शुक्रबार, बैशाख १४, २०८१

सपनाहरु…

Capture g

सपनाहरु देख्न छोडेको,
महिना कटेर वर्ष लागेछ,
जिन्दगीले जीउन छोडेको,
तिमीले नयाँ जीवन उनेदेखि पो हो,
सपनाहरु देख्न छोडेको …………

मेरो हार भनुँ या तिम्रो जीत,
हारको भय हराउन थालेको छ,
एकान्त त छँदैछ प्राय,
कोलाहल पनि सुन्य लाग्न थालेको छ,
मायालुहरु भेट्न छोडेको,
महिना कटेर वर्ष लागेछ,
एक्लै बरबराउने बिरहि हराएको,
तिमीले नयाँ साथी रोजेदेखि पो हो,
सपनाहरु देख्न छोडेको …………

मेरो आँशु भनुँ या तिम्रो हाँसो,
तातो आँशुले पोल्न छोडेको छ,
समवेदना त छँदैछ बिझाउने,
शुभकामना पनि दुखाउन थालेको छ,
बिहानीमा घाम झुल्कीन छोडेको,
महिना कटेर वर्ष लागेछ,
हर दिन जिन्दगीको अन्तिम दिन थानेको,
तिमीले जिन्दगीको मोल तोकेदेखि पो हो,
सपनाहरु देख्न छोडेको …………

– गौतम डंगोल “सन्देश”