शुक्रबार, चैत्र १६, २०८०

बन्द हड्ताल नगर्ने प्रतिबद्धता

-मोहन पौड्याल

 बालबालिकाले बन्द हडताल मुक्त नगर घोषणा गर्ने माग गरेपछि स्थानीय राजनीतिक दलहरूले सुनवल नगरपालिका भित्र बन्द हडतालको आयोजना नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बालभेलाले उठाएको सवालहरूको सुनुवाई गर्ने क्रममा सुनवलका राजनीतिक दलहरूबाट यस्तो प्रतिबद्धता आएको हो ।
नेपाली काँग्रेसका प्रतिनिधि गोविन्द ढकालले आफ्नो दलका तर्फबाट कुनै पनि बन्द हड्ताल नगर्ने बताए । ढकालको प्रतिबद्धतालाई सममर्थन गर्दै नेकपा एमालेका Captureप्रतिनिधि दुर्गा सुबेदी, माओवादी केन्द्रका प्रतिनिधि विमल ढकाल, मधेशी जनाधिकार फोरमका प्रतिनिसध मधुसुदन ठाकुर, तमलोपाका प्रतिनिधि पर्मानन्द गुप्ता, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि जीत बहादुर पौडेल, राप्रपाका प्रतिनिधि सुवर्ण गुप्तालगायतले बालबालिकाको आवाज र बिचारलाई कदर गर्दे सुनवललाई बन्द हड्ताल मुक्त नगरपालिका बनाउनमा आफूहरूको सहयोग रहने बताएका थिए ।
देशकै पहिलो बालमैत्री नगरपालिका सुनवलको बालभेलाले बिभिन्न समयमा हुने बन्द हड्तालले बाल अधिकार हनन् भएको भन्दै गहिरो चासो व्यक्त गरेको थियो । सुनवल नगरपालिका र मीरेष्ट नेपालको आयोजनामा बाल भेला लगत्तै बाल भेलाले उठान गरेको सवालका सन्दर्भमा सरोकारवालसँग परिचयात्मक कार्यक्रम गरेको थियो । सो कार्यक्रमको दौरानमा राजनीतिक दलका तर्फबाट यस्तो प्रतिबद्धता आएको हो ।
‘बन्द हड्तालबाट सुनवलका मात्र नभएर पुरै मुलुक आक्रन्त छ, राजनीतिक दलहरू राजनीतिक स्वार्थका लागि पटक पटक बन्द हड्ताल गर्छन् यसले बालबालिकाको बाल अधिकार गम्भीर रुपमा उल्लंघन भएको छ ।’ नवलपरासी जिल्लास्तरीय बाल सञ्जालकी अध्यक्ष बिपना शर्माले बताइन् ‘बन्द हड्तालले बालबालिकाको पढन् पाउने अधिकार हनन् भएको छ । शिक्षा, स्वास्थ्यको पहुँचमा पनि असर परेको छ ।’
नेपालकै पहिलो बालमैत्री नगर सुनवल अवलोकन गर्नकै लागि देशभरीबाट मानिसहरू आउँछन् । यो क्रम जारी छ । तर बन्द हडतालका कारण सार्वजनिक यातायात सन्चालन नहुँदा सुनवलको राम्रो सन्देश प्रबाह हुन नसकेको उनको भनाई थियो । यसैमा थपिन् ‘राजनीतिक दलले आफ्नो एजेन्डा राख्ने माध्यम कमसेकम बन्द हड्ताललाई नगरिदिए हुने थियो ।’ राज्यलाई दवाव दिने अरु उपाय खोज्न पनि उनले सल्लाह दिइन् ।
मानअधिकारकर्मी बीर बिश्वकर्माले पनि बन्द हड्तालका कारण बालअधिकार हनन् भएको टिप्पणी गरे । संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धी, १९८९ को नेपाल पक्ष राष्ट्र भएको प्रसंग उप्काउँदै उनले थपे ‘बन्द हड्तालले बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, बाल विकासको अधिकार र सहभागिताको अधिकार कुण्ठीत भएको छ ।‘ बाल अधिकार महासन्धीमा नेपालले सन् १९९० मा हस्ताक्षर गरेको छ भने बाल अधिकारप्रति राष्ट्रिय सहमति जुटेको सन्दर्भ उल्लेख गर्दै उनले बाल अधिकारको सम्मान गर्न बालमैत्री नगरका सबै एकजुट हुनु पर्ने बताए ।
