बिहिबार, बैशाख १३, २०८१

लोकतन्त्र वैध : सञ्चालन अवैध

हाम्रा नेताहरुले बैध माध्यमबाट लोकतन्त्रलाई अवैध तरिकाले सञ्चालनमात्र गरेका छैनन्,
राष्ट्रमा विदेशीले चलखेल गर्ने उचित वातावरणसमेत बनाइदिएका छन् ।

pen-copy-gift-150x15022– राजन कार्की
बैध लोकतन्त्र विधिसम्मत रुपमा चल्नुपर्ने हो, अवैध बनाउने हामी नै हौं । हामी अर्थात हाम्रा नेता, पत्रकारिता, समाजशास्त्र, वकालत, शिक्षणलगायतका नागरिक समाजका अभियान्त्रिक तत्वहरु हुन् । यी तत्वहरुको जोडनमा विश्वासिलो पद्धति निर्माण हुने हो, सुसंस्कृत समाजको विकास हुने हो । यी तत्वहरु असफल भएका छन्, यही असफलताले राष्ट्र असफलताको किनारमा पुगेको हो ।  जुन जनशक्ति वाच डग हुनुपथ्र्यो, त्यो जनशक्ति विदेशीने क्रममा छ, जो देशमा छन् ती सबै राजनीतिक मोर्चाका सिपाही भूमिका निर्वाह गरिरहेका छन् । विदेशीएको होनहार जनशक्ति विदेशबाट उपदेश बगारिएको देखिन्छ, स्वदेशमा रहेका जनशक्ति पार्टी राजनीतिको अनुशरणकर्ता भएको छ । स्वस्थ आलोचना गर्ने र बिग्रे भत्केकोमा सावधान गराउने कोही देखिदैनन्, यहीकारण लोकतन्त्रका नाममा स्वच्छन्दता र मनलागीतन्त्र बढेको र विश्व मानचित्रमा नेपाल राष्ट्रको मूल्य र मान्यता प्रत्येक दिन खस्कदै गएको छ । चिन्ता गर्ने कसले ?
पहाडका युवाहरु भाडाका सैनिक, खाडीका कुल्ली, सम्पन्न मुलुकका कप–तान, युवतीहरु मुम्बईदेखि खाडी हुँदै युरोप, अमेरिका, अफ्रिकन महादेशसम्म पुगेर यौन बेचिरहेका छन्, जवानी लुटाउन बाध्य छन्, दक्ष जनशक्ति विदेशमा बसाइँ सर्न होडबाजी गर्ने देश हो नेपाल । १ सय ८ देशमा वैदेशिक रोजगारी खोल्न सरकार तैयार छ, स्वदेशमा रोजगारी सिर्जना गरेर अविकसित सराप मोचन गरेर बिकासिशील बरदान बन्न तैयार छैन लोकतन्त्र । अर्थात लोकतान्त्रिक राज्य सञ्जालहरुमा रहेका शासक, योजनाकारहरु ।
मान्छेको निर्यात अर्थात लोक बेचेर लोकलज्जा गुमाइरहेका, निर्लज्ज र बेइजतिपूर्ण नियतिको भारी बोकेर पनि लोकनेताहरु अर्काे देशमा गएर रेडकार्पेटमा टेकेर मुख देखाउन अप्ठेरो मान्दैनन् । मान्नुपथ्र्यो, लाजशरमले शीर झुक्नुपथ्र्यो, आत्मा पानी पानी हुनुपथ्र्यो, हुँदैन, भएको छैन । वीरहरुले निर्माण गरेको नेपालमा यस्ता फायर गर्नुपर्ने कायरहरु नयाँ नेपाल निर्माण गर्छु भनेर गुड्डी हाँक्छन् । पत्याउने हामी जनता पनि उस्तै ।  नेपालमा राजतन्त्र ढल्यो, हिन्दुधर्म धर्मनिरपेक्षता हुनपुग्यो, गणतान्त्रिक संविधान जारी भयो, लोकतान्त्रिक पद्धतिका गरिमा र महिमाका धरहरा उभ्याउन सकिएन । लोकतन्त्र चलाउन विधि चाहिन्थ्यो, लिदी भरिएको दिमाग भएका विधिबेत्ताहरु छन् । लोकतन्त्र चलाउन नीति र नैतिकता चाहिन्थ्यो, अनैतिक र स्वार्थको अभिष्ठ बोकेको कालो मनस्थिति बोकेका नेताहरु छन् । यहीकारण राजनीति व्यापार बन्यो र व्यापारी नेता च्याउ उम्रिएजसरी उम्रिए, मारवाडी टोल बनेको हाटबजारबाट राजनेता जन्मिने सवालै भएन । हिलोमा कमल उम्रन्छ, त्यो प्राकृतिक चमत्कार हो । राजनीतिक दलदलमा नेता, नैतिकता, विधि र व्यवस्था भासिनु हाम्रो थाप्लोमा बज्रिएको नयाँ सराप हो ।
