मङ्लबार, बैशाख ४, २०८१

चितवनमा गोरक्षा महायज्ञ हुने

चितवन माघ २२ , देशभरीका स्थानीय जातिका गाईहरुको संरक्षण गर्न गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले चितवनमा विराट् गोरक्षा महायज्ञ हुने भएको छ । आगामी फागुण ३ देखि १३ गते महाशिवरात्रिको दिनसम्म सो महायज्ञ नारायणीतीर नारायणगढमा हुने आयोजकले बताएका छन् । विश्व हिन्दु महासंघको भातृसंस्था About Go mahayagya.हिन्दु ॐकार भोलन्टियर्सको आयोजनामा सो महायज्ञ हुन लागेको बताइएको छ । स्थानीय जातका गोवंशको संरक्षण जरुरी रहेको कुरामा सबैपक्ष सहमत देखिएका छन् । सो यज्ञमा राजनीतिक दल, सामाजिक संघसंस्थाहरुको साथ सहयोग र सहभागिता रहने बुझिएको छ ।

यसै सन्दर्भमा महायज्ञ कार्य सम्पादन समितिले शनिवार जिल्ला विकास समिति चितवनको सभाकक्षमा सर्वदलीय बैठक सम्पन्न गरेको छ । सो बैठकमा पार्टीका जिल्ला स्तरीय पदाधिकारी एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जसमा नेपाली काँग्रेसका सहसचिव सूर्य अर्याल, ने.क.पा. माओवादी केन्द्रका दण्डपाणी पौडेल, राप्रपाका अध्यक्ष बद्रि तिमिल्सिना, नयाँ शक्ति पार्टीका विष्णुहरि तिमिल्सिना, ने.क.पा. क्रान्तिकारी माओवादीका दिपेन्द्र लामिछाने लगायत हुनुहुन्थ्यो । पार्टीका प्रतिनिधिहरुले महायज्ञ सम्पादनको लागि साथ सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट एवं जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरीउपरीक्षक दीपक थापा र विश्व हिन्दु महासंघका राष्ट्रिय सभापति निलप्रसाद भण्डारीको उपस्थिति थियो । बैठक विराट् गोरक्षा महायज्ञ कार्यसम्पादन समितिका कार्यवाहक संयोजक तथा समाज सेवी विनु रायमाझी पौडेलको अध्यक्षतामा भएको थियो ।