अर्का अधिकारकर्मी समेत रहनु भएका सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष हुमनाथ पोखरेलले बालमैत्री नगर सुनवलको साखलाई कयम राख्न बन्द हड्ताललाई निषेध गर्नेतर्फ लाग्नु पर्ने बताए । उनी भन्दै थिए– ‘बालमैत्री स्थानीय शासन घोषणा गर्न समाजका सबै पक्षले मेहनत गरेका छन् । राजनीतिक दलको साथ सहयोगबाट मात्र कुनै पनि स्थानीय तह बालमैत्री हुन सक्ने हाम्रो अनुभव छ । अब त्यो इज्जत र प्रतिष्ठालाई बचाइराख्न पनि राजनीतिक दलको उदाहरणीय कदम आवश्यक परेको हो ।’
राजनीतिक दलहरूले नीति निर्माण गर्छन् । देशको नेतृत्व गर्छन् । बालमैत्री नगर सुनवलका बालबालिकाको आवाज र बिचारलाई ध्यानमा राखेर आफ्नो भूमिका अगाडि बढाउने विश्वास सुनवल नगरपालिकाका बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति रेशम शर्माले बताए । उनले भने – ‘नगरपालिकाले बालबालिकाको आवाजलाई जस्ताको तस्तै आफ्नो योजना तथा कार्यक्रममा सम्बोधन गरेको छ । अब अन्य सरोकारवालाहरूले पनि बालबालिकाको आवाजलाई सम्बोधन गर्ने बिश्वास गर्दछु ।’
गत पुषको दोस्रो साता सुनवल नगरपालिकाको नगरस्तरीय बाल भेला सम्पन्न भएको थियो । बालमैत्री स्थानीय शासन अवलम्बन गरेको बर्षबाट नै बालबालिकाको आवाज र बिचारलाई संस्थागत गर्न बाल भेला आयोजना गर्ने प्रचलन सुनवलमा कायम छ । बाल भेलामा बालबालिकाले चित्रमार्फत् मन पर्ने र मन नपर्ने कुराहरू, सुरक्षित र असुरक्षित रहेको बिषय र नगरपालिकाको परिकल्पना प्रस्तुत गरेपछि त्यसका आधारमा समस्या तथा सवाल पहिचान गर्ने विधि प्रयोगमा आएको छ । युनिसेफ नेपालसँग आबद्ध बालमैत्री स्थानीय शासनकी परामर्शदाता शर्मिला पौडेलकाअनुसार सुनवलको बाल भेलाले राजनीतिक दलले आयोजना गर्ने बन्द हड्तालबाट आफूहरू पीडित रहेको बताएका थिए । ८ देखि १३ बर्षका बालक र बालिका एक समूह, १३ देखि १८ सम्मका बालक र बालिकाको बेग्ला बेग्लै समूह बनाएर चित्रांकनमार्फत बाल आवाज संकलनको यो बिधिका क्रममा तीनै समूहले बन्द हड्ताल नरोकेसम्म बाल अधिकार संरक्षण नहुने बिचार राखेका थिए ।
‘बन्द हड्तालले पढाई चौपट्टै भएको आवाज आयो ।’ बालमैत्री स्थानीय शासनकी परामर्शदाता पौडेलले भनिन्– ‘बालबालिकाले उठाएको यो आवाजको सम्बोधनका लागि राजनीतिक दलको ध्यानाकर्षण गरेका छौ ।’
सुनवल नगरपालिकाकी सहजकर्ता सुम्निमा पन्थीले पनि बाल भेलाको निर्णय सरोकारवालाकाका लागि महत्वपूर्ण भएको हुँदा यसको कार्यान्वयन हुनुपर्ने बताईन् । ‘हामीले नगर तहमा सक्ने जति सबै सम्बोधन गरिसकेका छौ । बन्द हड्ताल रोक्ने काम राजनीतिक दलको हो’ उनले थपिन् ।

—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला