सोमवार, असार २०, २०७९

लोकतान्त्रिक अँध्यारो देश : नेपाल

आलोपालो शासनको रोलक्रम बसाले । मानौं यो लोकतन्त्र होइन, जंगबहादुरको उदय हो र उसले १७ भाइको रोलक्रम बसालेझैं, हाम्रा नेताहरुले पनि रोलक्रम बसाले । धर्मपरिवर्तन बढ्यो, बिखण्डनको झ्याली पिटियो । नेपाल विदेशीको योजनावद्ध षडयन्त्रको थलो बनिसकेको छ । नेपालीकरणको आवरणमा विदेशीकरणको डरलाग्दा घटनाहरु सार्वजनिक हुनथालेका छन् । यिनै कारणहरुले गर्दा दिगो शान्ति, राजनीतिक स्थिरता र नेपालीको सहज जीवनशैली दिनदिनै भताभुङ्ग लथालिङ्ग हुँदै गएका छन् । अस्तव्यस्त यो अवस्थालाई समेट्ने, सँगेल्ने र सम्याउने नैतिक जिम्मेवारी कुनै दलले लिएका छैनन् । राजनीतिक नेताहरु यतिसम्म गैरजिम्मेवार हुनसक्दा रहेछन् । मानौं, दलहरु सत्ताका ठेकेदार हुन् । देश बेवारिसे हो । योभन्दा अनैतिक र बेइमान राजनीति कुनै देशमा देख्न सकिन्न । तैपनि हामी नेपालमा लोकतान्त्रिक गणतन्त्र छ भन्छौं ।”

pen-copy-gift-150x15022-राजन कार्की
नामले केही पनि हुन्न, कर्म विधिसम्मत चाहिन्छ । नामले हुने भए कर्णबहादुर बहिरो हुनेथिएन । नेत्रबहादुर अन्धो बन्नुपर्ने थिए । नेपालको लोकतन्त्र पनि नामले मात्र लोकतन्त्र छ, तर नेपालभन्दा अँध्यारो देश अर्को छैन । लोकतन्त्र हाँक्ने रथी महारथी जननेताहरु पञ्चइन्द्रीयले काम गर्न नसक्ने देखिएकाले राष्ट्र अन्धकार देश हुनपुगेको हो । के थिएन यो मुलुकमा । सबैचिज छ, तर छैन भने नेतामा नैतिकता छैन, इमान छैन र राष्ट्र बनाउँछु भन्ने इच्छाशक्ति त छँदैछैन । त्यसैले नेपाल अँध्यारो देश बन्नपुगेको हो । जन्मकालदेखिको खुकुरीको राजनीति मतपत्रमा प्रवेश गरे पनि नेपालमा अराजकता न्यूनिकरण हुनसकेको छैन । आखिर यो देशमा न्यूनतम स्थिरता, सहजता र शान्ति कहिलेदेखि सुरु होला ? बडामहाराजाले एकीकरण गरिदिए, आन्तरिक अराजकताकै कारण त्यो नेपाल साबुत रहन सकेन । १ लाख ४७ हजार १ सय ८१ बर्गमाइलमा खुम्चियो र अझै हाम्रा साँध सिमानामा अतिक्रमण बढ्दै गएको छ । कोतपर्व नरसंहार हो, त्यसले त जहाँनिया शासन पो जन्माइदियो, जसको आयु १ सय ४ वर्ष थियो, २००७ सालमा सकियो । त्यसपछि पनि स्थिरता, सहजता र शान्तिको संस्थापन गर्न सकिएन । २०१५ सालको दुई तिहाई बहुमतसहितको कांग्रेसी सरकार बनेकै हो, जसले २०१७ सालमा पञ्चायत जन्मायो । पञ्चायत फाल्न २०३६ सालमा जनमत संग्रह गर्न बाध्य पारे जनताले, जनमत संग्रहले त देशैलाई पहेंलपुर पारिदियो । फुलेको तोरीफूल झर्न, झार्न अर्को १० वर्ष कुर्नुपर्‍यो र २०४६ सालमा अर्को जनआन्दोलनले बहुदल स्थापित गराएरै छाड्यो । संसारकै सबल र सफलमात्र होइन, यिनै नेताहरुले भनेजस्तो उत्कृष्ठ संविधान जारी भयो । तर, राजनीतिक स्थिरता, सहजता र शान्ति स्थापित हुनसकेन । उल्टै माओवादी जनयुद्ध पो जन्माइदियो । बहुदलको १२ वर्षलाई कूशासनको कलंक लाग्यो ।