लोकतन्त्र आयो भनेको भाँडतन्त्र आएछ । घरभाँडाहरु समाज र देश भाँडा बनेका छन् । जसले खबरदारी गर्नुपथ्र्यो, ती व्यक्ति, समाज र संस्थाहरु भाँडतन्त्रका बलिया खम्बा बनेर सघाइरहेका छन् । भाँडतन्त्रका भाँडहरुले शासन, प्रशासन, नागरिक, समाजमाथि यसैगरी लोकतन्त्र र विधिसम्मत शासनका आवरणमा जति पनि निरंकँशता लादिनरहने छुट पाइरहनुपर्ने हो ? होइन भने, सर्वोच्चको न्यायाधीश, उच्च अदालतका न्यायाधीश नियुक्ती किन राजनीतिक भागबण्डामा भयो ? अख्तियारदेखि निर्वाचन आयोगका आयुक्तहरु पनि राजनीतिक भागबण्डामै नियुक्त भएका हुन् । गभर्नरमात्र होइन, डेपुटी गभर्नर पार्टीका सिफारिसमा नियुक्त गरिए । भर्खरै भन्सार विभाग र राजस्व अनुसन्धान विभागको डाइरेक्टरसमेत माओवादी र कांग्रेसले भागबण्डा गरेर आफ्ना मान्छे नियुक्त गरे । पछिल्लोपटक नेपाल प्रहरी र सशस्त्र प्रहरीको आइजीपी पदसमेत राजनीतिक भागबण्डामा पर्‍यो । यसपछि डरलाग्दो अर्को घटना घट्यो– १४ राजदूतको सिफारिस गर्ने सरकारले कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ४, राप्रपालाई ३ र मजफो लोकतान्त्रिकलाई १ जना नेता–कार्यकर्तालाई नियुक्ति गर्‍यो । यस नियुक्तीभित्र राजदख्तपद विक्री गरेको दुर्गन्ध राजनीतिक बृत्तमा नराम्ररी फैलिएको छ । हुन त समानुपातिक सांसद ठूला दलहरुले ७ करोडसम्ममा विक्री गरेको गन्ध अहिलेसम्म गनाइरहेको छ । साना दलहरुले त सम्धि, श्रीमती, साली, गर्लफ्रेण्डसम्मलाई समेत विधिनिर्माता लोकतान्त्रिक भाग्यविधाता सांसद नै बनाइदिए ।
१९९७ मा राणशासनले ४ सहिद बनायो, त्यसपछि नागरिकलाई सहिद बनाउने क्रम चलिरहेको छ । जनयुद्धमा १७ हजार नागरिक मारिएका हुन् भने मधेस आन्दोलनमा पनि नागरिक नै मारिए । मार्न र शासन गर्न जान्ने वर्तमान नेतृत्वदायी पार्टी नेताहरु अव देशलाई सहिद बनाउने ठूलै उद्यम गर्न लागिपरेका छनक मनक देखिदैछ । त्यसैको रिहर्सल हो– लोकतान्त्रिक नामधारी प्रधानमन्त्रीले भारतका नीतिमा चल्छु, अन्तर्राष्ट्रिय मामिलामा एकै मत बनाएर अघि बढ्छु भन्नु र अहिले आएर एयरपोर्टमा भारतीय जहाजसँगै सुरक्षामा आएका भारतीय सैनिकलाई राजधानी बास बस्ने छुट दिन तैयार हुनु । यसैलाई भनिन्छ– लोकतान्त्रिक स्वाधीनता ? यथार्थमा देश सिध्याउने डाइनामाइट ओछ्याउन लोकनेताहरु तैयार भएको दृश्य हो यो । लेण्डुप दोर्जीले सिक्किम सिध्याएबापत भारतरत्न पाएको भए, हाम्रा नेताहरुले पनि पाउने थिए होलान् । हाम्रा नेताहरुले बैध माध्यमबाट लोकतन्त्रलाई अवैध तरिकाले सञ्चालनमात्र गरेका छैनन्, राष्ट्रमा विदेशीले चलखेल गर्ने उचित वातावरणसमेत बनाइदिएका छन् ।
कसैलाई जान्ने जाँगर छ भने गणेशबहादुर प्रसाइको ‘त्यो धनकुटा’ रत्न पुस्तक भण्डारमा पाइन्छ, गएर पढे हुन्छ । त्यो पुस्तकमा कमारोको दुर्गति र तिनका सन्तानको नियति छर्लङ्ग उतारिएको छ । त्यो कालपत्र र यो कालखण्डमा फरक पाउन सकिन्न । हाम्रा पुर्षा जंगली बाँदरबाट बनमान्छे हुँदै आधुनिक भएका हुन् । वर्तमान नेपाल आधुनिक युगबाट बनमान्छेतिर उन्मुख छन् र बाँदरे चरित्र देखाउन थालिसके । मुखले लोकतन्त्र भनेर के गर्ने ? व्यवहार र चरित्र बाँदरको जस्तो भइसक्यो । बाँदरतन्त्र र लोकतन्त्र एउटै होइन, यो यथार्थ तस्वीर देखाइदिने नागरिक समाज आज कुम्भकर्णे निन्द्रामा मस्त घुरिरहेको छ । शासन, प्रशासन र समाजमा निर्दयता, पाशविकता, जंगलीपना र संवेदनहीनता वर्षाको बाढी पसेजसरी पसिक्यो । यो सुनामीबाट कसरी बच्ने र लोकतन्त्रलाई सकुसल पार्ने, यसतिर गम्भीर ध्यान र चिन्तन मनन आजको खाँचो हो । खाँचो भएर के गर्ने ? माग छ, आप्ूर्ति छैन । कसरी हुन्छ खाँचो पूर्ति ? बुझेका छन्, आँखा चिम्लेर दलीय लम्पट भइदिएपछि गर्ने के ?
