बिहिबार, चैत्र १५, २०८०

बालुवाटारमा गच्छदारले भने- तपाईंहरु साह्रै बैगुनी

काठमाडौं फागुन १९ ,  सत्तारोहणको सात महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सम्झेको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले उनी, कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘बैगुनी’ को संज्ञा दिए । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता घटक माओवादी केन्द्र, कांग्रेस, राप्रपा सहित मधेसी मोर्चा र फोरम लोकतान्त्रिकको संयुक्त बैठकमा गच्छदारले यस्तो भन्दा अरु नेताहरु मुसुमुसु हाँसेका थिए । गच्छदारकै शैलीमा Baluwatar-PM-Nibasराप्रपा अध्यक्ष कमल थापाले पनि सरकार बनाउने बेला र संविधान संशोधन हाल्ने बेला आफूहरुलाई मतलब नगरेको भन्दै ‘मौकामा’ आलोचना गर्न भ्याए ।

अपराह्न चार बजे बैठक थाल्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन पारित गर्न दुई तिहाईको कसरत सफल नहुने संकेत देखेकाले अब चुनावमार्फत् राजनीतिक एजेन्डा स्थापित गर्नुपर्ने प्रस्ताव असन्तुष्ट मधेसी दलसग राखेका थिए । उनले राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि संशोधन पारित गर्न अझै एक पल्ट मेहनत गरिहेर्न आग्रह गरेको रामसपा महासचिव केशव झालाइ उदृत आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित रहेको छ ।

‘अहिले विधेयक पारित गर्न हाम्रो सबै जोड लगाए पनि नसकिने भयो, त्यसैले अहिलेलाई स्थानीय तहको संख्या मधेसमा थपेर जाऔं,’ दाहालले बैठकमा भने, ‘बरु स्थानीय तहको अधिकार किटानी गर्नेबारे फेरि पुनरावलोकन गर्न सजिलो होस भन्नाका लागि राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट गाउँपालिका र नगरपालिकाको मतअधिकार कटौती गर्नेसम्म हुन सक्छ । अब चुनावमा जाऔं । नरोकिऔं ।’

बैठक अवधिभरि खासै नबोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले दाहालको भनाईलाई समर्थन जनाएका थिए । उनीपछि बोलेका राप्रपा अध्यक्ष कमल थापाले स्थानीय चुनाव आवश्यक भए पनि मधेसी दललाई बहिष्कृत गर्नु उचित नहुने दोहोरो कुरा राखेका थिए । उनले स्थानीय चुनावका लागि प्राविधिक तयारी पुरा गरेर मात्रै नहुने, राजनीतिक तयारी गर्नुपर्ने मत राखेका थिए ।  ‘चुनाव आवश्यक भए पनि मधेसी दललाई बाहिर राखेर जाँदा गलत नजिर बस्न सक्छ, बरु अहिल्यै कसरी मिल्न सकिन्छ भन्नेमा सहमति खोजौं,’ थापाले भने, ‘तपाईंहरुले सरकार बनाउने बेला चाहि यस्ता विषयमा मतलब गर्नुभएन । अहिले यथास्थितिमा यस्तो प्रक्रियाबाट अघि बढ्न हामीले कसरी सहयोग गर्ने? ’

थापाले विधेयकमा समेटिएका सीमांकनबाहेक बाकी तीन प्रस्ताव पास गरे राप्रपालाई मान्य हुने मत राखे । उनले अघिल्लो केपी ओली सरकारका बेला आफ्नो नेतृत्वमा सीमांकन लगायत विषयमा राजनीतिक सहमति खोज्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रलाई फेरि ब्युताए जिम्मेवारी लिन तयार रहेको मनसाय पनि खुलेरै राखे ।   त्यसपछि बोल्ने पालो आयो, गच्छदारको । उनले आफूलाई किन यतिन्जेलसम्म महत्वपूर्ण राजनीतिक निर्णयमा अछुतो बनाइयो भनी दाहाल, देउवालाई सोधे ।

‘मलाई त अछुतो नै बनाउनुभयो । सात महिनामा पहिलोपल्ट यो देशमा फोरम लोकतान्त्रिक पनि रहेछ भन्ने अनुभूति हुनेगरी खबर पठाउनुभयो,’ महासचिव रामजनम चौधरीसहित बालुवाटार पुगेका गच्छदारले व्यंग्य गरे, ‘हामीले प्रधानमन्त्री चुनावमा तपाईंहरुलाई भोट हाल्यौं । संसदमा बस्दा पनि सरकारकै लाइनमा बसेका छौं । तर तपाईहरु वैगुनी हुनुहुँदो रहेछ, यत्रो संशोधन प्रस्ताव ल्याउँदा मलाई एक वचन पनि सोध्नुभएन । अब पत्रिका पढेको आधारमा मैले धारणा दिन सक्ने कुरो आएन ।’  अघिल्लो प्रधानमन्त्री चुनावमा अरु मधेसवादी दलले सुशील कोइरालाको पक्षमा भोट हाले पनि आफू केपीओलीलाई सघाउन गएका गच्छदार ओली सरकार ढलेपछि भने दाहालको पक्षमा भोट हालेका थिए । उनको नित्य नियमित सत्तारोहणको बाधक बन्न आइपुगेका थिए, देउवा । गच्छदारले देउवातिर पनि लक्षित गर्दै बोले । अनि आठ प्रदेशको सीमांकन सहित संशोधन हुने भए सघाउन तयार रहेको, नत्र विधेयकको पक्षमा जान नसक्ने अडान सुनाए ।