अनेक खालका भण्डाफोर भए, पम्फादेवीसम्मका नारा लाग्यो । स्वीस वैंकमा पैसा थुपारेको झ्याली पिटियो । प्रचण्ड भनेको ज्ञानेन्द्र नै हो भन्नेसम्मका अतिशयोक्ति हावा पनि चलाइयो । यिनै शेरबहादुर देउवा हुन्, जसले सुनको थालीमा हालेर २०५८ सालमा राजालाई शासन सुम्पने । यिनै देउवालाई तिनै राजाले असक्षम भनेर गलहत्याए पनि । जसका कारणले शाही शासनले गराएको २०५९ को निर्वाचनलाई शाही चुनाव भनेर अवैध भनियो । २०६३ सालमा १९ दिने जनआन्दोलनले राजालाई झुकायो, झुकेका राजाले मरेको संसद पुनस्र्थापित गरिदिएर राजतन्त्र मर्ने चिहान खन्न पछि परेनन् । दरवार हत्याकाण्ड जति रहस्यमय छ, ज्ञानेन्द्र उदयको कालखण्डलाई मात्र होइन, सिङ्गो राजतन्त्रलाई कसरी समाप्त पारियो भन्ने घटनाक्रम पनि लखनौंको भुलभुलैया भन्दा कम आश्चर्यजनक छैन । नेपालको इतिहास खोज्ने, खोतल्नेहरुले त्यसको छेउटुप्पो लेख्लान् ।

यद्यपि यी सबै उतारचढाव, परिवर्तन सत्ता, शक्ति र खुकुरीकै बल र छलका परिणाम हुन् । जो हुस्सु भयो, ऊ सुस्तायो । जो चङ्ख थियो, बाहिरी भित्री मिलाप गर्न जान्दथ्यो, ऊ हौसियो । जाने जान्छ, त्यसमा दु:खमनाउ गरेर लाभ छैन । आउनेले सुखानुभूति दियो कि दिएन ? महत्वपूर्ण त्यो हो । उज्यालो आउँछ भन्ने भनाइ भ्रम थियो, परिणाम निस्क्यो– अन्धकार नेपाल, जो हामी भोगिरहेका छौं ।   जनयुद्ध कति अमानवीय थियो, सम्झदा पनि कहाली लाग्छ । १७ हजार मारेपछि टुसाएको शान्ति, अझै मनमनमा, नेपाली बारीमा फुल्न सकेन । कोही गोली खाएर मरे, कतिलाई गोली हानेर मारियो । कतिलाई रेटियो, कतिलाई कुटेरै सिध्याइयो । कति पोलिए, कति पुरिए । बाँच्नेहरु छटपटीमा छन्, बाँचेका ५८ हजारले न्यायको गुहार लगाइरहेछन्, कोही अस्पतालबाटै अन्याय भो भनेर चिच्याइरहेछन् । नाइकेहरु उपरखुट्टी लगाएर शासनको सिंहासनमा बसेर यी सब दृश्य दृष्टान्त हेरिरहेका छन् । शायद यिनीहरु गैंडाको छालाजस्ता बाक्ला शरीर बनोट भएकाले संवेदनहीन छन् । हाम्रो देशको राजनीतिक जीवनमा रत्नाकरहरु कति जन्मिए जन्मिए, एकजना पनि बाल्मिकी बन्न सकेनन् । बुद्धको आराधना गरेको कर्मकाण्ड देखाएर हिंसा र हत्याको बन्द व्यापार हिजोदेखि आजसम्म चलिरहेकै छ । फलिफाप भइरहेकै छ ।  त्यसैले त २०६५ सालमा गणतन्त्र कार्यान्वयन गरियो, जनआन्दोलन सफल भएको १२ वर्ष र व्यवस्था परिवर्तनको १० वर्षमा १० सरकार बन्यो । कुन ठूला नेता सरकार प्रमुख बनेनन्– गिरिजाप्रसाद, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा । तैपनि शान्ति, सहजता र स्थिरताको जग बस्नै सकेन । यिनमा त्यस्तो इच्छाशक्ति कहिल्यै पन्पिएन । लोकतन्त्रको टुडिखेलमा बाहुबलीको पहलमानी चलिरहेकै छ । राजनीतिज्ञहरुमा देखिएको यो बिकृत मानसिक विध्वंस, निर्माणको संकेत होइन । हुनसकेन । हो, २०६४ र २०७० को संविधानसभाको अभ्यास र अहिले स्थानीय तहको निर्वाचनले जनचेतनाको स्तर बढाएको छ । तर यो चेतना उही ठूला पार्टीका बन्दकीजस्ता लाग्छन् ।

