टीका रुपमा स्थापित गर्ने कि नगर्ने भन्ने सवालको जवाफ कायम हुनेछ । तेश्रोपटक प्रधानमन्त्री बन्दा अक्षम भनेर लागेको दाग मेटाउने अवसर पनि हो यो । शेरबहादुर देउवाले अरु कुनै मुद्दामा हेरिरहने जरुरत नै छैन । मात्र अर्जुनदृष्टि लगाउने विषय भनेको भूकम्पपीडितलाई राहत, मधेसी दलहरुको माग र निर्वाचन हो । संविधान संशोधनको सवालमा कतै पनि बिखण्डन र बिभाजनको लेसमात्र पनि आशंका नहुनेगरी अघि बढ्न सके शेरबहादुर देउवाको चौथो पटकको प्रधानमन्त्रीकाल सबैभन्दा सफल र सम्झनयोग्य रुपमा अंकित हुनेछ ।
समाजमा देउवाको कार्यकाल अर्को घातक अध्याय भनेर टिकाटिप्पणी भइरहेको छ । कम बोल्ने देउवालाई यस्तो आक्षेपले पीडा दिएको हुनुपर्छ । जब पीडा अनुभूति हुन्छ, तव न उसले पीडा मोचनका लागि संचेतन रहन्छ । प्रचण्डले दोश्रो चरणको निर्वाचन सम्पन्न गरेर सत्ता हस्तान्तरण गर्नसक्थे । तर उनले इमान जमान राखो भन्ने शैलीमा वीचैमा राजीनामा दिएर देउवाका लागि मार्ग प्रशस्त गरिदिए । ३ सय ८ दिन प्रधानमन्त्री चलाएका प्रचण्डले अर्को केही दिन प्रधानमन्त्री चलाउँदा फरक पर्ने केही थिएन । आकाश खस्ने थिएन । त्यसै पनि कम्युनिष्टहरु रणनीतिकार हुन्छन्, हुनसक्छ जस आफूले लिएर अपजस देउवाको टाउकोमा खन्याउने योजना पो छ कि ? आउनसक्ने कुनै पनि अपजसलाई जसमा परिणत गर्नु प्रधानमन्त्री देउवाको बुद्धिमत्ता हुनेछ । भारतको आड लिएर माओवादीले राजतन्त्र फाले । गणतन्त्र कार्यान्वयन गर्ने निर्णय हुँदा कांग्रेस, एमाले र राप्रपा ल्याप्चे लगाएर साक्षी बस्न (लोकेन्द्रबहादुर चन्दले टेबुल ठटाएर समर्थन गरेका थिए) बाध्य भएका थिए । अव माओवादीको मुख्य योजना भनेको गणतन्त्र कार्यान्वयन गर्नु हो । गणतन्त्रभित्रै छ धर्मनिरपेक्षता । गणतन्त्र कार्यान्वयन हुनु भनेको माओवादीका सबै एजेण्डा पूरा हुनु हो । त्यसैमा माओवादीका सम्पूर्ण अपराधहरुको भुक्ति, मुक्ति हुनेछ । त्यसैले माओवादी कित्ता कुनै हालतमा हिन्दुराष्ट्र नबनोस् भनेर राजनीतिक खेल खेलिरहेको छ । हुस्सु हिन्दुहरु कोठामा डुक्रेर ९५ प्रतिशत ॐकार परिवार छौं भनेर आत्मरती गरिरहेका छन् । ९५ प्रतिशत हिन्दुहरुको यस्तो दयनीय हालत ? नेपालमा हिन्दु नेता भन्न रुचाउनेहरु, इसाइ, मुसाइकरण रोक्न सक्दैनन्, लखनौं पुगेर योगी आदित्यनाथको पाउ परिरहेको फोटो खिचेर नाक फुलाउँछन् । यस्ता हिन्दु अगुवाहरुलाई दया मात्र गर्न सकिन्छ ।

यी असलमा हिन्दु हुन् भने हिन्दुराष्ट्रका लागि संसदका सामु आमरण अनसन बसुन्, तमाम हिन्दुहरुलाई सडकमा आउन आग्रह गरुन् । यसका लागि नैतिक बल र नैतिक साहस चाहियो, जुन यी स्वयम् घोषित हिन्दुहरुमा तीलको दानाजति पनि छैन । हिन्दु धर्मको नेता पल्टेर आत्मप्रशंसा र स्वार्थको राजनीति गर्न पल्केकाहरुले हिन्दुत्वको रक्षा गर्न सक्दैनन्, यिनीहरु भ्रम बेचिरहेछन् । हिन्दुसमाजलाई भ्रमित पारिरहेका छन् । यथार्थमा हिन्दुत्व कमजोर पारिरहेका छन् यस्ता गुरु, अगुवाहरुले । जेहोस्, शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् र प्रजातन्त्रका रखवाला बनेर माघ ७ भित्रै सबै चुनाव सम्पन्न गर्न र संविधान कार्यान्वयन गरेर लोकतन्त्र संस्थागत गर्ने जिम्मा कांग्रेसले नै पाएको छ । हरेक परिवर्तनको संवाहक बनेको कांग्रेसले कम्युनिष्ट जालझेल, रणनीतिलाई उछिनेर, उधिनेर प्रजातन्त्रका लागि काम गर्न सक्यो भने देउवाको यो कार्यकाल सफल हुनसक्छ । यस्तै शुभकामना प्रत्येक प्रजातन्त्रवादीहरु दिइरहेका छन् । यो शुभकामनाको सन्देश प्रधानमन्त्री देउवाले बुझुन् ।