बेलायतमा संविधान छैन तर परम्परागत नैतिक आचरण छ र नेतृत्व तह लोकलज्जासँग डराउँछन् । नेपालमा लोकतान्त्रिक संविधान छ, लोकलज्जा र नैतिक आचरण छैन । त्यसैले हाम्रा नेताहरु कसैको डरभर मान्दैनन् । आन्दोलन, विद्रोह, क्रान्तिको मौजा बनिसक्यो देश । यो मौजाका जमिन्दार हुन् हाम्रा ठूला नेता ठूला मालिक, साना नेता साना मालिक । यी मौजावाला मालिकले परिवर्तनको आर्जनलाई नकारात्मक तरिकाले चलाउँदा बैध लोकतन्त्र अवैध हुँदै गएको छ ।
राणाले १०४ वर्ष खुकुरीले आर्जन गरेको भनेर निरंकूशता चलाए, राजतन्त्रले बाध्यात्मक कू गरेर पञ्चायत चलाए, कांग्रेस–एमालेले आर्जन गरेकै हो भनेर बहुदलीय शासनलाई कूशासनमा परिणत गरिदिए । बहुदल गयो, लोकतन्त्र आयो, तिनै अनुहार, उस्तै चरित्र, अवैध बाटोबाट आएको लोकतन्त्रले लोकमत र लोकबलबाट बैधता पाएकै हो, त्यो बैध लोकतन्त्��लाई आफ्नो बाली सम्झेर कटान गर्दा लोकतन्त्रको अंगप्रत्यङ्ग काटिइसक्यो, अव टाउको काटिन मात्र बाँकी छ । लोकतन्त्र त भागबण्डातन्त्र, सिण्डिकेटतन्त्र पो हुनपुग्यो । यो दृश्य लोकतन्त्रको नङ्गानाच नभए के हो ? संसदीय सर्वोच्चताको यस्तो कुरुप  दृश्य ? सविधानका कुन धारा, उपधाराले, कुन जनमत, जनबलले यो सुविधा, यस्तो पञ्जापत्र दिएको छ नेताहरुलाई र उनीहरुले विधिका नाममा भागबण्डाका आधारमा शासन सत्ता चलाइरहेका हुन् ?  जनवाद, बहुलवाद, साम्यवाद, समाजवादको सिद्धान्त र अहिले लोकतन्त्रमा जे भइरहेको छ, कहाँनेर मेल खान्छ ? नेताहरुको कमजोरी अव भयानक राजनीतिक प्रदँषण बनिसकेको स्थिति छ । स्थानीय तहको निर्वाचनको मिति त घोषणा भयो, संसदीय शक्ति भाग लिन्न भनिरहेछ । संसद बाहिरका शक्ति समानान्तर होइन, बैकल्पिक सरकार चलाइन्छ भनेर रोल्पाबाट बाघ हुंकार गर्न थालिसके । मधेसतिर मधेस देशका अराष्ट्रिय आवाज गुञ्जिन थालेका छन् । लोकतन्त्रलाई लोकपद्धति बनाउन कस्सिएका दलपतिहरु सीप, जाँगर, इमान र नैतिकताजति स्वार्थसिद्धिमा रुपान्तरण गरेर ‘राजा फालियो’ भन्दै बादशाह बनिरहेका छन् ।  वाम मार्गको कतै कतैको अपवादबाहेक मानिसको मासु मानिसले खान मनाही गरिएको छ । तर नेपालमा नेताहरु नेपालीको रगत पिउने स्वार्थ शास्त्र आविस्कार गरेर अभ्यस्त भइरहेका छन् । भनिन्छ, तासमा मात्रै बाँकी छ बादशाह । नेपालको लोकतन्त्रमा थरिथरिका बादशाहको जन्म भइसकेको छ, भइरहेछ । कसैले समाजशास्त्रीहरुलाई कुहेको फर्सी भनेको सुनेको थिएँ, दलका झोले बनेकाहरुबाट अपेक्षा नगरौं । सौभाग्यलाई दुर्भाग्य बनाउने यी बादशाहको नसच्छेदन गरेर संस्कार र साइजमा ल्याउने जनताले हो, जनता हस्तक्षेपका लागि कहिले तैयार होलान् ? जबसम्म जनता लोकतन्त्रका हकाधिकार लिन तैयार हुनेछैनन्, साँढेहरु उफ्रिरहनेछन् ।