न जनस्तरबाट विकल्प जन्म्यो, न जनताले विकल्प नै छान्न सके । खराव तिमीहरु नै हौ, असल तिमीहरु नै बन्नुपर्छ भनेर मतदानको रुझान देखिन थालेको छ । तर हाम्रा ठूला दलहरुमा शान्ति, स्थिरता र राष्ट्रिय जीवनको सहजताका लागि गम्भीरपना आएको अनुभूत कसैले गर्न सकेको छैन । आउने सम्भाबना पनि छैन । संविधानसभाको नतिजालाई नेपालमा खोलिएका कार्टर सेन्टर, क्लिन्टन फाउण्डेशनले सर्टिफिकेट बाँडेकै हुन्, मानवाधिकारवादीहरुले क्लिन चिट दिएकै हुन् । भयो के, नेपाल भ्रष्टाचारी मुलुकहरुको भुइमै पुगेको, दण्डहीनताले प्रश्रय पाएको देशहरुको टिठलाग्दो सूचीको सिरानमै परेको रिपोर्ट पो आयो । कस्तो लोकतान्त्रिक हामी ?  युवा निकासी गरेर रेमिटान्स भित्र्याउने र विदेशी रिमोटबाट चल्ने राजनीतिले देशको दुर्दशाहरु बढ्दै गएका छन् । उत्तर र दक्षिणमात्र होइन, पश्चिमा भिरङ्गी र फिरङ्गीहरुले नेपालीत्व कलमी गरेर विदेशीकरण गरिरहेकै छन् । राष्ट्रियताका ठेकेदारहरुले विदेशी दलाली गरेको दृश्यले नरमाइलो लागेर के गर्ने ? राजधानी र बााकी नेपाली क्षेत्रमा भारतले माइक्रो मेनेजमेन्ट हातमा लिएर नाङ्गो नाच देखाइरहे पनि कोही बोल्दैनन् । स्वनामधन्य नागरिक समाज, देशभक्त जमात, बुद्धिजीवीहरु लोकतन्त्रको आनन्द त लिइरहेका छन्, त्यो आनन्दमा पूर्ण स्वाधीनता र स्वाभिमानको सुगन्ध छ कि छैन ? तिनले किन तालुमा जिब्रो टाँसिरहेका होलान् ?
राजनीतिमा नेपालीपन खुइलिदै गएको छ । पहाड र हिमालतिर विदेशी प्रभाव बढी देखिन्छ भने मधेसमा त तिरङ्गाको रंगीचंगी चम्कदै छ । यतिमात्र होइन, हाम्रो सिंहदरवार मधेसी दलहरुलाई सम्झाइदिनु पर्‍यो भनेर छिमेकीलाई गुहार्छ, मधेसी दलहरु छिमेकीको दूतावासमा गएर के गरौं ? भनेर रणनीति तय गर्न लाजै मान्दैनन् । विदेशी छापाहरुमा नेपालमा राजदूत भइसकेका व्यक्तिहरु मधेसी दलहरुले चुनावमा भाग लिनुपर्छ, नलिए घाटा हुनेछ भनेर सुझाव दिइरहेका छन् । सुझाव लिने मधेसी दलहरु विदेशी राजदूतसाग गुप्तगु गरेर आन्दोलन गर्ने, आन्दोलनका नाममा फेरि चुनाव सार्ने, आफ्ना नियम कानुन विपरितका अतिशयोक्ति मागहरु पूरा गराउन खिटिम खेलिरहेका छन् । सरकार कतिसम्म कमजोर छ भने एक घण्टामा निर्वाचन कानुन संशोधन गर्न तैयार हुन्छ, मधेसी चुनावमा आउछन् भने ३ पल्ट सारेको चुनावको तिथि अझै सार्न सकिन्छ भनेर छलफलमा जुट्छ । २० वर्ष पछि हुनलागेको स्थानीय तहको चुनाव २० पल्ट सारेर गर्ने ? आगामी माघ ७ भित्र बाँकी स्थानीय तहको दोश्रो चरण, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्ने संवैधानिक बाध्यता छ । सुनिदैछ, नभ्याए संसद बोलाउने र संसदलाई महिनौं तन्काएर संविधानअनुसार गर्ने । त्यतिले पनि नसके संविधान नै संशोधन गरेर म्याद बढाउन ठूला दलहरु भित्रभित्रै तैयार भइसकेका छन् ।

अर्थात, शान्ति, स्थिरता र सहजता तत्काल आउनेवाला छैन । नेपालको एकीकरणकालदेखिको अस्थिरता अर्को कुनै कालखण्डसम्म कायम रहने निश्चित छ । यो निरन्तरतालाई सर्प, भ्यागुतो र बिच्छीको जीवनचक्रझैं राष्ट्रिय राजनीतिलाई खेल बनाएका राजनीतिक दलहरुले सुनिश्चितता दिएका छन् । यसकारण त लोकतान्त्रिक राजनीति अपराधिकरण र अनियमितताको स्वर्ग बन्न पुगेको हो । के भएन यी वर्षहरुमा ? शासन प्रशासनमा प्वाल पर्‍यो, जसले भ्रष्टाचारलाई महामारी नै बनायो । अदालत, सुरक्षा निकाय, संवैधानिक अंगहरुमा समेत दलहरुले भागबण्डा चलाए । आलोपालो शासनको रोलक्रम बसाले । मानौं यो लोकतन्त्र होइन, जंगबहादुरको उदय हो र उसले १७ भाइको रोलक्रम बसालेझैं, हाम्रा नेताहरुले पनि रोलक्रम बसाले । धर्मपरिवर्तन बढ्यो, बिखण्डनको झ्याली पिटियो । नेपाल विदेशीको योजनावद्ध षडयन्त्रको थलो बनिसकेको छ । नेपालीकरणको आवरणमा विदेशीकरणको डरलाग्दा घटनाहरु सार्वजनिक हुनथालेका छन् । यिनै कारणहरुले गर्दा दिगो शान्ति, राजनीतिक स्थिरता र नेपालीको सहज जीवनशैली दिनदिनै भताभुङ्ग लथालिङ्ग हुँदै गएका छन् । अस्तव्यस्त यो अवस्थालाई समेट्ने, सँगेल्ने र सम्याउने नैतिक जिम्मेवारी कुनै दलले लिएका छैनन् । राजनीतिक नेताहरु यतिसम्म गैरजिम्मेवार हुनसक्दा रहेछन् । मानौं, दलहरु सत्ताका ठेकेदार हुन् । देश बेवारिसे हो । योभन्दा अनैतिक र बेइमान राजनीति कुनै देशमा देख्न सकिन्न । तैपनि हामी नेपालमा लोकतान्त्रिक गणतन्त्र छ भन्छौं । के हामी आधुनिक सभ्यताको यो खुलापनमा आइपुगिसके पछि पनि यसैगरी निरन्तर अन्धकारमा बसिरहन सक्छौं ? हामीले आफ्नोपन, आफ्नोमन, आफ्नो देशमा शान्ति, स्थिरता र सहजताका साथ बाँच्न नपाउने ? बाँच्न नखोज्ने ? नेतृत्व निरंकूश हुन चाह्यो भन्दैमा हामी तिनको करिया बनेर कसिरहने ? यो समयले उठाएको प्रश्न हो । र, अव नेताको भर गरेर होइन, जनता आफैले नागरिकको जिम्मेवारी निर्वाह गरेर यो देशको शान्ति, सुरक्षा र स्थिरताको ग्यारेण्टी गर्नुपर्ने भयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031